मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

जुम्ला – जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गो आज फेरिएको छ ।

हरेक वर्ष घटस्थापनाका दिन लिङ्ग फेर्ने प्रचलन अनुसार यसवर्ष पनि लिङ्गो फेरिएको चन्दननाथ एवं भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए ।

मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । “चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ । भैरवनाथ मन्दिरको लिङ्गोमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने चलन छ”, थापाले भने । उनका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गोसहित ध्वजा राख्ने प्रचलन रहेको हो ।

मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलन रहेको अध्यक्ष थापाले बताए । मन्दिरमा जय स्तम्भसहित पाँचवटा लिङ्गो खडा गरिएको उनको भनाइ छ ।

घटस्थापनाको दिन उत्पादन वृद्धि होस्, भोकमरी नहोस् भन्ने कामनासहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने परम्परा रहेको यहाँको संस्कृतिका जानकार रमानन्द आर्चायले जानकारी दिए । एक दशक पहिलेसम्म लिङ्गो फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न वस्तु पठाउने चलन थियो । “जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घीउ, मह आउथ्यो । हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का आउथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी पठाइन्थ्यो”, उनले भने ।

अहिले उक्त परम्परा रोकिएको आर्चायले बताए । अहिले सुरक्षाकर्मीले सबै व्यवस्था गर्ने उनको भनाइ छ । कर्णाली प्रदेश सरकारले यही असोज १४ गते ‘कृष्ण त्रयोदशी’मा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने दिनका रुपमा जुम्लामा एकदिन सार्वजनिक बिदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?