रौतहट – पछिल्लो तीनदिन देखि अविरल वर्षाको कारण रौतहटको पूर्वीभेग स्थित बागमती नदी र पश्चिममा लाल बकैया नदीमा ठूलो बाढी आएको छ । बाढीको पानी अहिले बागमती र बकैयामा ओभरफ्लो शुरु भएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार लाल बकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर १ मर्यादपुर गाउँ छेउमा नदीको बाँध कटान सुरु गरेको छ ।
त्यसैगरी जिल्ला स्थित चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदी खोलामा पनि पानीको स्तर बढ्दै गएको छ। कुलेखानी ड्याम आज बिहान खोलिएपछि बागमती नदीमा अझै ठूलो बाढी आउने भएकाले नागरिकलाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मीले ठाउँ ठाउँमा माइकिङ गरिरहेको छ ।
त्यस्तै बाढी र डुबान कटानको जोखिम बाट जोगाउन जिल्लाको चन्द्रपुर, परोहा नगरपालिका लगायत कैयौँ स्थानमा ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । रेग्मीले अविरल वर्षाका र बाढीको कारण जिल्लाको ६ वटा पालिका रेड जोनमा रहेको बताएका छन्।
जिल्लाको पूर्वीभेग राजदेवि नगरपालिका ,दुर्गाभगवति गाउँपालिका, बौधिमाई, मौलापुर, राजपुर र कटहरिया नगरपालिका रेड जोनमा रहेको उनले जानकारी दिएका छन्। अविरल वर्षाको पानीले इलाका प्रहरी कार्यालय कटहरिया जलमग्न भएको छ ।
बिहीबारदेखि परेको अविरल वर्षाको कारण जिल्लाका सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । दैनिक ज्यालादारी ,गर्ने खेतमा काम गर्ने मजदुर, दैनिक ससाना व्यापार गर्ने व्यवसायी अविरल वर्षाको कारण ठूलो कठिनाइमा परेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया