कम्मर दुख्ने समस्याले जुनसुकै उमेरका व्यक्तिलाई सताइरहेको हुन्छ ।
शारीरिक निष्क्रियता, बसाइको पोजिसन नमिल्नु, मोटोपन, एउटै पोस्चरमा लामो समय बसेर काम गर्नु, भारी सामान उचाल्नु, हड्डी कमजोर हुनु, निहुरिएर बसिरहनु, शरीरमा क्याल्सियम र भिटामिन डीको कमी हुनु, दुर्घटनामा परी मेरुदण्ड भाँच्चिनु जस्ता कारणले कम्मर दुख्छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार करिब ७० देखि ८५ प्रतिशत मानिसमा कम्मर दुखाइको समस्या हुन्छ ।
यस्तोमा कम्मर दुखाइबाट राहत मिल्ने एउटा विकल्प हो, योग । दिनको १५ मिनेट दिएर केही योगासन गरेमा कम्मर तथा मांसपेशीहरूमा दबाब कम हुन्छ, साथै शरीरभरि रक्त सञ्चार राम्रो भई अक्सिजन पुग्छ ।
त्यसो भए कम्मर दुखाइ कम गर्न कुन योगासन गर्ने त ?
– कम्मर दुखाइ भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ ।
– त्यस्तै, अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम गर्न सकिन्छ ।
– कुनै पनि आसन वा प्राणायाम गर्दा बलपूर्वक गर्न हुँदैन । जोडपूर्वक गर्न हुँदैन । सुरुमा बिस्तारै गर्नुपर्छ । योग्य प्रशिक्षकको निगरानीमा मात्र यी आसनको अभ्यास गर्नुपर्छ ।
– अप्रेसन गरेका बिरामीले डाक्टरको सल्लाह लिएर मात्रै यी आसनको अभ्यास गर्नुपर्ने हुन्छ ।
– योगले शारीरिक र मानसिक रूपमा धेरै फाइदा गर्छ । अस्थिर मनलाई स्थिर बनाउने, अज्ञानताबाट ज्ञानतर्फ तथा दुर्बलताबाट सबलतातर्फ लैजाने काम गर्छ ।
– कम्मर दुखाई मात्रै नभएर अन्य धेरै समस्या नियमित योगले हल गर्छ । पाचन प्रक्रियालाई सहज बनाउँछ । मानिसमा सकारात्मक सोचको विकास गर्छ । आध्यात्मिक जागरण ल्याउने काम गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया