मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

दशैँमा प्रतीक्षित फिल्मको महाभिडन्त

काठमाडौँ– हिन्दू नेपालीहरुको महान चाड बडादशैँको अवसर पारेर नेपाली फिल्म रिलिज हुनु नौलो होइन । अरु बेलाभन्दा धेरै विदा हुने भएकाले पनि दशैँको अवसर पारेर फिल्म रिलिज गर्न निर्माताबीच हानथाप नै हुन्छ ।

यसअघि तीजको अवसर पारेर रिलिज गरिएका फिल्मले भने खासै व्यापार गर्न सकेनन् । नयाँ वर्षपछि कुनै फिल्मले पनि आशा गरिएअनुरुपको व्यापार गर्न सकेका छैनन् ।

यसैबीच दशैँको अवसर पारेर रिलिज हुने फिल्मको चर्चाले बजार तातिएको छ भने कलाकारले पनि प्रचार प्रसारमा जुटिसकेका छन् । यसपटकको दशैँमा बेहुली फ्रम मेघौली, छक्का पञ्जा ५, १२ गाउँ र ज्वाइँ साब गरी चार फिल्म रिलिज हुँदैछन् । ‘बेहुली फ्रम मेघौली’ भने अरु फिल्मभन्दा एक हप्ताअघि नै रिलिज हुँदैछ ।

यो फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, रक्षा थापा, टिका पहारी, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय छ । फिल्मको ट्रेलर र गीतले राम्रो हाइप बनाएका छन् । स्वस्तिमा खड्काले निर्माण गरेको यो फिल्ममा उमेर पुगेकी युवतीको बिहेको कथालाई उनिएको छ ।

स्वस्तिमा खड्काका कारण चर्चामा रहेको यो फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । असोज १७ गते घटस्थापनाको दिन रिलिज हुने यो फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

त्यस्तै दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ को पनि यतिबेला चर्चा छ । ट्रेलरसमेत रिलिज नभएको यो फिल्म दशैँको अवसर पारेर असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । अझ रोचक कुरा त के छ भने यो मितिमा विराज भट्टको ‘१२ गाउँ’ र जितु नेपालको ‘ज्वाइँ साब’ पनि रिलिज हुँदैछन् ।

‘छक्का पञ्जा ५’ का दुई गीतले राम्रो चर्चा बटुलेका छन् । ‘बिहे भाको छैन’ र ‘ब्रेकअप गीत’ दुवै चर्चासँगै विवादित पनि बनेका छन् । पछिल्लो समय रिलिज गरिएको ‘ब्रेकअप गीत’ लाई त अझ गीत नभएर गाली भएको आरोप पनि लगाएका छन् । गीतमा प्रयोग गरिएका केही शब्दमा समेत कतिपयको आपत्ति रहेको छ ।

फिल्मको प्रचारका लागि दीपक दीपाले कुनै कसर बाँकी छाडेका छैनन् । सामाजिक सञ्जालमा पनि ‘छक्का पञ्जा ५’ टिमको सक्रियता बढेको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

त्यस्तै अर्को प्रतीक्षित फिल्म हो विराज भट्टको ‘१२ गाउँ’ । यो फिल्ममा विराजका छोरा समीर भट्टको समेत अभिनय रहेकाले दर्शक प्रतीक्षित छन् । फिल्ममा उनलाई एक्सन अवतारमा देख्न सकिनेछ । यसअघि सार्वजनिक गरिएको टिजरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

दशैँको अवसरमा एकै मितिमा रिलिज हुन लागेको अर्को फिल्म हो, ‘ज्वाइँ साब’ । यो फिल्ममा जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको छ । वुद्धि तामाङ, शिवु पाण्डे लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका छन् । फिल्मको गीत र टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेका छन् ।

चारवटै फिल्मको राम्रो प्रतिक्रिया आए पनि हलमा रिलिजपछि दर्शक बाँडिने पक्का छ । दर्शकले सबै फिल्म हेर्न हल पुग्ने हुँदा यसपटक दर्शक समीक्षाका आधारमा हलसम्म जाने सम्भावना बढेको छ । सबै मेकरले आफ्नो फिल्म राम्रो भन्दै प्रचार गरे पनि दर्शकले भने अरु दर्शकको सिफारिसमा फिल्म हेर्ने छन् ।

मेकरले फिल्म त एकैपटक ल्याए तर कसले कमाउँछ र को डुब्छ, त्यो भने रिलिजको केही दिनमै थाहा हुनेछ । जे होस्, यसपालिको दशैँमा पनि प्रतीक्षित फिल्मको महाभिडन्त हुने अब चाहिँ पक्काजस्तै भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?