काठमाडौँ– आजभन्दा झण्डै पाँच वर्षअघि चित्रकार भीमप्रसाद शर्मा नवलपरासीको गैँडाकोटबाट ३५ थान कलाकृति बोकेर एकल कला प्रदर्शनीका लागि राजधानी फिरेका थिए ।
‘सम्बन्धन’ शीर्षकमा काठका फल्याकमा गौँथली चराहरुलाई उतारेर ल्याएका उनको सिर्जनामा सँगै ताल्चालाई प्रतीकात्मक रुपमा चित्रण गरिएको थियो । उनका चित्रहरुमा शून्य बन्दै गइरहेको गाउँबस्तीहरुमा ताल्चाहरु झुण्डिएपछि गौंथलीहरु समेत नरहेको कुरा इंगित भएका थिए ।
उनले कला सिर्जनामा समकालीन गाउँबस्तीको चित्रण गर्दै प्रकृति र मौलिकताबाट दूर बन्दै गएको मानवप्रवृत्तिको यथार्थतालाई राजधानीसम्म ल्याएर देखाउने जमर्को गरेका थिए । शर्माले चाहे प्रकृति होस्, चाहे मानवीय समाज, मानव अस्तित्व तथा चेतनाका कुरालाई कलामामार्फत नै उठान गरेर सचेतना र जागरण ल्याउने काम विगत चार दशकदेखि राजधानीबाहिर बसेर नै गर्दै आएका छन् ।
प्रकृतिको सौन्दर्य, जीवजनावरको अस्तित्व, मानव कला, संस्कृति, सामाजिक प्रणाली, मानवीय दर्शन, चेतना जस्ता सबै पक्षहरुलाई उनले कलामा खोतलिरहेका छन् ।
उनी भन्छन्, ‘संस्कृति र मान्छेका कथाहरु कलामा आउन कलाकारहरु गाउँमा छिर्नुपर्छ । कलाकारहरु गाउँ नै नपसेपछि वास्तविक संस्कृति र गाउँका कथाहरु कल्पनाको आधारमा कलाकृतिहरुमा आइरहेका छन् ।’
कला सिर्जनाका सर्जकहरु होस् या आम मानिसहरु अवसरको खोजीमा राजधानीतिरै छन् । राजधानी केन्द्रीत नै भएर उनीहरुले आफ्नो दैनिकी र कर्मलाई अगाडि बढाएका छन् । चित्रकार शर्मालाई भने गैंडाकोट जस्ता ग्रामिण भेगको परिवेश र त्यतैतिर छरिएर रहेका कथाहरु नै प्रिय छन् ।
उनलाई लाग्छ, काठमाडौँबाट गाउँको पीडा र व्यथा बुझिँदैन । चित्र सिर्जनामा आउने गाउँघरको संस्कार, संस्कृति र कथाहरु चित्रकारहरुले राजधानी बसेर कल्पनामै रमेर क्यानभानसमा भरेजस्तो छैनन् । कला र संस्कृतिको आयामहरु, गाउँघरको पीडा, मानवीय भावना र मनोवृत्तिहरुलाई बुझ्न त्यही बसेर ती सबै चीजहरुलाई आफ्नै मनको दृष्टिले समेत नियाल्नुपर्छ । यसले गर्दा मात्र कला क्षेत्रको दायरा फराकिलो हुन्छ भन्ने उनको बुझाइ छ ।
शर्माको औपचारिक कला यात्रा ४० को दशकको शुरुवाती समयदेखि नै भयो । बुवा पण्डित जुक्तिवल्लभ र आमा भद्रशिला शर्माको नौ जना सन्तानमध्ये कान्छो छोराको रुपमा २०१२ सालमा बाग्लुङको सर्कुवामा जन्मिएका उनका बुवा ज्योतिष थिए ।
बाल्यकालमा नै बुवाले बनाउने जन्मकुण्डली र चिनाहरुमा भएको रेखाचित्र, रङ्गीन कलात्मक बुट्टा तथा कलाहरु देखेर नै उनी कला क्षेत्रमा आकर्षित भएका थिए । उमेर बढ्दै गएपछि बुवाको काममा उनले सघाउन थाले । पात्र, जन्मकुण्डली र चिना बनाउने काममा सघाउँदा सघाउँदै उनको हात कला सिर्जनामा बस्यो ।
तिनताका बुवाले ३२ हात लामो जन्मकुण्डली चिना बनाएको उनको स्मरणमा छ । त्यतिबेला कला अध्ययन गर्ने वातावरण र कलासम्बन्धी त्यति बुझाइसमेत नभएकोले उनले औपचारिक कला अध्ययन भने गरेनन् । यसर्थमा कलामा उनका लागि बुवा नै उनको कला गुरू भए ।
पछि २०२९/०३० सालतिर पोखरामा पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तहमा अध्ययनकै क्रममा अग्रज कलाकार दुर्गा बराल वात्सायनसँग उनले हप्ताको एक/दुई पटक सिर्जनात्मक कलाको बारेमा चार महिनाजति सिक्ने र बुझ्ने अवसर पाए ।
उनका अनुसार त्यतिबेला कलाकार वा चित्रकार भन्नाले साइनबोर्डहरुमा लेख्ने मान्छे भनेर बुझिने माहोल थियो । आफ्नो करिअरको शुरुवातमै उनी शिक्षण पेसामा आवद्ध भए । पोखराबाट मुस्ताङमा शिक्षणका लागि गएका उनले त्यता पनि शिक्षणसँगै साइनबोर्ड लेखनमा जोड दिए ।
साइनबोर्ड लेखनबाटै कला सिर्जनाका लागि उनको हात झनै पोख्त बने । २०४० सालमा बाग्लुङबाट नवलपरासी गैंडाकोटमा बसाई सरेर आएपछि उनको सम्पर्क कवि तथा कलाकार गोविन्दराज विनोदीसँग भयो । विनोदीले नै उनलाई कला सिर्जनाको आयाम र महिमाबारे बुझाए ।
त्यसपछि भने उनको कला सिर्जना यात्रा अगाडि बढ्यो । त्यसयता शिक्षण पेसालाई छोडेर उनले कला यात्राको बाटो समाए । उनले गैरसरकारी संस्था मार्फत् सामुदायिक विकासको कार्यसँगै चित्रकलालाई मानव समाज र सेवाको रुपमा आगाडि बढाएका छन् ।
चित्र सिर्जना र सामुदायिक विकास कार्यकै क्रममा उनी डिप्लोमा अध्ययनका लागि उनी क्यानडा पुगे । क्यानडामा अध्ययनकै सिलसिलामा विद्यार्थीहरुले गरेको कला प्रदर्शनीमा उनले पनि दुईवटा चित्रहरु प्रदर्शन गर्ने अवसर पाए ।
महिलाकै विषयमा कोरिएको उनको दुवै चित्रहरु एक–एक सय डलरमा बिक्री भए । कला सिर्जना कार्यबाट दुई सय डलर आएपछि उनलाई झनै प्रोत्साहन मिल्यो । त्यसयता उनले निरन्तर चित्रहरु कोर्न थाले । त्यसबाट नै उनको अध्ययन खर्च चल्यो ।
‘आर्टिस फ्रम हिमालय’ भनेर गरिने सम्बोधनले उनी सिर्जनाका लागि हौसिए । सन् २००२ मा नेपाल फर्कने बेला उनलाई त्यहाँको एकजना ग्यालरी निर्देशकले एकल कला प्रदर्शनीका लागि आउन निम्तो दिए । नेपाल फर्केपछि उनले पहिलो एकल प्रदर्शनी भने सन् २००३ मा काठमाडौंमा नै गरे ।
त्यसपछि सन् २००४ मा ‘नमस्ते फ्रम नेपाल’ शीर्षकमा उनले अर्को एकल कला प्रदर्शनी गरे । माओवादी जनयुद्ध ताका भएको उक्त प्रदर्शनीमा उनले लैङ्गिक तथा जातिय विभेद सम्बन्धमा चित्रहरु प्रदर्शनीमा राखेका थिए । उक्त प्रदर्शनीमा उनका २१ वटा चित्रहरु बिक्री भए । त्यसपछि काठमाडौंमा २००७ मा एकल कला प्रदर्शनी गरेपछि उनले २०११ मा ‘बर्डस् अफ नेपाल’ शीर्षकमा च्यारिटी शो का लागि जर्मनीका शहरमा तीन वटा एकल कला प्रदर्शनी गरे ।
सामुदायिक अस्पताल स्थापना र सञ्चालनका लागि उनले उक्त प्रदर्शनी गरेका थिए । कला अवलोकन गर्न आउने सहभागीहरुलाई मन परेको कला निःशुल्क लान दिएर त्यसको बदलामा उनीहरुको स्वेच्छाले अस्पताललाई चाहिने सामग्री उपलब्ध गराउन भनिएको थियो ।
‘त्यतिबेला प्रदर्शनी निकै राम्रो भयो । झण्डै दुई कन्टेनर अस्पताललाई चाहिने सामानहरु पनि संकलन भयो । तर नेपाल ल्याउने बेलामा मन्त्रालयहरु धाउँदा निकै सास्ती भयो,’ उनले स्मरण गरे ।
राज्यबाट कुनै सहयोग नभएपछि धुलिखेल अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ मकाजुको पहलमा उनले नेपालसम्म ती सामानहरु ल्याए । यसरी उनले कला सिर्जनासँगै सामुदायिक विकास कार्यलाई निरन्तरता दिएर ११ औं पटकसम्म एकल कला प्रदर्शनी गरिसकेका छन् भने दर्जनौं सामुहिक कला प्रर्दनीहरुमा सहभागिता जनाएका छन् ।
क्यानडा, जर्मनी, अफगानिस्तान, भारत जस्ता देशहरुमा समेत उनका कलाकृतिहरु प्रदर्शन भएका छन् ।
२०१४ देखि नै गैंडाकोटमा ‘कलावती आर्ट काउन्सिल’को स्थापना गरेका उनले त्यहाँ कला प्रदर्शनी, कला गोष्ठी, सेमिनार, अन्तक्र्रिया र कला कार्यशालाहरु गर्दै आएका छन् ।
अहिले उनी मानव शरीरको ऊर्जाकेन्द्रको चक्र, चेतना प्रणाली र जागरणलाई समेटेर ‘कुण्डलीनी योग’ दर्शनलाई पुस्तक र चित्रमा समेत समेटिरहेका छन् । यसले प्रकृति, मान्छे र चेतनाको स्तरको ब्रम्हाण्डलाई अक्षरमा मात्र होइन इन्द्रेणी रङको संयोजनमा समेटिओस् भन्ने उनी चाहन्छन् ।
यसले मान्छेलाई चेनताको स्तरमा मात्र होइन अनुभूतिहरुको गहिराइसम्म पुराओस् भन्ने हेतुले नै उनले सिर्जना गरेका छन् । यी सिर्जनाहरुलाई छिट्टै नै गैंडाकोटमै प्रदर्शनी गर्छु भन्ने उनको भावी योजना छ ।
स्थानीय तहमा नै बसेर कला सिर्जना र प्रदर्शनी गर्दा त्यसको मूल्य एवं महिमा बुझिदिने माहोल नभएकोमा कुरामा भने उनी चिन्ता व्यक्त गर्छन् ।
आफ्नो सिर्जना देखाउन र बुझाउनकै लागि भएपनि राजधानीबाहिरका कलाकारहरुलाई काठमाडौँ आउनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।
भन्छन्, ‘हाम्रो सिर्जनालाई एक्पोज गर्न पनि हामी बाध्य भएर काठमाडौँ पुग्नुपर्छ । कलाको मिडिया कभरेज, कला समीक्षक, कला हेर्ने दर्शकदेखि किन्ने मान्छे सबै काठमाडौँमै छन् ।’
काठमाडौँसम्म कलाकृति ल्याउन, प्रदर्शनी गर्न र फेरि घरतिरै फर्काउने प्रक्रियामा उनले धेरै सास्ती बेहोरेका छन् । प्रदर्शनीका लागि खर्च उत्तिकै हुन्छ ।
‘एक पटक काठमाडौँ लगेर कला प्रदर्शनी गरेपछि फेरि पेन्टिङहरु घर पुग्दा छोरो विदेशबाट आएजस्तै हुन्छ,’ उनले हाँस्दै सुनाए ।
उनको बुझाइमा यसकारण पनि कलाकारहरु राजधानीतिरै बस्न रुचाउँछन् । उनका अनुसार काठमाडौँ बाहिर बसेर कलाकारहरुलाई जीविकोपार्जन र कला यात्रालाई अगाडि बढाउन कठिन भएकोले राजधानी केन्द्रित नै भइरहेका छन् । उनीसँगै कला सिर्जना सिकेका उनकै कतिपय विद्यार्थीहरु शहर पसेपछि गाउँतिर फर्केका छैनन् ।
यसरी राजधानीकेन्द्रीत मात्र कलाकार अनि कलाको माहोल भइरहने हो भने नेपाली कलाको स्तर कतै पुग्दैन भन्ने उनलाई लाग्छ । यसले कला सिर्जनामा समेत पुस्तान्तरण हुन पाउँदैन भन्ने उनको चिन्ता छ ।
कम्तीमा प्रदेश र जिल्लास्तरीय रुपमा कला पढाउने र कला प्रदर्शनी गर्ने माहोल भएमा गाउँका प्रतिभाहरु काठमाडौँमा रहनुपर्ने बाध्यताबाट मुक्त हुने बाटो उनले देखेका छन् । युवा पुस्ताका कलाकारहरु आफ्नै ठाउँमा पसेमा त्यहाँबाट मौलिक सिर्जनाहरु आउँछन् भन्ने उनले सोचेका छन् ।
अहिलेको अवस्थामा रानधानीभित्र र बाहिर भनेर कला सर्जकहरुमा नै सामुहिक विभाजन छ । कला सिर्जनाको क्षेत्रमा यदि परिवर्तन नै गर्ने हो भने विभाजन भन्दा पनि एकता हुनुपर्ने उनको मत छ ।
सन् २००७ तिर नै काठमाडौँमा एकल कला प्रदर्शनी गर्ने ताका उनलाई पनि काठमाडौँतिरै बस्ने झोँक चलेको थियो । तर उनले मनले कला सिर्जनाको मूल स्रोत उतै देख्यो र उनलाई गैंडाकोटतिरै डोर्यायो । अत: उनको मनको दृष्टिले देखाएको त्यही सिर्जनाको स्रोतलाई नै उनी हालसम्म खोतलेर सिर्जनाको रङमा भरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया