काठमाडौँ– केही दिनअघि ललितकला विधाका कलाकारहरुले ताप्लेजुङको फुङलिङ बजार हुँदै पाथीभरा–मुक्कुमलुङको शीरसम्म पुगेर आदिवासी सभ्यता, संस्कृति, इतिहास र आस्थालाई क्यानभासमा उतारे । पाथीभरालाई स्थानीय किराँतहरु मुक्कुमलुङ नामले पुकार्छन् ।
कलाकारहले मुक्कुमलुङमा काटिएका रुखको ठुठोलाई नै प्रिन्ट माध्यममा चित्रमा उतारे भने केहीले त्यसैलाई अंकमाल गरेर विरोध जनाए ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र केबलकार खारेजी संयुक्त संघर्ष समितिको आयोजनामा आदिवासी कलाकारहरु ताप्लेजुङ पुगेका थिए । सुवाश तामाङ, दीक्षा राई, नाङ्साङ किरण लिम्बू, मनरा प्रजापति, सपना नेपाली लगायत कलाकाहरुको टोलीसँगै नागरिक अभियन्ता, आदिवासी अधिकारकर्मी तथा अनुसन्धानकर्मीहरु त्यहाँ पुगेका थिए ।
संघर्ष समितिले आदिवासीहरुको आस्था र मुन्धुमी संस्कृति जोडिएको मुक्कुमलुङ पाथीभरामा केबलकार बनाउन नहुने, आदिसावी संस्कृति र सभ्यताको संरक्षण गरिनुपर्ने, पाथीभराको सट्टामा नाम मुक्कुमलुङ राखिनुपर्ने माग राखेर केही समयदेखि आन्दोलन गर्दै आइरहेका छन् ।
यतिमात्र नभएर ‘मुक्कुमलुङ’ विषयकै सन्दर्भमा आख्यानकार राजन मुकारुङले डा. चित्रा माबोको कथासङ्ग्रह ‘डोली भर्ना’मा आधारित रहेर नाटक लेखेका छन् । रङ्गकर्मी पवित्र राईको निर्देशनमा तयार गरिएको नाटक ‘मुक्कुमलुङ: विश्वासको शक्ति’ यतिबेला बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ ।
पछिल्लो समय कलाका विभिन्न विधाहरुमा आदिवासी संस्कृति, सौन्दर्य र पहिचानका स्वरहरु कथा, कविता, नाटक, ललितकला तथा फिल्महरुमा बुलन्द रुपमा आइरहेका छन् ।
विशेषतः २०४६ सालपछिको राजनीतिक वातावरण, त्यसपछि बनेको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रता सीमा र अधिकारहरुलाई कानुनी रुपमा नै उल्लेख गरेपछि साहित्य तथा कला सिर्जनाहरु आदिवासी पहिचानका आवाजहरु बुलन्द भएर आएका छन् ।
त्यसो त पहिचानको आन्दोलनले पनि कला सिर्जनाको क्षेत्रमा प्रभाव नपारेको होइन । मुकारुङसहित उपेन्द्र सुब्बा, भूपाल राई, श्रवण मुकारुङजस्ता साहित्यका सर्जकहरुले आख्यान, गीत तथा कविताहरुमा आदिवासी सभ्यतादेखि इतिहास र संस्कृतिका कुराहरु खोतलखातल गरेर ल्याइरहेका छन् ।
नवीन सुब्बाले आदिवासी संस्कार र जीवनलाई फिल्ममार्फत ५० कै दशकमा आम मानिसहरु समक्ष ल्याए ।
अहिले प्रदर्शन भएका फिल्म होस् नाटक वा ललितकला सिर्जनाहरुमा आदिवासी समुदाय केन्द्रीत विषयहरु नै आइरहेका छन् । जुन सिर्जनाहरुले आदिवासी पहिचानको स्वरलाई अझै उँचो बनाइरहेको देखिन्छ । पछिल्लो समयमा आएका फिल्महरु ‘जारी,’ ‘घरज्वाईँ,’ ‘गाउँ आएको बाटो’ देखि नाटकहरु ‘चोरको स्वर,’ ‘खुवालुङ,’ ‘मासिन्या,’ ‘दमिनी भिर,’ ‘बाखाम्मा,’ ‘झोडा,’ ‘मेषी दण्ड’मा आदिवासी संस्कृति र सौन्दर्यको लयसँगै पहिचानका आवाजहरु नै इंगित भएका छन् ।
चित्रकार किरण लिम्बूको समूहलले केही समयअघि झोडा बासीलाई कलामा देखाएका थिए । प्राचीन थातथलो छाडी मधेस झरेका पूर्वी पहाडका आदिवासीहरु वि.सं.२०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि कसरी भूमिहीन बने भन्ने विषयलाई नाटक ‘झोडा’लाई आधार बनाएर चित्रकलामा देखाएका थिए ।
चित्रकार सुवास लामो समयदेखि तामाङ इतिहास, सभ्यता र संस्कृतिलाई चित्रकला मार्फत नै देखाइरहेका छन् ।
उनले झण्डै तीन वर्षअघि ‘काइतेन’ शीर्षकमा तामाङ समुदायको इतिहास र सभ्यतालाई चित्रकलामा उतारेर काठमाडौँ बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा एकल कला प्रदर्शनी गरेका थिए ।
कला सिर्जनाका सर्जकहरुले यसलाई सकारात्मक रुपमा लिएका छन् । बहुलजाति र बहुभाषी समुदायलाई प्रतिनिधित्व हुने गरी सिर्जनामा विविधता आएको उनीहरु सुनाउँछन् । हालै मात्र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ई–आर्ट्स नेपालले गरेको ‘हिमालयन आर्ट फेस्टिभल’कै सन्दर्भमा कला सम्बन्धमा गरिएको एक बहसमा रङ्गकर्मी अनुप बराल, कवि विप्लभ प्रतीक र कलाकार तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका एसोसियट प्रोफेसर सुजन चित्रकारले कलामा पछिल्लो समयमा आएको पहिचान चित्रणबारे आ–आफ्ना धारणा राखेका थिए ।
रङ्गकर्मी अनुप बरालले कलामा देखिएको पहिचानको विषयले विविधता सँगै सिर्जना क्षेत्रमा आदिवासी विश्वास पद्धति र संस्कृतिहरु आएको आएको धारणा राखे । यसले विभिन जातिका संस्कृति र परिवेश बुझ्न सघाउ पुर्याएको उनले सुनाए । उनलाई लाग्छ, आजको समयमा यी सबै कुराहरु कलामा आउन जरुरी छ ।
तर कसरी र के कुरा ल्याउने भन्ने कुरामा स्वयं सर्जकहरु भने स्पष्ट हुनु अत्यन्तै जरुरी रहेको उनी बताउँछन् । ‘हामीलाई नाटक, चित्रकला वा फिल्मजस्ता आर्टहरुले स्वतन्त्र बन्न सिकाएको छ,’ उनले भने, ‘यसले हामीलाई क्रस कल्चर र विश्वास पद्धतिहरु बुझ्न सिकाएको छ ।’
उनको विचारमा कलामा आएको आदिवासी पहिचानको विचारमा समाज र यसको अनुशासनलाई भने कायम राख्न एकदमै जरुरी छ ।
कलाकै नाममा कला सर्जकहरुले समाजको सामाजिक सद्भाव र लयलाई बिगार्नु नहुने उनको मत छ । उनका अनुसार मुख्य रुपमा कलामा आएको विचारलाई सभ्य रुपमा स्थापित गर्नेतिर कला सर्जकहरु लाग्नुपर्छ ।
कवि प्रतीकका अनुसार सत्ता र शासकीय संरचनालाई हेर्दा जो सत्तामा छन्, तिनिहरु नै शक्तिशाली भएर र बाँकी सबै सीमान्तकृत भए । उनको विचारमा अहिले आदिवासीहरुको संस्कृति र ज्ञानलाई ल्याउनेहरु पनि अगाडि देखिएको सुनाउँदै उनले रैथाने ज्ञान र मौलिकतालाई सबैले बुझ्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘आदिवासी, रैथाने कुराहरु त्यही जातले मात्र होइन अरु जातिले पनि बुझ्नुपर्छ । तर यसमा हामीले यो जातको, त्यो जातको नभनिकन नेपाली भएर बुझ्नुपर्छ ।
ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने आदिवासीमाथि विभिन्न कालखण्डमा धरपकडहरु भए र उनीहरु किनाराकृत बने । तर त्यही इतिहासलाई लिएर अहिलेको पुस्तामाथि दुःख दिने नियत र अपराधीकरणको सोच कला सिर्जनामा आउन नहुने स्कुल अफ आर्टसका सहायक डिन सुजन चित्रकारको मत छ । कलामा आइरहेको रैथाने ज्ञानलाई सकारात्मक रूपमा लिँदै यसैबाट नयाँ जागरण ल्याउन सकिने उनले सुनाए ।
उनले भने, ‘पुराना पुस्ताले गरेको गल्तीमा नयाँलाई दुःख दिने हाम्रो नियत हुनुहुँदैन । कला सिर्जना गर्नु राजनीति होइन । एक अर्कालाई घृणा नगरी हामीले सबैको अस्तित्व स्विकार्नुपर्छ ।’
हिजोसम्म थिचिएर बसेका कुराहरु नै आज कलाको माध्यममा आउनुलाई सकारात्मक रुपमा नै लिन्छन् रङ्गकर्मी अशेष मल्ल ।
राजतन्त्र होस् या राणाकालले एकतन्त्रीय शासन प्रणालीमा भाषा र संस्कृति पनि एकतन्त्रीय हुँदा आदिवासी सभ्यता, संस्कृति र इतिहास नै ओझेल परे ।
तिनै गुमनाम भएका कुराहरु नै अहिले कलामार्फत आइरहेको मल्लको बुझाइ छ । ‘हिजो हामीमाथि यस्तो भएको थियो भनेर बदलाको भावना कलामा हुनुहुँदैन,’ उनले भने, ‘हामी कलाका सर्जकहरुले शालीन, सभ्य, कलात्मक र सौन्दर्यात्मक तरिकाले आफ्नो कुरा भन्नुपर्छ र भन्न पनि पाइन्छ ।’
नेपाली माटोको सुगन्ध बोकेका कला सिर्जनाहरुले देशमा मात्र नभएर विदेशमा समेत पुगेर नेपाल चिनाउन सक्छ भन्ने उनको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया