काठमाडौँ– निबन्धकार एवं कला समीक्षक ज्ञानेन्द्र विवशको नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ प्रकाशित भएको छ ।
निबन्धसङ्ग्रह विवशले मूलतः प्रकृति, प्रेम र जीवनका जीवन्त अनुभूतिहरूलाई कलात्मक भाषाशैलीका माध्यमबाट अभिव्यक्त गरेका छन् । जसमा प्रकृति, नेपाली पहिचान, मानवीय मन, मुटु र भावनाहरु नै प्रतिविम्बित भएका छन् ।
यसमा समकालीन समय, घटना, सत्ताको प्रवृत्ति समेत इंगित भएका छन् । सङ्ग्रहलाई समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूप मान्न सकिन्छ ।
कला, संस्कृति, जीवनी कृति, कलानिबन्ध लेखन र समीक्षामा सक्रिय विवशको यो पन्ध्रौँ कृति हो । कृतिमा तीन दर्जन निबन्धहरू समावेश छन् । भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस सङ्ग्रहभित्र ‘आफ्नो भनेको आफ्नै हुन्छ,’ ‘प्रकृति तिमीलाई प्रणाम,’ ‘आफैँ हामी आफ्नो होइनौँ,’ ‘जीवन यादहरूकै दस्तावेज,’ ‘प्रकृति तिमी भएर म’ लगायतका निबन्धहरू रहेका छन् ।
वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबुका अनुसार विवशका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित भएका छन् । तिनले पाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धिका रुपमा उनले लिएका छन् ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले निबन्धको उत्साहहीन तथ्याङ्कमा पनि निबन्धकार विवश निरन्तर अभियानमा लागिरहेको बताएका छन् । ‘जुनै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले निबन्धकहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन् । प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धकहरूले जागृत गराउने प्रयास गरेका छन्,’ उनले भनेका छन् ।
यस अघि उनका ‘पीडाका अनुभूतिहरू’ (२०५८), ‘क्यानभासका तरङ्गहरू’ (वि.सं. २०५५), ‘राराकी अप्सरा’ (वि.सं. २०५८), ‘मृत्यु उत्सव’ (वि.सं. २०६०), ‘आकृतिको आवाज’ (वि.सं. २०६१), ‘प्रणय र पाइला’ (वि.सं. २०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (वि.सं. २०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (वि.सं. २०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (वि.सं. २०७०), ‘सुन्दरीचोक’ (वि.सं. २०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (वि.सं. २०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (वि.सं. २०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (वि.सं. २०७८), ‘कलाकार सिद्धिमुनि शाक्य : जीवन र कला’ (वि.सं. २०७८) प्रकाशित छन् ।
यसबाहेक कला, निबन्ध, नियात्रा तथा जात्रासंस्कृति विषयक उनका केही पुस्तकहरू प्रकाशोन्मुख रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया