मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शनिबार

सिमोन द बोउवार, जसले महिला अस्तित्व र पहिचानको आवाज सधैँ बुलन्द पारिन्

काठमाडौँ– विश्वमा नारीवादी सिद्धान्त, नारी अस्तित्वको विस्तारमा फ्रान्सेली लेखक, नारीवादी, सामाजिक सिद्धान्तकार र अस्तित्ववादी दार्शनिक सिमोन द बोउवारको अहम् भूमिका छ । सिमोनलाई अलग गरिदिने हो भने नारीवादको सिद्धान्त र विचारहरु अपूरै रहन्छन् ।

विशेषतः नारीवादी आन्दोलनमा उनको नाम सधैं अग्रस्थानमा आउँछ ।

नारीवाद, नारीवादी आन्दोलन, यसबारे उनले प्रस्तुत गरेको विचारहरुले विश्वभर नारीवाद लहरको शुरुवात भयो । नारीवादकै सन्दर्भमा लेखिएको उनको पुस्तक ‘द सेकेन्ड सेक्स (१९४९)’लाई २० औं शताब्दीको नारीवाद विचारधारालाई निश्चित गति दिने महत्वपूर्ण आधारका रुपमा लिइन्छ ।

सिमोनको यही पुस्तकमा लेखिएको ‘महिला जन्मदैनन्, बरु समाजले महिला बनाउँछ’ भन्ने भनाइ अत्यन्तै शक्तिशाली र प्रसिद्ध समेत छ ।

उनका अनुसार महिलाहरु जन्मिँदा एक जना मानव भएर जन्म लिएपनि समाजको धर्म, परम्परा, संस्कृति र सामाजिक परिवेशकै कारण महिला हुनका लागि बाध्य गराउँछ । महिलालाई दोस्रो लिङ्गका रुपमा लिएर उनीहरु सदिऔंदेखि पुरुषद्वारा उत्पीडित छन् भन्ने तर्क उनले पुस्तकमा ल्याइन् ।

महिलालाई वस्तुका रुपमा लिइने समाजमा  महिला स्वतन्त्रताको खोजी हुनुपर्छ भन्ने उनको धारणा थियो ।

तत्कालीन विश्व परिवेशमा महिलालाई हेरिने दृष्टिकोण र महिलाको स्थितिले भावनात्मक रुपमा तरङ्गित भएकी उनी नास्तिक नै बनिन् । धर्मलाई उनी महिलाहरुमाथि शासन गर्नका लागि पुरुषहरुले बनाएको सत्ताको रुपमा लिन्थिन् ।

महिलामाथि हुने लैङ्गिक विभेद र असमानतालाई उनले लेखनमार्फत खुलेरै विरोध जनाइन् । यतिसम्म की उनले महिला पुरुष बराबरी हुन महिलाले पुरुषको जस्तै व्यवहार गर्नुपर्छ भन्ने दार्शनिक प्लेटोको धारणालाई खण्डन गरी ‘बराबरी र समानता एकै होइन’ भन्ने स्पष्ट मत राखिन् ।

सिमोनको भनाइमा महिला र पुरुषबीच जैविक रुपमा अन्तर छन् । यही अन्तरकै आधारमा लैङ्गिक विभेद हुन नहुने उनको तर्क थियो । लिङ्गकै आधारमा महिलाहरु कमजोर हु्न्छन् भन्ने सामाजिक मान्यतालाई उनले अस्विकार गरेकी थिइन् ।

शासन सत्ता वा अधिकारकै लागि महिलाहरुले पुरुषहरु हुन जरुरी नपर्ने धारणा राख्दै उनले महिला स्वअस्तित्व तथा अधिकारबारे वकालत गरिन् र त्यसलाई ‘द सेकेन्ड सेक्स’ जस्ता पुस्तकमा जीवन्त रुपमा उतारिन् । यस मार्फत उनले महिला स्वतन्त्रता र आत्मविश्वासलाई जगाउने काम गरिन् ।

उनले ‘द प्रिक्स गोंकोर्ट,’ ‘द मैन्डरिन’ जस्ता उपन्यासहरु समेत लेखिन् ।  

सिमोनको जन्म १९०८, जनवरी ९ मा फ्रान्सको राजधानी पेरिसमा जर्जस बट्र्रान्ड डे बोउवार र फ्रान्कोइस ब्रासेउरले बोउवारका सन्तानका रुपमा एक सम्पन्न परम्परागत क्याथोलिक परिवारमा भएको थियो । सिमोन बाल्यकालदेखि नै निकै जिज्ञासु थिइन् । उनले बाल्यकालदेखि नै परम्परागत मुल्यमान्यता र पुँजीवादी विचारधाराबारे चासो राखेकी थिइन् ।

उमेर बढ्दै गएपछि यसको विरुद्ध उनले विद्रोह गर्न शुरु गरिन् । बाल्यकालमा नै उनले आफू कहिल्यै गृहिणी वा आमा नबन्ने वाचा गरेकी थिइन् । उनले आफ्ना विचार र धारणाहरु साहित्य सिर्जनाहरु मार्फत अभिव्यक्त गर्दै गइन् । उनी बाल्यकालदेखि नै कथा तथा डायरीहरू लेख्ने गर्थिन् ।

केटीहरूको लागि खोलिएको निजी क्याथोलिक स्कूल ‘एडलिन डेसिर’बाट नै औपचारिक शिक्षा प्रारम्भ गरेकी उनी त्यतिबेला एलिजाबेथ माबिल जाजासँग नजिक भइन् ।

१९२९ मा जाजाको मृत्यु भएपछि सिमोन मानसिक रुपमा विक्षिप्त बनिन् । यही पीडालाई समेटेर उनले ‘इनसेप्रेबल’ उपन्यास नै लखिन् । शुरुवाती समयमा क्याथोलिक परम्परा र धर्मप्रति आस्था राखेपनि १४ वर्षकै उमेरमा उनले ईश्वरको अस्तित्वलाई अस्विकार गरेकी थिइन् ।

प्रथम विश्वयुद्धपछि परिवारले सामना गरेको दयनीय आर्थिक अवस्थाले उनी पनि प्रभावित बनिन् । त्यसपछि जीवन, दर्शन, सामाजिक परम्परा, विवाह र महिलाको अवस्थाबारे उनले अझै गहन रुपमा सोच्न थालिन् । जुन बेला परम्परागत समाजमा आर्थिक रुपमा महिलाहरु पुरुषमाथि नै भरपर्नुपर्ने अवस्था थियो ।

सत्र वर्षको उमेरमा नै उनले गणित र दर्शनमा स्नातक उत्तीर्ण गरिसकेकी थिइन् । १९२६ मा उनले इन्स्टिच्युट क्याथोलिक र इन्स्टिट्युट सेन्टमेरीमा फ्रान्सेली साहित्य र ल्याटिनमा स्नातकोत्तर गरेकी थिइन् । त्यसपछि उनी दर्शनशास्त्रको अध्ययनमा लागेकी थिइन् ।

यही क्रममा उनले फ्रान्सेली लेखक एवम् दार्शनिक जाँ पाल सात्र्रलाई भेटेकी थिइन् । त्यसपछि यी दुवै जना अध्ययन र विमर्शका लागि मित्र हुँदै प्रेमीप्रेमिकाको सम्बन्धमा रहे ।

यी दुवैजना एक अर्काका विचार र धारणाहरुमा सहकार्य गर्दै अगाडि बढे । यी दुवैजनाले समाजले मान्ने परम्परागत विवाहलाई अस्विकार गर्दै जीवनभर सँगै रहेपनि विवाह भने गरेनन् । यद्यपि सिमोनको जीवनकालमा महिला र पुरुषहरुसँग सम्बन्ध भयो ।

अमेरिकी लेखक नेल्सन एल्ग्रेनसँग उनको गहिरो प्रेम सम्बन्ध बसेको थियो । भनिन्छ, नेल्सनले सिमोनको प्रेममा सात्र्रकोभन्दा बढी स्थान ओगटेका थिए । तथापि सिमोन सात्र्रबिचको प्रेम सम्बन्ध कहिल्यै तोडिएन ।

दुवै जीवनभर बन्धनमै रहिरहे । तत्कालीन समयमा यी दुईबिचको खुला र स्वतन्त्र प्रेम सम्बन्ध परम्परा विरोधी थियो । तत्कालीन समाजले यस सम्बन्ध र उनीहरूको यौन सम्बन्धबारे विरोध गर्दै आलोचना गरेका थिए । सिमोनले सात्र्रसँगको उनको सम्बन्ध, निराशा, उनीहरुको प्रेम सम्झौता, सम्मानबारे खुलेर आफ्ना डायरीहरुमा लेखेकी थिइन् ।

१९३०को दशकमा सिमोनले आफ्नो अधिकांश समय दर्शनशास्त्रको अध्ययन र सिकाइमा नै बिताइन् । यस समयमा उनले आफ्नो युवावस्थाको तर्कवादी (स्वैच्छिक स्थिति) लाई त्यागिन् । त्यसपछि उनले सामाजिक सन्दर्भको ठोसता र नैतिकतालाई खोजी गरिन् ।

सन् १९४१ देखि १९४६ सम्ममा उनले उपन्यास ‘द ब्लड अफ अदर्स (१९४५) उनको पहिलो दार्शनिक निबन्ध ‘प्युरस एट सिनज (१९४४),’ ‘द एथिक्स अफ एम्बिग्युटी (१९४७) जस्ता उपन्यासहरु लेखिन् ।

त्यसपछिका दिनहरुमा उनको लेखन राजनीति विषयमा समेत केन्द्रीत भए । उनले फ्रान्सेली औपनिवेशिकता विरुद्ध राजनीतिक सक्रियतामा आफ्नो आवाज बुलन्द गरिन् । उनले आफूलाई सार्वजनिक रुपमै आफूलाई नारीवादी घोषणा गर्दै महिला स्वतन्त्रताका लागि विवाह र सन्तान जन्माउन नहुनेृ धारणा राखिन् । त्यतिबेला उनलाई तत्कालीन आलोचकहरुले महिला, मातृ र विवाह विरोधी भएको आरोप लगाएका थिए ।

उनले जीवनभर लेखनमा महिला, अस्तित्व र अधिकारहरुलाई खोज्ने काम गरिन् । उनको लेखनलाई केवल आख्यान मान नभएर दार्शनिक अनुसन्धानका रुपमा लिइन्छ । आफ्नो जीवनको उत्तराद्र्धमा पनि उनले बौद्धिक रुपमा नारीवादी प्रतिमाको रुपमा खडा रहिन् । 

उनको मृत्यु १९८६ अप्रिल १४ ७८ वर्षको उमेरमा भयो । उनको पार्थिव शरीरलाई पेरिसको मोण्टपार्नासेस्थित सात्र्रकै चिहानसँगै गाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?