मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् छुटाउनै नहुने भर्खर बजारमा आएका कृति

पछिल्लो समय लेखन बजार अझ फराकिलो बन्दै गएको देखिन्छ । विभिन्न प्रकाशन गृहहरुले नियमितजसो नयाँ पुस्तक बजारमा ल्याउने गरेका छन् । दिग्गजदेखि अनुज पुस्ताका पुस्तकहरु प्रत्येक हप्ताजस्तो सार्वजनिक भइरहेका छन् ।

गैरआख्यान र आख्यान दुबै विधाका पुस्तक बजारमा आइरहेका छन् । आख्यानमा पनि धेरैजसो कथा, कविता र उपन्यास धेरै छापिन्छन् । त्यसैगरी गैरआख्यानमा संस्मरण, नियात्रा र अनुसन्धानमूलक पुस्तकहरु बजारमा आएका छन् । हालसालै पत्रकारहरु सुधीर शर्मादेखि घनश्याम खड्का र नेताहरु कमल थापा र सीके राउतसम्मले आफ्नो पुस्तक बजारमा ल्याएका छन् ।

वैरागदेखि बचावसम्म

‘वैरागदेखि बचावसम्म’ पुस्तक जनमत पार्टीका अध्यक्ष सीके राउतको आत्मसंस्मरण सङ्ग्रह हो । हालै मात्र राजधानीमा एक कार्यक्रमबीच यो पुस्तकको लोकार्पण भएको हो ।

पुस्तकलाई राउतले संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौंदेखि गरेको विभेद र उत्पीडनहरुको नालीबेलीका रुपमा लिएका छन् । यसमा मधेशी समाजले भोगेको इतिहासको कालखण्डलाई लेखकको संस्मरण मार्फत समेट्ने जमर्को गरिएको छ ।

आनन्द संहिता

लेखक तथा पत्रकार घनश्याम खड्काको भर्खरै सार्वजनिक भएको गैरआख्यान कृति ‘आनन्द संहिता’ लाई अल्केमी पब्लिकेशन्सले प्रकाशन गरेको हो । कृतिमा खड्काले जीवनको बोध, आनन्द संहिता र आनन्दको चर्चा गरेका छन् ।

मानिसले खोज्ने आनन्द र त्यसैबाट आइपर्ने दुःखलाई कसरी निवारण गर्ने भन्ने पक्षलाई कृतिमा समेटिएको छ । यसले आनन्द प्राप्तिको विभिन्न विधि र दृष्टिकोणलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै जिउने कलालाई सिकाउँछ ।

हिमालपारिको हुरी

कान्तिपुर दैनिकका पूर्वप्रधानसम्पादक पत्रकार सुधीर शर्माको ‘हिमालपारिको हुरी’ पनि हालै बजारमा आएको छ । केही समयअघि उनले एक कार्यक्रमबीच यो पुस्तकसँगै ‘भिक्षु, व्यापार र विद्रोह’ पनि सार्वजनिक गरेका थिए ।

यो पुस्तकमा पुस्तकमा शर्माले गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् । यो पुस्तक किताब पब्लिसर्सले बजारमा ल्याएको हो । शर्माको ‘प्रयोगशाला’ पुस्तक निकै चर्चित मानिन्छ ।

‘भिक्षु, व्यापार र विद्रोह’

‘प्रयोगशाला’ का लेखक सुधीर शर्माले ‘हिमालपारिको हुरी’ सँगै एकैसाथ यो कृति बजारमा ल्याएका हुन् । ‘भिक्षु, व्यापार र विद्रोह’ मा शर्माले नेपालको भोट (तिब्बत) र चीनसँगको सम्बन्धका ऐतिहासिक घटनाक्रम केलाएका छन् ।

यो पुस्तक पनि किताब पब्लिसर्सले नै बजारमा ल्याएको हो । केही समयअघि कान्तिपुर दैनिकबाट राजीनामा दिएका शर्मा हाल युट्युबमा ‘अनि अब’ नामक अन्तरवार्ता श्रृंखला सञ्चालन गर्दै आएका छन् ।

धमिलो प्रकाश

राधा भण्डारीको उपन्यास ‘धमिलो प्रकाश’ हालै सार्वजनिक भएको हो । भण्डारीले यसअघि उपन्यास ‘खुल्ला कैदी’ पाठकमाझ ल्याएकी थिइन् । पछिल्लो उपन्यासमा उनले कोरोना महामारी र त्यसको प्रभावलाई उतारेकी छिन् ।

समाजको विकृति र विसङ्गतिहरुलाई समेत केलाइएको उपन्यासमा पितृसत्ता प्रवृत्तिलाई समेत समेटिएको छ ।

नाकाबन्दी र भूराजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाको हालै मात्र सार्वजनिक भएको पुस्तक ‘नाकाबन्दी र भूराजनीति’मा थापाले नेपाल र भारतका बीचमा भूराजनीति, सुरक्षा लगायत विषयमा लेखेका छन् ।

नेपाल र भारत बीचको भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएकै कारण नेपालले पटक–पटक भोग्नुपरेको नाकाबन्दीजस्ता समस्यालाई पनि पुस्तकमा समेटिएको छ ।

देश–देशान्तर

नियात्राकार राजाराम बर्तौलाको ‘देश–देशान्तर’ नियात्रासंग्रह हो । संग्रहमा धार्मिक, सांस्कृतिक भ्रमणमा आधारित भएकाले नेपालका अनेक सांस्कृतिक सम्पदालाई समेट्ने जमर्को गरिएको छ ।

लेखक बर्तौलाले कृतिमा नेपालको प्राकृतिक सुन्दरतालाई समेत उल्लेख गरेका छन् । कृतिलाई अनुसन्धान विमर्श नेपालले प्रकाशित गरेको हो ।

समयको नक्साबाहिर

लेखक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसंग्रह ‘समयको नक्साबाहिर’को हालै मात्र सार्वजनिक भएको हो । पेज टर्नरले प्रकाशित गरेको निबन्धसंग्रहमा लेखक ढुङ्गेलले आफ्नै अनुभूति र भोगाइहरुलाई उतारेका छन् ।

जहाँ उनका बाल्यकाल, बाल मनोविज्ञान, परिवार र सामाजिक सम्बन्धहरु समेत समेटिएका छन् । उनका बाल्यकालीन स्मरणहरुले प्रत्येक युवाका भोगाइ र कथाहरु प्रतिनिधित्व गर्छन् ।

रुदाने

रङ्गकर्मी टंक चौलागाईंको हालै सार्वजनिक भएको उपन्यासलाई साङ्ग्रिला बुक्कले प्रकाशनमा ल्याएको हो । विशेष त नाट्य क्षेत्रमा अभ्यस्त रङ्गकर्मी चौलागाईंको पछिल्लो उपन्यास ‘रुदाने’ मा थाहा आन्दोलनका अगुवा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनलाई आख्यानको रुपमा समेटिएको छ ।

विष्टको जीवनको दर्शन, चेतना र मनोविज्ञानलाई समेटिएको यस पुस्तक मार्फत उनको व्यक्तित्वसँगै नयाँ पुस्ताले उत्प्रेरणा पाउने लेखक तथा प्रकाशकको विश्वास छ । यस अघि चौलागाईंका ‘जिरो कटेज,’ ‘काठमाडौँ गीत,’ ‘टालाटुली,’ ‘उबडखाबड’ कृतिहरु प्रकाशित छन् ।   

अहिल्या

किरण आचार्यको उपन्यास ‘अहिल्या’ मा पौराणिक पात्र अहिल्यालाई केन्द्रमा राखेर कथावस्तु प्रस्तुत गरिएको छ । यस अघि पनि आचार्यले पौराणिक कथामै आधारित भएर उपन्यासहरु ‘जरत्कारु’ र ‘परशुराम’ लेखेकी थिइन् । कृति मार्फत उनले पौराणिक समयमा नारीलाई हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरेकी छिन् ।

पुनर्जन्म

साहित्यकार राम विनयको हालै मात्र सार्वजनिक भएको ‘पुनर्जन्म’ संस्मरण कृति हो । शिखा बुक्सले बजारमा ल्याएको पुस्तकमा कोरोना महामारीको कहर र आफ्नै परिवारका सदस्यहरु गुमाएको पीडालाई कृतिमा समेटेका छन् ।

उनी आफैं पनि महामारीको चपेटामा परेर तीन हप्ता लामो सघन कक्षमा बिताएका क्षणहरु समेत कृतिमा छन् । यस अघि उनका ‘कविता यात्रा,’ ‘जराको स्वर(कवितासङ्ग्रह),’ ‘टापुमा तैरिँदा(नियात्रा सङ्ग्रह)’ लगायतका कृतिहरु प्रकाशित छनर ।

आर्यदर्शनमा नारी : अस्ति हिजो र आज

दामोदर अधिकारीद्वारा लिखित पुस्तक ‘आर्यदर्शनमा नारीः अस्ति हिजो र आज’ हालै मात्र सार्वजनिक भएको हो । पुस्तकमा हिजो र आजसम्मका नारीको अवस्था चित्रण गरिएको छ । वैदिक पुराण, धार्मिक तथा सामाजिक ग्रन्थ, साहित्य,

साहित्य वेद, उपनिषद्, पुराणहरू, स्मृति र महाकाव्य रामायण र महाभारत जस्ता कृतिहरुको आधारमा पुस्तक तयार गरिएको छ । वैदिक कालमा नारीहरु आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक आदि क्षेत्रमा पुरुषसरह सशक्त, सक्षम र सबल थिए, पक्षलाई समेत पुस्तकमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?