काठमाडौँ – आजबाट दुई नेपाली फिल्म ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आएका छन् ।
जसमध्ये सानो संसार मध्यम वर्गीय परिवारको कथा भन्ने फिल्म हो भने यसलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन् । निर्देशकका रूपमा यो उनको डेब्यु फिल्म हो भने फिल्मको पटकथा पनि पुडासैनीले नै लेखेका हुन् ।
फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ । फिल्ममा उनीसँगै राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको समेत अभिनय देख्न सकिन्छ । फिल्म अर्जुन कुमारले बनाएका हुन् ।
सेन्सर बोर्डले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको यो फिल्मलाई राम्रो शोज दिएको छन् । यो फिल्मले यसअघि सार्वजनिक भएका प्रचार सामग्रीमार्फत राम्रो हाइप बनाइसकेको छ भने ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् ।
यता अर्को फिल्म आँखाले काठमाडौँको नदी किनारमा बसोबास गर्ने सुकुम्वासीको सुख दुःख र सङ्घर्षको कथा भन्छ ।
फिल्मको शीर्ष भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन् । फिल्ममा दुई पात्रले दम्पतीको भूमिका निर्वाह गरेका छन् । निशा अधिकारी, पशुपति राई, बुद्धि तामाङ, विजय बराल, प्रवीण खतिवडा, राजन खतिवडा, अभय बराल, सरोज खनाल, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन लगायत कलाकारको अभिनय छ ।
‘गाउँ आएको बाटो’बाट चर्चामा आएका बालकलाकार प्रसन राई समेत रहेको यो फिल्मले फरक विषयवस्तु उठाएकाे भन्दै एक तहमा चर्चाकै केन्द्रमा छ । यद्यपि यी दुवै फिल्मले गर्ने व्यापारको अवस्था हेर्न भने अब उनीहरूले पाउने माउथ पब्लीसिटिमा भर पर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया