हामी स्वस्थ रहन चिल्लो पदार्थको सेवन एकदमै कम मात्रामा गर्नुपर्छ । जङ्क फुडमा तेलको मात्रा बढी हुन्छ, जसका कारण यी खानेकुरा खाँदा धेरै रोग लाग्ने खतरा बढ्छ ।
तर, नेपाली भान्सामा धेरैजसो खानेकुरा पकाउँदा तेल वा घ्यूकै प्रयोग गरिन्छ, त्यसैले पनि हामी तेलबाट पूर्णतया बच्न सक्दैनौँ । र धेरैजसोको भान्सामा धेरै चिल्लो राखेर खाना बनाउने गरिन्छ । जुन अस्वस्थकर हुन्छ ।
यसकारण आज हामी हामीले दैनिक कति मात्रामा तेल खानुपर्छ भन्ने विषयमा जानकारी गराउँछौ ।
हामीले आफ्नो आहारमा धेरै तेल प्रयोग गर्नु हुँदैन भनेर आहारविद्हरू भन्छन् । तेलमा धेरै प्रकारका फ्याट हुन्छन् । तेलमा पाइने स्याचुरेट र ट्रान्स फ्याटले कोलेस्ट्रोलको स्तर बढाउन सक्छ ।
यही कारणले गर्दा हामीले दिनमा ४ वा ५ चम्चाभन्दा धेरै तेल खपत गर्नु हुन्न भनेर विज्ञहरू भन्छन् । तपाई आफ्नो स्वास्थ्य अवस्थाअनुसार तेलको मात्रा बढाउन वा घटाउन सक्नु हुन्छ । स्वास्थ्यलाई कुनै हानी नहोस् भनेर हामीले खाना पकाउन राम्रो गुणस्तरको तेल रोज्नुपर्छ ।
आहारविद्हरूको कुरा मान्ने हो भने तेल हाम्रो स्वास्थ्यको लागि आवश्यक पनि छ । यसमा फ्याट हुन्छ । यसले शरीरलाई ऊर्जा प्रदान गर्छ, तर धेरै मात्रामा तेलको सेवनले हृदय रोगको जोखिम बढाउन सक्छ ।
डब्लुयएचओका अनुसार यदि कुनै व्यक्तिले २ हजार क्यालोरीको आहार लिइरहेको छ भने लगभग ४०० देखि ७०० क्यालोरी बोसोबाट प्राप्त हुनु पर्छ ।
यो ४४ देखि ७८ ग्राम बोसो बराबर हुन्छ । तर, तेलबाहेक पनि अधिकांश खानेकुरामा बोसो हुन्छ, जसका कारण चिल्लोको सेवनलाई नियन्त्रण गर्नुपर्छ । महिला र पुरुष दुबैले बराबर मात्रामा बोसोको सेवन गर्नुपर्छ ।
स्वस्थ रहन मानिसले स्याचुरेटेड फ्याटको सट्टा अनस्याचुरेटेड फ्याटको सेवन गर्नु पर्छ भनेर डब्लुएचओले सुझाव दिएको छ । माछाको तेल, नटको तेल र बियाँको तेलमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ, जुन शरीरका लागि निकै फाइदाजनक मानिन्छ ।
अन्य कयौं वनस्पति तेलहरूमा पनि स्वस्थ बोसो राम्रो मात्रामा पाइन्छ । आफूलाई हृदय सम्बन्धी समस्याहरू नहोस् भन्ने चाहने हो भने हामीले खाना पकाउन राम्रो खालको तेल छनौट गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया