मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२ सय ९४ जनाको सकुशल हवाई उद्धार

काठमाडौँ – बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलान्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्धारलाई तीव्र पारिएको छ ।

आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलान्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।

उनले सोमबार हालसम्म सेनाको हेलिकप्टरबाट काभ्रेपलान्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्धार गरि सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए ।

उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरूलाई गृह मन्त्रालयले तत्कालको राहत सामाग्री पनि उपलब्ध गराइरहेको उनले बताए ।  त्यसैगरी प्रभावित क्षेत्रमा खाजे तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमा समेत पठाइएको प्रवक्ता तिवारीले बताए ।

आइतबार काभ्रेपलान्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । यहाँको बिपी राजमार्गमा अवरुद्ध सडक खुलाउनुका साथै डोरीको सहायताबाट समेत सुरक्षाकर्मीले अलपत्र यात्रुहरूको उद्धार जारी राखेका छन् । भने सो क्षेत्रको सडक सुचारु गर्न आवश्यक सवारीसाधनका लागि पेट्रोलियम पदार्थ समेत हेलिकप्टरबाट ढुवानी गरिरहेको गृह मन्त्रालयले जनाएको छ । यता पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले अवरुद्ध सडक आइतबार रातिदेखि सुचारु भएको छ ।

विपद्मा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रवक्ता तिवारीका अनुसार हालसम्म सुरक्षाकर्मीहरूले चार हजार जनाको सकुशल उद्धार गरिसकेको छ । खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिने, अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने, अवरुद्ध सडक मर्मत गरी आवागमन सुचारु गर्न सबै सरोकारवाला मन्त्रालय एवम् निकायसित समन्वय गरी अघि बढ्ने, विपद्मा परी घाइते भएका नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायतका काम प्रभावकारी बनाउँदै लैजाने गृह मन्त्रालयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?