काठमाडौँ– कलाकार तथा निर्मात्री स्वस्तिमा खड्काले ‘बेहुली फ्रम मेघौली’ नारीप्रधान मात्र नभएर एक रमाइलो फिल्म भएको बताएकी छिन् । उनले यो फिल्मको स्क्रिप्टले आफूलाई तानेकाले फिल्ममा अभिनय गर्न राजी भएको बताएकी हुन् ।
यस वर्षको प्रतीक्षित फिल्ममध्येको एक मानिएको ‘बेहुली फ्रम मेघौली’ मा स्वस्तिमाको शीर्ष भूमिका छ । स्वस्तिमाले यो फिल्म नारी चरित्रलाई मूल कथा बनाइए पनि समग्रमा सबै दर्शकले मन पराउने खालको फिल्म भएको बताइन् ।
‘स्क्रिप्ट पढ्नु पहिले निर्देशकहरुले यो नारीप्रधान सिनेमा भन्नुभएको थियो । नारीप्रधान सिनेमा भनेपछि हाम्रो दिमागमा कस्तो हुन्छ भने अलिक गम्भिर, दुःख देखाउने सिनेमा भन्ने लाग्छ नि, मलाई कसैले नारीप्रधान सिनेमा छ है भन्यो भने अलि दु:खी खालका कथा हुन्छन्, स्क्रिप्ट पढ्नु मलाई पनि त्यस्तै सिनेमा होला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘स्क्रिप्ट पढ्नु अगाडि निर्देशकले केही कथा भनेको पनि थिएन, त्यही सोचेर म स्क्रिप्ट पढ्न बसेकी थिएँ, नारीप्रधान हुँदाहुँदै पनि यो व्यवसायिक र दर्शकले रमाइलो लिने सिनेमा हो भन्ने लाग्यो ।’
स्वस्तिमाका अनुसार सिनेमाले लगभग ३० वर्ष पुग्न लागेको केटी मान्छेलाई सामाजिक तहमा विवाहका लागि जस्तो दबाब हुन्छ । त्यसलाई रमाइलो ढंगले एउटा कथा बनाएर सिनेमामा प्रस्तुत गरिएको छ।
स्वस्तिमाको कुरामा यस सिनेमामा उनीसँग स्क्रिन शेयर गरिरहेका निश्चल बस्नेतको पनि समान धारणा छ।
‘यो परिवारसँग बसेर हेर्दा झन् महशुस गर्न सकिने सिनेमा हो। यसमा बिहे गरिसक्नुभएकाले पहिलाको कुरा सम्झेर धेरै मनोरञ्जन लिनुहुनेछ भने बिहे गर्न बाँकीले यो चाँहि अहिले नै मेरो जीवनमा भइरहेको छ भनेर उहाँहरुले महसूस गर्नुहुनेछ।,’ उनले भनिन् ।
‘बेहुली फ्रम मेघौली’मा निश्चल स्वस्तिमाका अलवा वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेब्यु निर्देशकीय सिनेमा हो ।
स्वस्तिमालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया