मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बडा दशैँ

दशैँलाई लक्षित गरेर सार्वजनिक हुन थाले भिडियो, यी हुन् बजारमा आएका ‘दशैँ गीत’

काठमाडौँ– यतिबेला शहर बजारको माहोल र परिवेशले दशैं पर्वको छनक दिइसकेको छ । दशैं पर्वलाई नै मध्यनजर गर्दै गीतसङ्गीतका सर्जकहरुले समेत गीतहरु सार्वजनिक गरिसकेका छन् ।

अहिले युट्युब च्यानलहरूमा हेर्ने हो भने दशैं पर्वको महिमा र महत्वलाई वर्णन गर्दै ‘सबै मिलेर दशैं मनाऔं’ भन्ने भावका गीति सिर्जनाहरु सार्वजनिक भएका छन् । त्यस कारण हामी दशैं पर्वलाई नै मध्यनजर गरी सार्वजनिक गरिएका गीतहरुबारे संक्षेपमा जानकारी गराउँदैछौं ।

परदेशी मेरो परदेशी

हरेक वर्ष आफ्नो मुहारको पहिचान भन्दा पनि सिर्जना लिएर तीज पर्वमा आउने विष्णु माझी यो वर्ष भने दशैं गीतमार्फत समेत आएकी छिन् । ‘परदेशी मेरो परदेशी’ बोलको गीतमा परदेशिएको परदेशीलाई स्वदेशमा फर्कन आह्वान गरिएको छ ।

सुन्दरमणि अधिकारी र माझीको स्वर समावेश गीतको अडियो मात्र सार्वजनिक गरिएको छ । 

हाम्रो दशैं यो राम्रो दशैं यो

भावना म्युजिक सोलुसनले हालै सार्वजनिक गरेको ‘हाम्रो दशैं यो राम्रो दशैं यो’ गीतमा हिमाल सागर र मेलना राईले स्वर दिएका छन् । गीतमा बिमल अधिकारी शब्द रचना र सङ्गीत रहेको छ । गीतले बडा दशैंलाई हाँसीखुसी भएर खुलेर मनाउन आग्रह गरेको छ ।

सबै जना खुसीयालीका साथ दशैं पर्व मनाउन पाइयोस् र कसैको निधार खाली नरहोस् भन्ने गीतले कामना गरेको छ । प्रशान्त मगरको निर्देशन रहेको भिडियोमा अधिकारीसँगै, उषा उप्रेती र सबिना क्षेत्रीको अभिनय रहेको छ । भिडियोको सम्पादनमा विकाश ज्ञवाली र छायाङ्कनमा राजेश घिमिरे छन् ।

आयो है दशैं आयो

पुरुषोत्तम पौडेल र सुनिता बुढा क्षेत्रीको स्वर रहेको दशैं गीत ‘आयो है दशैं आयो’ बोलको गीतलाई पौडेलको आफ्नै युट्युब च्यानलबाट दशैंलाई नै मध्यनजर गर्दै सार्वजनिक गरिएको छ । शिव पौडेल र नेत्र पि.काफ्लेको शब्द रचना रहेको गीतमा दशैं पर्व मनाउन स्वदेश फर्किन लागेको परदेशीको उमङ्गलाई वर्णन गरिएको छ ।

गीतमा गाउँ फर्केर उमङ्ग र उत्साहले नाचेर/गाएर दशैं मनाउने सपना परदेशीले साँचेका छन् भने घर कुरेर बसेकी श्रीमतीले आफ्नो बह गीतैमा पोखेर सँगै दशैं मनाउने बताएकी छिन् । गीतमा गायक पौडेलकै सङ्गीत रहेको छ । गीतको भिडियोमा भने बिमल अधिकारी, जुना विश्वकर्मा र पि काफ्लेको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशनमा कपिल लामा, सम्पादनमा शिव पौडले र छायाङ्नमा करण चैसिर छन् । 

दशैं आयो

सुनिता बुढा क्षेत्री, योगराज पोखरेल र दीपक पोखरेलको स्वर रहेको ‘दशैं आयो’ गीतमा परदेश पसेको श्रीमान्लाई श्रीमतीले दशैंमा एक्लो हुनाको पीडा र गाउँघरको रमझमलाई गीतैमार्फत पोखेकी छिन् । गीतमा समग्रमा परदेशको पीडाबोधलाई चित्रण गरिएको छ । गीतमा शिव पौडेलको शब्द र योगराजको सङ्गीत रहेको छ ।

गीतको भिडियोको निर्देशन र सम्पादन विजय पोखरेल गरेका छन् भने छायाङ्कन माधव पौडेलले गरेका छन् । गीतको भिडियोमा अशिम क्षत्री र श्रद्धा काफ्लेको अभिनय रहेको छ ।

आउँथ्यो दशैं

‘आउँथ्यो दशैं’ बोलको गीतलाई गायक हेमन्त शर्माले दशैं पर्वले ल्याएको उमङ्ग र उत्साहलाई गीतैमार्फत भनेका छन् । दशैं पर्वमा पिङ खेल्ने, मीठामसिनो खानेकुरा खाने, रमाइलो गर्ने वर्णन गरिएको छ ।

अरु बेलामा भन्दा यो वर्षको दशैं र तिहार अझै विशेष भएको गीतमा भनिएको छ । गीतमा शर्मा र मेलिना राईको स्वर रहेको छ भने शब्द सङ्गीत शर्माकै रहेको छ ।

गीतको भिडियोमा शर्मासँगै रजनी गुरुङ, डोना थापा मगर ललना चिमरिया अलिश राईको अभिनय रहेको छ । भिडियोको निर्देशन भने मौसम हिमालीले गरेका छन् । त्यस्तै, सम्पादनमा अमृत चापागाईं र छायाङ्कनमा पवन सुस्लिङ छन् ।

रमाइलो दशैं

‘रमाइलो दशैं’ बोलको गीतमा परदेशबाट महिना दिनको छुट्टीमा आएका परदेशीको उमङ्ग र खुसीलाई समेटिएको छ । तीन वर्षमा भेटिएको, प्रियसी र घरगाउँबासीहरुको रौकनता गीतमा सुनिन्छ ।

परदेशीलाई जन्मिएकै घर प्यारो भनेर लाहुरेले गीतमा आफ्नो पीडा पोखेका छन् । गीतमा सूर्य खड्का र सम्झना भण्डारीको स्वर रहेको छ भने अर्जुन सुवेदीको शब्द रचन रहेको छ भने सङ्गीत गायक खड्काकै रहेको छ ।

गीतको भिडियोमा लोमश शर्मा र लोसिना लामिछाने लगायत कलाकारहरुको अभिनय रहेको छ । कुमार केसीले निर्देशन गरेको भिडियोमा सुदिप राईको छायाङ्कन र अमृत चपागाईंको सम्पादन रहेको छ । 

शुभकामना दशैंको

‘शुभकामना दशैंको’ बोलको गीतमा दशैं पर्वको रौनक र माहोलमा सबैप्रति खुसी तथा उमङ्गको कामना गरिएको छ । पशुपति शर्मा, बसन्त थापा, कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा सूर्य न्यौपानेको शब्द तथा सङ्गीत समावेश छ ।

मौसम हिमालीको निर्देशन र कोरियोग्राफ रहेको गीतमा गायकहरु थापा, विश्वकर्मासँगै लोमेश शर्मा, रजनी गुरुङ, नारायणी खत्री र जुना विश्वकर्माको अभिनय रहेको छ । भिडियोको सम्पादनमा नवीन घर्तीमगर र छायाङ्कनमा करण चैसिरको रहेको छ ।

गाउँ फर्क परदेशी

प्रमोद खरेलको ‘गाउँ फर्क परदेशी’ गीतमा परदेशीको विरह भाकालाई समेटिएको छ । परदेश र घरदेशीको दुवैको पीडालाई गीतको भिडियोमा कैद गरिएको छ । खरेलको स्वर समावेश गीतमा ऋषि खड्काको शब्द र सङ्गीत रहेको छ ।

आशिर प्रताप जङ्गको निर्देशन रहेको गीतको भिडियोमा उस्तै विरह भाका र दृश्यलाई समेटिएको छ । भिडियोमा आशिर प्रताप सँगै स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । त्यस्तै, भिडियोको सम्पादनमा अमृत चापागाईं र छायाङ्नमा राम केसी छन् ।

दशैं आइसक्यो परान खाइसक्यो

‘दशैं आइसक्यो परान खाइसक्यो’ बोलको गीतलाई विष्णु खत्रीले ल्याएका हुन् । गीतमा दशैं पर्वले निम्न वर्गका मानिसलाई आर्थिक रुपमा दिने बोझलाई समेटिएको छ । साहुलाई ऋण काढेर परदेश पठाएको छोरो समेत घर फर्किएको छैन । गरीबलाई दशैं जस्ता पर्व आउँदा झन पीडा थपिन्छ भन्ने भाव गीतमा चित्रण छन् । खत्री र लक्ष्मी खड्काको स्वर रहेको गीतमा गायक खत्रीकै शब्द तथा सङ्गीत रहेको छ ।

गीतको भिडियोका लागि दीपेन्द्र तिमिल्सिनाको कथा निर्देशन गरेका छन् । भिडियोमा सुरविर पण्डित, विद्या कार्की, चेतबहादुर सिंह, दीर्घ फुलरा र जीवन ज्ञवालीको अभिनय गरेका छन् । भिडियोमा सम्पादनमा भने मनोज कार्की र छायाङ्कनमा नवराज उप्रेती छन् ।

गाउँ झै राम्रो’

‘गाउँ झै राम्रो’ बोलको गीतमा दशैंमा घर फर्केको युवाको गाउँप्रेम भावलाई प्रस्तुत गरिएको छ । गाउँको माया र प्रेमलाई दर्शाएर दशैंको कामना समेत गरिएको छ । तिलक बस्नेत र पूर्णकला बिसीको स्वर रहेको गीतमा बस्नेतकै शब्द तथा सङ्गीत रहेको छ ।

सिर्जन बराल ऋषिको निर्देशन रहेको गीतको भिडियोमा ज्ञानु नेपाली, निरुता शाही र सौरभ विश्वासको अभिनय रहेको छ , भिडियोको सम्पादनमा अमृत चापागाईं र छायाङ्नमा महेश महराको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?