मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ ।

आँबुखैरेनी गाउँपालिकाले वडा नम्बर १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण शुरु गरेको हो ।

चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

‘आँधीमूललाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित ताल निर्माण सुरु गरिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माणको काम अगाडि बढाउने छौँ’, अध्यक्ष चुमानले भने । उनले पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माण र विद्युत् उत्पादनका निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको बताए ।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाले यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको र ताल निर्माणपछि आन्तरिक पर्यटक वृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताका रूपमा विश्वास गरिने माछा छन् । पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको छ । त्यसैले माछा मरेमा पुजारीले खाल्डो खनेर अन्त्येष्‍टि गर्दै आएको अध्यक्ष थापाले जानकारी दिए ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । यहाँ हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ग्ने कार्य चलिआएको छ ।

जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ ।

पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यो ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको हो । पृथ्वीराजमार्गको सत्रसयबाट साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । त्यसमध्ये करिब एक किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने र बलि दिने प्रचलन पनि छ । धार्मिक तथा पर्यटकीयस्थल भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि पनि यहाँ टाढा–टाढाबाट मानिस आउने गरेका छन् ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचनाले यहाँको सुन्दरतामा थप महत्व थपेको छ । यहाँ तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?