मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानडामा लगातार तीन खेलमा पराजित नेपाल, लिग–२ चुनौतीपूर्ण

काठमाडौँ– पछिल्लो समय नेपाली क्रिकेट टिमको प्रदर्शन लगातार ओरालो लागिरहेको छ ।

हाल आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानाडा र ओमानसँग त्रिदेशीय सिरिज खेल्न क्यानाडा भ्रमणमा रहेकोे नेपाली टोलीले खेलेका सबै तीन खेलमा पराजय व्यहोरेको छ । पछिल्लो खेलमा नेपाल घरेलु टिमसँग ५ विकेटले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ८१ रनमात्र बनाउन सक्यो । नेपालका शीर्ष र मध्य क्रमका ब्याटर चल्न नसकेपछि नेपालले ठूलो स्कार बनाउन सकेन ।

२७ ओभर १ बलमा ८७ रन बनाउँदा नेपालले महत्वपूर्ण ७ विकेट गुमाउन पुग्यो । स्कोरकार्डमा ४ ओभर २ बलमा ८ रन हुँदा नेपालले ओपनर आशिफ शेखलाई गुमाएको थियो ।

१२ बलमा २ रन जोडेका आशिफलाई क्यानाडाका कलिम सानाले बोल्ड गरेका थिए । त्यसैगरी, सातौँ ओभरको अन्तिम बलमा २० रनको स्कोर हुँदा भीम सार्की आउट भए । उनले ८ बलमा ४ रनमात्रै जोड्न सफल भए । कलीम सानाको बलमा उनी कट बिहाइन्ड भए ।

त्यसको ५ बलपछि अर्का ओपनर अर्जुन साउद पनि १० रन बनाउँदै पेभेलियन फर्किए । डिलन हेलिगरको बलमा उनी साद बिन जफारबाट क्याच आउट भए । ३० रनको स्कोर हुँदा कप्तान रोहित पौडेल चौथो विकेटका रुपमा पेभेलियन फर्किए ।

११ बलमा ४ रनमात्र जोडेका उनी रन आउट हुन पुगेका थिए । ३६ रन हुँदा नेपालले पाचौँ विकेटका रुपमा अनिल साहलाई गुमायो । उनले ४ बलमा १ रनमात्र जोड्न सके । अनिल साह आउट भएपछि गुलशन झा क्रिजमा आए ।

गुलशन र आरिफ शेखको जोडीले ६३ बलमा ३४ रनको साझेदारी गरेर नेपाली इनिङलाई गति दिने प्रयास गरेको थियो । तर, त्यो प्रयास धेरै लामो समयसम्म टिक्न सकेन । २२ ओभर ३ बलमा केबल ७० रन हुँदा नेपालको छैठौँ विकेट पतन भयो । आरिफ ३३ बलमा १० रन बनाएर आउट भए ।

आरिफ आउट भएपछि सोमपाल कामी मैदान प्रवेश गरे । त्यसको केही समयपछि २७ ओभर १ बलमा गुलशन आउट भए । उनले ५६ बलमा ३४ रन बनाएका थिए । त्यसपछि क्रिजमा आएका सन्दीप लामिछानेले सोमपालसँग मिलेर नेपाली इनिङलाई अघि बढाएका थिए । सन्दीप र सोमपालको जोडीले ६९ बलमा ५५ रन बनायो ।

३८ ओभर ४ बलमा आठौँ विकेटका रुपमा सोमपाल आउट हुँदा स्कोरकार्डमा नेपालले १ सय ४२ रन बनाएको थियो । सोमपाल ४८ बलमा २१ रन बनाउँदै साद बिन जफारबाट एलबीडब्लू आउट हुन पुगे । नवौँ विकेटका लागि सन्दीप लामिछाने र करण केसीले ४२ बलमा महत्वपूर्ण ३९ रनको साझेदारी गरेका थिए ।

नेपालले ४५ ओभर ४ बलमा १ सय ८१ रन हुँदा सन्दीपलाई नवौँ विकेटका रुपमा गुमायो । आउट हुनुअघि सन्दीपले ४८ बलमा ४९ रन जोडेका थिए । त्यस क्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे । त्यसपछि नेपालले कुनै रन जोड्न सकेन । सन्दीप आउट भएको तीन बलपछि करण पनि आउट भए र नेपाल १ सय ८१ रनमा समेटियो ।

बलिङतर्फ क्यानाडाका लागि कलीम सानाले सर्वाधिक ३ विकेट लिएका थिए भने हर्ष ठाकेर र डिलन हेलिगरले समान २ तथा परविन कुमार र साद बिन जफारले समान १ विकेट लिएका थिए ।

१ सय ८२ रनको लक्ष्य लिएर मैदान उत्रेको क्यानाडाको शुरुवात पनि सुखद रहेन । ७ रन हुँदा उसको पहिलो विकेट गुम्यो । ४ ओभर २ बलमा क्यानाडाका आरोन जोनसन ११ बलमा खाता नखोल्दै आउट भए । करण केसीको बलमा उनी गुलशन झाबाट क्याच आउट भए । दोस्रो विकेटका लागि क्यानाडाका परगत सिंह र नवनित धलिवालबीच १ सय ५९ बलमा १ सय २२ रनको उत्कृष्ट साझेदारी भयो ।

३० ओभर ३ बलसम्म चलेको साझेदारी परगत आउट भएसँगै तोडियो । गुलशन झाको बलमा अनिल साहबाट क्याच आउट हुनुअघि परगतले ८३ बलमा ६४ रन जोडेका थिए । त्यस क्रममा उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसपछि ३७ ओभर ४ बलमा नवनित पनि आउट भए ।

क्यानाडाको तेस्रो विकट पतन हुँदा स्कोरकार्डमा १ सय ६९ रन बनिसकेको थियो । ललीत राजवंशीबाट कट बिहाइण्ड हुनुअघि नवनितले क्यानाडाका लागि सर्वाधिक १ सय १३ बलमा ८७ रन जोडेका थिए । यस क्रममा उनले ८ चौका र ४ छक्का प्रहार गरे ।

१ सय ७१ रन हुँदा क्यानाडाको चौथो विकेट गुम्यो । ३८ ओभर ३ बलमा सन्दीप लामिछानेबाट बोल्ड हुनुअघि हर्ष ठाकेरले २४ बलमा १३ रन जोडेका थिए । १ सय ७४ रन हुँदा क्यानाडाले ४० ओभर ३ बलमा पाचौँ विकेट गुमायो । क्यानाडाका अखिल कुमार सन्दीप लामिछानेको बलमा सोमपालका कामीबाट क्याच आउट भए ।

त्यसपछि १ सय ८२ रनको लक्ष्यमा पुग्न क्यानाडाले कुनै विकेट गुमाउनु परेन । ४२ ओभरमा क्यानाडाको स्कोर १ सय ८६ रन बनेको थियो ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ तथा करण केसी, ललीत राजवंशी र गुलशन झाले समान १ विकेट लिए ।
यससँगै क्यानाडा भ्रमणका क्रममा नेपालले खेलेका सबै तीन खेलमा पराजय व्यहोरेको छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली क्यानाडासँग १ सय ३ रनको विशाल अन्तरले पराजित भएको थियो ।

त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा पनि नेपालले जित हासिल गर्न सकेन । ओमनविरुद्ध नेपाल १ विकेटको झिनो अन्तरले पराजित हुन पुग्यो ।

अब नेपालले यस सिरिजअन्तर्गत आगामी मंगलबार ओमनसँग खेल्दैछ । त्यसबाहेक क्यानाडा भ्रमणका क्रममा नेपाली टोलीले त्रिदेशीय टी–२० सिरिज पनि खेल्ने तालिका छ ।

विश्वकप लिग २ का थप खेल खेल्न नेपालले अक्टोबर महिनाको अन्त्यमा अमेरिका भ्रमण गर्दैछ । अमेरिका भ्रमणका क्रममा नेपालले अमेरिकासहित स्कटल्याण्डसँग त्रिदेशीय एक दिवसीय सिरिज खेल्नेछ ।

यसअघि नेपालले गत फेब्रुअरी महिनामा घरेलु मैदानमा यसै लिगअन्तर्गत नेदरल्याण्ड्स र नामिबियाविरुद्ध त्रिदेशीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले कुुल ४ खेल खेलेको थियो ।

तीमध्ये नेपालले केबल एक खेलमा जित हासिल गरेको थियो । हालसम्म खेलेका ७ खेलमध्ये केबल एउटा मात्र जित हासिल गरेको नेपालका लागि आगामी दिन थप चुनौतीपूर्ण हुने देखिन्छ । लिग २ को अंक तालिकामा ८ टिममध्ये नेपाल केबल २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?