काठमाडौँ– कवि, कथाकार, गजलकार एवं समालोचक डा. रेणुका सोलुको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘तुइन जिन्दगी’ पुस्तक सार्वजनिक भएको छ । शुक्रबार ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक लेखक स्वयम् डा. सोलु, डा. दामोदर पुडासैनी, गगन थापा, माया ठकुरी, अशेष मल्ल, डा. सावित्री मल्ल कक्षपति, डा. गीता त्रिपाठी लगायतको व्यक्तित्वहरुले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमाथि पुडासैनी, त्रिपाठी र अधिकारीले बाेलेका थिए ।
समालाेचक त्रिपाठीले पुस्तकमा आएकाे नारीवाद समावादकै स्वरुपमा रहेकाे सुनाउँदै सरल तथा सामान्य रुपमा गम्भीर कुरा समेटिएकाे बताइन् । घर, माइती सबैलाई एकसाथ जाेडिरहेकाे महिलाकाे सङ्घर्ष आएकाे समालाेचक अधिकारीले सुनाइन् ।
उनले भनिन्, ‘कामकाजी, गृहिणी महिलाले कसरी घर अफिस जाेडिरहेकाे छ भन्ने हामी आम महिलाकाे कुरा उठान गर्नुभएकाे छ ।’ साेलुलाई ठकुरीसहित थापा र डा. कक्षपतिले शुभकामना व्यक्त गरे ।
उनको पछिल्लो संस्मरणात्मक निबन्धसङ्ग्रह ‘तुइन जिन्दगी’मा उनले सामाजिक, आर्थिक, राजनीतिक जस्ता दुर्गमताबिच गाँजिएको पुरातना चेतनाविरुद्ध सङ्घर्षरत एक आम नारीको कथालाई उजागर गरेकी छिन् ।
डा. सोलुको उनका उपन्यासहरु ‘भिरमह(२०७३),’ ‘चिराक(२०७५)’ कथासङ्ग्रह ‘अस्तित्वको खोजी(२०७०),’ गजलसङ्ग्रह ‘संघर्षका पाइला(२०७६),’ ‘अवसरको सगरमाथा(२०६९),’ शोककाव्य ‘शिखरपुरुषप्रति श्रद्धासुमन(२०६७)’ आत्मकथा ‘गुलाफ फुल्न खोज्दा(२०७०),’ ‘उपन्यासकार विशेश्वरप्रसाद कोइरालाका नारीपात्रमा नीति चेतना (समालोचना २०७०)’ लगायतका कृतिहरुका साथै बालसाहित्य र सहलेखनमा थुप्रै पुस्तकहरु प्रकाशित छन् ।
मानव अधिकारकर्मीसमेत रहेकी डा. सोलुले खासगरी सामाजिक जीवनमाथि अनेकन काेणबाट लेख्ने गर्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया