काठमाडौँ – स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाको भिडन्त विश्व फुटबलमै परिचित रहेको छ ।
दुवै क्लबबीच प्रतिस्पर्धाका कारण क्लब मात्र होइन विश्वभर दुवै क्लबका फ्यानहरू पनि विभाजित रहेका छन् । यसैबीच दुवै क्लबका पूर्वखेलाडीहरू एक अर्का विरुद्ध भिड्ने भएका छन् ।
‘लिजेण्ड एल क्लासि’ को नाम दिइएको यो भिडन्त आगामी नोभेम्बर २८ मा कतारमा हुने भएको हो । कतारको दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा हुने यस खेलको टिकट बिक्री अक्टोबर १० देखि शुरु हुने बताइएको छ ।
रियल र बार्सिलोनाका लिजेण्ड खेलाडी एक आपसमा पहिलो पटक खेल्न लागेका भने होइनन् । यस अघि दुई पटक लिजेण्ड एल क्लासिको भैसकेको छ । पहिलो पटक २०१७ मा भएको खेल बार्सिलोना लिजेण्डले ३-२ ले जितेको थियो भने त्यसपछि २०२१ मा भएको खेलमा रियल म्याड्रिड ३-२ ले नै विजयी भएको थियो ।
अब कतारमा हुने यो खेल तेस्रो लिजेण्ड एल क्लासिको हुने भएको छ ।
आयोजकले यो खेल दुवै क्लबको इतिहास, खेलप्रतिको लगाव र प्रतिद्वन्दितालाई सेलिब्रेट गर्ने अवसर भएको बताएका छन् ।
लिजेण्ड एल क्लासिकोमा सहभागी हुने खेलाडी बारे भने अझै निश्चित नभएको र सहभागी हुने खेलाडीको सूची छिट्टै सार्वजनिक गरिने आयोजकले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया