काठमाडौँ – आईसीसी महिला टी-२० विश्वकप आजदेखि शुरु हुँदै छ । यो विश्वकप अक्टोबर २० सम्म हुँदै छ भने यो प्रतियोगितामा १० देशले भाग लिँदै छन् ।
आयोजक बङ्गलादेश भए पनि यो विश्वकप युएईका शारजाहा र दुबई सहरमा हुँदै छ । बङ्गलादेशमा हालै भएको आन्दोलनका कारण आयोजक बङ्गलादेश नै रहने गरी प्रतियोगिता युएईमा हुन लागेको हो ।
विश्वकपको समूह ए मा अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् भने समूह बी मा बङ्गलादेश, ईङल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् ।
आज पहिलो खेल बङ्गलादेश र स्कटल्याण्डबीच अपराह्न ३: ४५ बजेदेखि खेल हुँदै छ भने आजै दोस्रो खेल पाकिस्तान र श्रीलंकाबीच राति ७: ४५ बजेदेखि शुरु हुँदै छ ।
महिला विश्वकपमा अस्ट्रेलियाको दबदबा
नवौँ महिला टी-२० विश्वकपसम्म आउँदा अस्ट्रेलियाले आफ्नो दबदबा बनाएको छ । अस्ट्रेलियाले यस अघि सम्पन्न ८ मध्ये ६ विश्वकपको उपाधि जितेको छ । त्यस्तै पछिल्ला तीन विश्वकप अस्ट्रेलियाले लगातार जितेको छ ।
अस्ट्रेलिया बाहेक ईङल्याण्डले २००९ को पहिलो विश्वकप जितेको थियो भने २०१६ को विश्वकप वेस्ट इन्डिजले जितेको थियो ।
महिला टी-२० विश्वकपमा पुरुष सरह पुरस्कार रकम
आईसीसीले महिला टी-२० विश्वकपका लागि पुरुष विश्वकप सरह नै पुरस्कार रकम दिने भएको छ ।
यो विश्वकपमा आईसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ । हालै सम्पन्न पुरुष टी-२० विश्वकपमा पनि सोही बराबर रकम पुरस्कारमा खर्च गरिएको थियो ।
आईसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने देशले ६ लाख ७५ हजार र समूह चरणमा खेल जित्ने देशले ३१ हजार १५४ डलर पाउने आईसीसीले जनाएको छ ।
त्यस्तै समूह चरणबाट बाहिरिने हरेक देशले एक लाख १२ हजार ५०० डलर पाउने आईसीसीले जन्माएको छ । १० देश सहभागी विश्वकपमा पाँचौँ स्थानदेखि आठौँ स्थानसम्म रहने देशले २ लाख ७० हजार डलर प्राप्त गर्ने छन् भने नवौँ र दशौँ स्थानमा रहने देशले एक लाख ३५ हजार डलर पाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया