काठमाडौँ – मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ ‘वीएमआई लण्डन फिल्म फेस्टिभल’मा छनौट भएको छ । भामले सामाजिक सञ्जालमा पोस्ट गर्दै आज यसबारे जानकारी दिएका हुन् ।
‘प्रतिष्ठित वीएमआई लण्डन फिल्म फेस्टिभल हाम्रो फिल्म छनौट भएकोमा हामी खुसी र रोमाञ्चित छौँ’ भामले खुसी साट्दै लेखेका छन्,‘यसमा सहभागी सबैलाई बधाई’ ।
योसँगै ‘साम्बाला’ वीएमआई लण्डन फिल्म फेस्टिभलमा छनौट हुने पहिलो नेपाली फिल्म समेत बनेको छ भने सो फेस्टिभलको ६८ औँ संस्करणमा प्रिमियर हुने छ
यसअघि नै यो फिल्म स्वीट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो भने अभिनेत्री थिन्ले ल्हामोले बोक्कालिनो डीओर अवार्ड प्राप्त गरेकी थिइन् ।
साथै, यो फिल्म बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा दक्षिण एसियाबाट मनोनीत हुने पहिलो फिल्म समेत हो ।
यो फिल्म हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आएका थिए भने दर्शक र शुभचिन्तकको समेत सकारात्मक प्रतिक्रिया दिएका छन् ।
साढे दुई घण्टा अवधिको फिल्मले तिब्बतीय जनजीवन समेटिएको छ । बहुपती विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ ।
साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्: ‘शाम्बाला’ले देखाएको बाटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया