काठमाडौँ– दोस्रो विश्वयुद्धपछि विश्व शक्तिका रूपमा उदाएका तत्कालीन सोभियत संघ र संयुक्त राज्य अमेरिकाबीच अन्तरिक्ष विज्ञानमा तीव्र प्रतिस्पर्धाको थालनी भयो । सन् १९५० मा दुवै मुलुकले आ–आफ्नै पहलमा अन्तरिक्षमा स्टेशन निर्माणको योजना अगाडि सारे ।
दुई देशबीचको चर्को प्रतिस्पर्धाका बीच सन् १९५७ को अक्टोबरमा तत्कालीन सोभियत संघले इतिहासमै पहिलोपटक भू–उपग्रह ‘स्पुत्निक १’ को सफल प्रक्षेपण गर्यो । पूरै विश्वका लागि त्यो सामान्य सफलता थिएन ।
त्यसको केही महिनापछि अमेरिकाले पनि ‘एक्सप्लोरर’ नामक भू–उपग्रह सफलताका साथ प्रक्षेपण गर्यो । अहिले अन्तरिक्ष यात्राको प्रतिस्पर्धामा विश्वका कैयन् शक्ति राष्ट्रहरूले अर्बौँ डलर लगानी गरिरहेका छन् ।
अझ अहिले त चन्द्रमामा मानिसलाई बस्ने खालको वातावरण निर्माण गर्ने, मङ्गल ग्रहमा मानव पुर्याउनेसम्मका योजनाहरू अगाडि सारिएका छन् ।
वर्तमान समयमा प्रविधिले मारेको फड्को र वैज्ञानिकहरूले पाएको सफलताका कारण अन्तरिक्ष यात्रा सामान्यजस्तै भए पनि कुनै बेला यो एक परिकल्पना मात्र थियो । इतिहासलाई केलाउँदा १७ औँ शताब्दीको शुरुवाततिर जर्मन खगोलविद् योहानेस केप्लरले अन्तरिक्षमा मानव बसोबास र अन्तरिक्ष भ्रमणको परिकल्पना गरेका थिए ।
केप्लर पुनर्जागरण कालका चर्चित खगोलविद् थिए । उनले हरेक ग्रहमा बेग्लै संसार रहेको र एक दिन एउटा ग्रहबाट अर्को ग्रहमा मान्छेले भ्रमण गर्ने परिकल्पना त्यतिबेलै गरेका थिए ।
सन् १८६० को दशकमा अमेरिकी इतिहासकार एडवर्ड एभरेट हेलीले एटलान्टिक साप्ताहिकमा ‘ब्रिक मुन’ नामक लघु उपन्यास प्रकाशित गरे । उक्त लघु उपन्यासमा उनले पृथ्वीको वरिपरि घुम्ने र मान्छेसमेत बस्न सक्ने गरी बनाइएको कृत्रिम संरचनाबारे चर्चा गरेका थिए ।
परिकल्पनालाई वास्तविकतामा बदल्न वैज्ञानिकहरूलाई करीब चार सय वर्ष लाग्यो । २० औँ शताब्दीको अन्त्यमा खगोल विज्ञान जगतमा यस्तो चमत्कार आयो, जसले उनीहरुको परिकल्पनालाई साकार पारेरै छाड्यो ।
अझ रोमाञ्चक कुरा त के भने अन्तरिक्ष दौड शुरु भएको केही वर्षमै (सन् १९६१ को अप्रिल) तत्कालीन सोभियत संघका अन्तरिक्षयात्री युरी गागरिनले मानव इतिहासमै पहिलोपटक अन्तरिक्ष यात्रा गरे । त्यसको एक महिना नबित्दै अमेरिकी अन्तरिक्षयात्री एलन शेफर्ड पनि अन्तरिक्षमा पुग्न सफल भए ।
दुई शक्तिशाली मुलुकको प्रतिस्पर्धाका कारण मानव सभ्यताले अन्तरिक्ष विज्ञानमा ठूलो फड्को मार्यो ।
तर, अन्तरिक्ष यात्रा एकातिर भयो । अन्तरिक्षमै मानव बसोबासका लागि उपयुक्त वातावरण सहितको स्टेशन निर्माण गर्न अझै धेरै प्रयास आवश्यक थियो । ठूलो खोज अनुसन्धानपछि सन् १९७१ मा सोभियत संघले पहिलोपटक सल्युट १ नामक अन्तरिक्ष स्टेशन प्रक्षेपण गर्यो । उक्त स्टेशनमा तीन जनासम्म बस्ने सुविधा थियो ।
पहिलो चरणमा त्यहाँ बस्ने गरी जान लागेका अन्तरिक्षयात्रीहरु यो स्टेशनमा प्रवेश गर्न सफल भएनन् । तर, दोस्रो चरणमा स्टेशनमा गएका तीन अन्तरिक्षयात्रीहरु गियोर्गी डोब्रोभोल्स्की, भ्लादिस्लाभ भोल्कोभ र भिक्टोर पाट्साएभ भने प्रवेश गर्न सफल भए ।
उनीहरूले त्यहाँ २४ दिन बिताए ।
ती अन्तरिक्षयात्रीले लामो समयसम्म त्यहाँ रहँदा मानव शरीरमा पर्ने प्रभाव, पृथ्वीबारे थप जानकारी प्राप्त गर्न विभिन्न निरीक्षण, सूर्य र अन्य आकाशीय पिण्डको वस्तुस्थिति लगायतका परीक्षण समेत गरेका थिए । गज्जबको कुरा त के छ भने, अन्तरिक्षमा रहँदा पाट्साएभले आफ्नो ३८ औँ जन्मदिन समेत मनाएका थिए ।
यससँगै उनी अन्तरिक्षमा जन्मदिन मनाउने पहिलो व्यक्ति बन्न पुगे । तर, अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किने क्रममा भू–उपग्रह दुर्घटना हुँदा उनको ज्यान गयो । त्यसपछि पनि सोभियत संघले केही अन्तरिक्ष स्टेशन प्रक्षेपण त गरेको थियो । तर, ती सफल हुन सकेनन् ।
पछि सन् १९७३ मे मा अमेरिकाले पनि ‘स्काइल्याब’ नामक अन्तरिक्ष स्टेशन प्रक्षेपण गरेको थियो । स्काइल्याब सल्युट १ भन्दा आकारमा ठूलो, प्रवाधिक उपकरणमा पनि सम्पन्न र धेरै लामो समयसम्म अन्तरिक्षमा टिक्न सक्ने गरी बनाइएको थियो । तर, प्रक्षेपण गरेको केही समयमा नै यसमा जडित सौर्य प्यानलमा समस्या देखा पर्यो ।
सौर्य प्यानलमा देखिएको गडबडीका कारण अन्तरिक्ष स्टेशनभित्र तापक्रम ५२ डिग्रीसम्म पुगेको थियो ।
त्यसपछि सो अन्तरिक्ष स्टेशनमा बसोबास गर्न जाने यात्रीलाई अन्तरिक्षमा पुगेर सौर्य प्यानलको मर्मत गर्ने तालीम दिएर त्यसतर्फ पठाइयो । अन्तरिक्ष स्टेशन प्रक्षेपण गरिएको ११ दिनपछि उनीहरूले पृथ्वी छोडेका थिए ।
‘स्काइल्याब’मा पनि ‘सल्युट १’ जस्तै ३ जना अन्तरिक्षयात्री बस्न मिल्ने सुविधा थियो । पहिलो चरणमा त्यहाँ पुगेका अन्तरिक्षयात्रीले ‘स्काइल्याब’मा २८ दिन बिताएका थिए । सो क्रममा उनीहरुले सौर्य प्यानलको मर्मत गर्न सफल भए ।
त्यसपछि थप दुई चरणमा अन्तरिक्षयात्रीलाई ‘स्काइल्याब’मा पठाइएको थियो । त्यहाँ पनि अन्तरिक्षयात्रीहरुले अनेक परीक्षण, अनुसन्धान र खोज गरे । पछि सन् १९७९ मा यो अन्तरिक्ष स्टेशन पृथ्वीमा खस्यो ।
सन् १९७० को दशकको मध्यतिर भियतनाम युद्धको अन्त्यसँगै अमेरिका र सोभियत संघबीचको सम्बन्धमा केही सुधार आएको थियो । उक्त समयमा दुवै मुलुकले अन्तरिक्ष विज्ञानमा सहकार्य थाले ।
त्यसपछि सन् १९७५ मा दुवै मुलुकले ‘अपोलो सोयुज’ नामक संयुक्त अन्तरिक्ष कार्यक्रम सञ्चालन गरे । यो कार्यक्रमअनुसार अपोलो यानमार्फत् अन्तरिक्षमा गएका अमेरिकी अन्तरिक्षयात्री सोयुज अन्तरिक्ष क्याप्सुलमा प्रवेश गरी सोभियत अन्तरिक्षयात्रीसँग हात मिलाएका थिए ।
यो ऐतिहासिक घटनालाई विश्वका दशौँ लाख मानिसले टेलिभिजनमार्फत् प्रत्यक्ष हेरेका थिए ।
सन् १९७६ मा सोभियत संघले मीर अन्तरिक्ष कार्यक्रमको तयारी थालेको थियो । यो कार्यक्रमअनुसार पृथ्वीमा निर्माण गरिएका अन्तरिक्ष स्टेशनका विभिन्न भागहरुलाई अन्तरिक्षतर्फ लैजाने र उतै जडान गरी पूर्णस्तरको अन्तरिक्ष स्टेशन निर्माण गर्ने योजना बनाइएको थियो ।
यही कार्यक्रमअनुसार सन् १९८६ मा सोभियत संघले मीर अन्तरिक्ष स्टेशनको पहिलो भाग अन्तरिक्षतर्फ प्रक्षेपण गर्यो । त्यसको १० वर्षसम्म मीर स्टेशनका विभिन्न भागहरू अन्तरिक्षतर्फ लगेर जडान गरिएको थियो ।
मीर अन्तरिक्षयात्रा त्यसबेलासम्मकै सबैभन्दा उन्नत, प्रभावकारी र उपयोगी स्टेशन बन्न सफल भयो । सन् १९९९ मा अन्तिम अन्तरिक्षयात्री पृथ्वीमा फर्किनुअघि यो स्टेशनमा रुससहित अमेरिका, बेलायतजस्ता १२ देशका १ सय २५ जना अन्तरिक्षयात्रीले बसोबास गरेका थिए ।
यो स्टेशन सन् २००१ मा ध्वस्त भयो । मीर स्टेशनमा हासिल गरिएका अनुभव अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको निर्माणका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।
सोभियत संघले मीर स्टेशनलाई प्रक्षेपण गर्नुअघि नै अमेरिकामा मानव इतिहासकै सबैभन्दा वृहद अन्तरिक्ष स्टेशन कार्यक्रमका लगि अन्य मुलुकहरुसँग सहकार्य गरिनुपर्ने बहस चलिरहेको थियो । यसैक्रममा सन् १९८४ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले नासालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन निर्माणका लागि साझेदार मुलुकहरुसँग सहकार्य गर्नका लागि आवश्यक बजेट छुट्याएका थिए ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका तत्कालीन प्रशासक जेम्स बेग्स तत्कालै अन्तर्राष्ट्रिय साझेदारको खोजीमा लागिहाले ।
युरोपेली, जापानी र क्यानाडाका अन्तरिक्ष एजेन्सीहरु नयाँ अन्तरिक्ष स्टेशन निर्माणको कार्यक्रममा सहभागी हुन सहमत भए । सन् १९८४ देखि नै नयाँ अन्तर्राष्ट्रिय स्टेशनको डिजाइन थालियो ।
यो अन्तरिक्ष स्टेशन पनि मीरजस्तै विभिन्न भागहरु पृथ्वीमै निर्माण गर्ने र ती भागहरु अन्तरिक्षमा लगेर जडान गर्ने गरी डिजाइन गरिएको थियो । ८० को दशकको अन्त्यतिर यसका लागि आवश्यक पर्ने उपकरणको निर्माण शुरु गरिएको थियो । यी उपकरणको निर्माण अमेरिकासहित जापान, युरोपेली मुलुक र क्यानाडामा निर्माण थालिएको थियो ।
तर, त्यसको केही समयपछि स्टेशनको डिजाइनमा केही परिवर्तन आवश्यक देखियो । पछि सन् १९९३ मा रुसलाई पनि कार्यक्रममा समावेश गरियो । त्यसबेला सोभियत संघ विघटन भइसकेको थियो भने रुस एउटा स्वतन्त्र मुलुकका रुपमा स्थापित थियो ।
रुस र अमेरिकाबीच भएको सहमतिअनुसार यो कार्यक्रमको पहिलो चरणमा ११ वटा यानलाई रुसको मीर अन्तरिक्ष स्टेशनमा पठाइएको थियो । यसै चरणअन्तर्गत ७ जना अमेरिकी अन्तरिक्षयात्रीहरु रुसको मीर अन्तरिक्ष स्टेशनमा पुगेका थिए । अमेरिकाले मीरका दुई मोजुलको सुधारका लागि सहयोग पनि गरेको थियो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन स्थापनाको दोस्रो चरण सन् १९९८ मा शुरु हुन्छ । यसै चरणलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको शुरुवात मानिन्छ । यसअनुसार सन् १९९८ नोभेम्बर २० का दिन रुसी स्वामित्वमा रहेको कजाखस्तानको बैकानुर कस्मोड्रोमबाट उडेको प्रोटोन यानबाट जरया नामक मोजुल अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको थियो ।
रुसी भाषामा जरयाको अर्थ सूर्योदय हुन आउँछ । यो नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको पहिलो मोजुल हो । यो मोजुलमा इन्धन भण्डारण, ब्याट्री ऊर्जा तथा सोयुज र प्रोग्रेस यानलाई अवतरण गर्नसक्ने उपकरण जडान गरिएको थियो ।
सोही वर्षको डिसेम्बर ४ का दिन अमेरिकाको फ्लोरिडामा रहेको केनेडी अन्तरिक्ष केन्द्रबाट इन्डेभर यानमार्फत् अमेरिकाले ‘युनिटी नोड १’ नामक अर्को मोजुल अन्तरिक्षतर्फ प्रक्षेपण गर्यो । यो मोजुल जरयामा पुर्याएर जडान गरिएको थियो ।
सन् २००० को नोभेम्बर २ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बसोबास गर्नका लागि रुसी अन्तरिक्षयात्रीहरु सर्गेइ क्रिकालेभ र युरी गिद्जेन्को तथा अमेरिकी अन्तरिक्षयात्री विलियम शेफर्ड रुसको सोयुज यानमार्फत् त्यसतर्फ लागेका थिए ।
पहिलोपटक अन्तरिक्ष स्टेशनमा बसोबास र मानव बसोबासका लागि स्टेशनलाई थप अनुकूल बनाउन त्यसतर्फ अन्तरिक्षयात्री पठाएको थियो । सन् २००१ को फेब्रुअरी १ का दिन नासाले ‘डेस्टिनी’ नामक प्रयोगशाला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ पठाएको थियो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा २८ फिट लामो र १४ फिट व्यास भएको यो प्रयोगशाला जडान भएसँगै त्यहाँ मानव बसोबासका लागि अनुकूल स्थानमा ४१ प्रतिशतले वृद्धि भएको थियो ।
यससँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा दर्जनौँ मोजुलहरु जडान भइसकेका छन् । हरेक मोजुलका आ–आफ्नै विशेषता छन् । उदाहरणका लागि क्यानाडाले सन् २००१ मा अन्तरिक्ष स्टेशनमा प्रक्षेपण गरेको क्यानाडार्म २ नामक मोजुलले रोबोटिक हातजस्तै काम गर्छ । ५५ फिट लम्बाइको यो मोजुलले अन्तरिक्ष केन्द्रमा आउने अरु मोजुललाई यताउता लैजान, ती मोजुललाई निश्चित ठाउँमा जडान गर्नका सहयोग पुर्याउँछ ।
त्यसैगरी, अमेरिकाले सन् २०१० मा पठाएको ट्रान्किुलिटी मोजुलले त्यहाँको वातावरण नियन्त्रण गर्न मद्दत गर्छ । प्रयोगशाला मोजुलमा भने विभिन्न किसिमका वैज्ञानिक परीक्षण गरिन्छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीबाहिर मानव बसोबास गर्नसक्ने एकमात्र स्थान हो । नासाका अनुसार स्टेशनमा मानव बसोबासका लागि अनुकूल क्षेत्रफल ३ सय ८८ घनमिटर बराबर छ । यहाँ ७ जनासम्म अट्छन् । यो स्टेशन पृथ्वीभन्दा ३ सय ७० देखि ४ सय ६० किलोमिटरको उचाइमा रही पृथ्वीको आसपास घुमिरहेको हुन्छ ।
हरेक सेकेण्ड ५ माइल दूरी पार गर्ने स्टेशनले औसतमा हरेक ९० मिनेटमा यसले पृथ्वीको एक चक्कर लगाउँछ । यसले पृथ्वीबाट चन्द्रमा र चन्द्रमाबाट पृथ्वीसम्मको दूरी एकै दिनमा पार गर्छ । यो स्टेशनलाई यस्तो तरिकाले अन्तरिक्षमा राखिएको छ कि, ९० प्रतिशत माथिबाट यसले पृथ्वीको चक्कर लगाइरहेको हुन्छ ।
एक दिनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले १६ पटकसम्म पृथ्वीको चक्कर लगाउँछ ।
४ लाख १९ हजार ७ सय २५ किलोग्राम वजन रहेको यो स्टेशन अन्तरिक्षमा सबैभन्दा ठूलो मानवनिर्मित संरचना हो । यसमा जडान गरिएको सौर्य प्यानलको क्षेत्रफलमात्रै २ हजार २ सय ४७ वर्गमिटर छ । यसमा जडान भएका आठ वटा सौर्य प्यानलले हरेक वर्ष ७ लाख ३५ हजार किलोवाट प्रतिघण्टा ऊर्जा उत्पादन गर्न सक्छन् ।
विद्युतीय ऊर्जा प्रवाहका लागि स्टेशनमा प्रयोग गरिएका कुल तारको लम्बाइ ८ माइलभन्दा धेरै छ । यो स्टेशन सञ्चालनका लागि १५ लाखभन्दा धेरै लाइन कम्युटर कोड आवश्यक पर्छ । ती १५ लाख कोडलाई सञ्चालन गर्न पृथ्वीमा थप ३० लाख कोडको प्रयोग गरिएको छ । कम्युटरको कुरा गर्दा स्टेशनको नियन्त्रणका लागि मात्रै ५० भन्दा धेरै कम्प्युटर जडान गरिएको छ । स्टेशनमा राखिएका सफ्टवेयरले ३ लाख ५० हजारभन्दा धेरै सेन्सरको निगरानी गर्न सक्छन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा इन्टरनेटको पनि सुविधा छ । नासाले सन् २००८ मै त्यहाँ इन्टरनेटको विस्तार गरिसकेको थियो । तर त्यहाँको इन्टरनेट पृथ्वीजत्ति छिटो भने हुँदैन ।
यो स्टेशनमा बसोबास र काम गर्ने क्षेत्रफल ६ कोठे घर जस्तो फराकिलो छ । यहाँ भित्रै जिम गर्ने कोठा, दुई कोठा बाथरुम, ६ वटा सुत्ने कक्ष सबै सुविधा छ । अन्तरिक्षमा रहँदा गुरुत्वकार्षण बलको न्यून प्रभावका कारण हुने स्वास्थ्य जोखिमलाई न्यूनीरकण गर्न अन्तरिक्षयात्रीले हरेक दुई घण्टा व्यायाम गर्छन् । त्यति मात्रै होइन, यहाँको झ्यालबाट बाहिर हेर्दा ३६० डिग्रीको भ्यू देख्न पाइन्छ । अन्तरिक्ष स्टेशनको मर्मत, निर्माण र स्तरोन्नतिका लागि अन्तरिक्षयात्रीहरुले नियमित रुपमा स्टेशनबाहिर स्पेसवाक पनि गर्नुपर्छ ।
त्यहाँ अन्तरिक्षयात्रीको पिसाबलाई पिउने पानीमा रुपान्तरण गर्न पनि विशेष उपकरणको प्रयोग गरिएको छ । यहाँ खानेकुरा, वैज्ञानिक उपकरण र अरु बन्दोबस्तीका सामान आपूर्ति गर्न बारम्बार पृथ्वीबाट यानहरु प्रक्षेपण गरिन्छ । यो स्टेशन यति विशाल छ कि, एकैपटक ८ वटा यानसमेत यसमा जडान गर्न सकिन्छ । पृथ्वीबाट प्रक्षेपण गरिएका यान स्टेशनसम्म आइपुग्न छिटोमा ४ घण्टामात्रै लाग्छ ।
हालसम्म २० भन्दा धेरै मुलुकका २ सय ७० भन्दा धेरै अन्तरिक्षयात्रीले स्टेशनमा बसोबास गरिसकेका छन् । त्यहाँ रहेर उनीहरुले हरेक साता ३५ घण्टासम्म पृथ्वी, अन्तरिक्ष, भौतिक, जैविक तथा अन्य विषयको अनुसन्धान गर्छन् ।
शक्ति राष्ट्रहरू मिलेर सञ्चालन गरिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई विश्वव्यापी सहकार्यको एउटा नमूना नै हो । यस स्टेशनले विश्वका मुलुकहरु मिलेर नयाँ काम गरे त्यसबाट कस्तो परिणाम आउँछ भन्ने उदाहरण पेश गरेको छ । तर, अन्तरिक्षमा राखिएका मानवनिर्मित सबै संरचना स्थायी छैनन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको अस्तित्व पनि दीर्घकालसम्म रहने छैन । नासाले सन् २०३० को अन्त्यतिर यो स्टेशनलाई ध्वस्त पार्ने योजना अघि सारेको छ । त्यसबेलासम्म नयाँ, उन्नत र अत्याधुनिक अर्को अन्तरिक्ष स्टेशनको निर्माण गरिने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया