काठमाडौँ– लेखनमार्फत धार्मिक अतिवाद र परम्परागत रुढीवादी प्रवृत्ति विरुद्ध आवाज बुलन्द गरेकी तसलिमा नसरिन साहित्य लेखनमा प्रसिद्ध नारी सर्जक हुन् । उनलाई बङ्गलादेशी नारीवादी लेखिकाको रुपमा समेत लिइन्छ । ज्यानै जोखिममा राखेर उनले लेखेका उनका आख्यान र गैरआख्यान कृतिहरु भारत, बङ्गलादेशमा मात्र नभएर विभिन्न देशमा समेत ‘बेस्ट सेलर’ को सूचीको शीर्ष स्थानमा पर्छन् ।
उनका शक्तिशाली लेखहरुले महिला उत्पीडन र परम्परागत धार्मिक प्रवृत्तिको अटुट रुपमा आलोचना गरेकै कारण उनी आफ्नो देश र जन्मभूमि छोडेर अन्य देशहरुमा शरण लिएर बस्नुपर्यो । हिन्दू र मुसलमान समुदायबीचको धार्मिक द्वन्द्व होस् या यसकै कारण महिलाहरुले भोग्नु परेको दर्दनाक पीडा, पितृसत्ता र परम्परागत सोचकै उपज महिलाहरुको अवस्थालाई उनले लेखनमा जीवन्त रुपमा उतारेकी छिन् ।
लेखनमार्फत मात्र होइन सामाजिक सञ्जालबाट समेत उनले इस्लामिक अतिवादको खुलेर विरोध जनाउँदै आएकी छिन् । उपन्यास तथा कविता सिर्जनामा समेत पोख्त उनले मुसलमान समुदायले हिन्दूहरुमाथि धर्मकै नाममा गरेको आक्रमणलाई देखाएकी छिन् । उनले ‘लज्जा’ उपन्यासमा हिन्दू परिवारलाई मुस्लिमले गरेको अत्याचारको चित्रण गरेकी छिन् । जुन उपन्यासमा आधारित भएर भारतमा फिल्म समेत निर्माण भएको छ ।
त्यसपछि उनी इस्लामिक अतिवादी समूहको आँखामा कसिङ्गर बनिन् । यसकारण उनी सन् १९९४ देखि नै निर्वासित जीवन बिताउँदै आएकी छिन् । उनको विचारको विरोध गर्दै बङ्गलादेश र भारतको पश्चिम बङ्गालमा बस्न उनलाई प्रतिबन्धित गरी उनको नाम नै कालोसूचीमा राखेपछि उनी निर्वासित भएकी थिइन् । उनलाई सन् १९९४ देखि आफ्नो देश र २००७ देखि पश्चिम बङ्गालमा बस्न रोक लगाइएको थियो ।
एक दशकभन्दा लामो समय युरोप तथा अमेरिकामा रहेकी उनी सन् २००४ देखि भारतमै शरण लिएर निर्वासित जीवन बिताइरहेकी छिन् । इस्लामिक अतिवादको आलोचना गरेकै कारण उनीमाथि कैयौं पटक आक्रमणको प्रयास समेत भए ।
तत्कालीन पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) स्थित मयमनसिंहमा सन् १९६२, २५ अगस्टमा जन्मिएकी उनले १३ वर्षको उमेरदेखि नै लेख्न थालेकी थिइन् । उनको बुवा पनि चिकित्सक नै भएकाले उनले पनि चिकित्सा अध्ययन गरिन् । उनले ढाकाको सरकारी परिवार नियोजन क्लिनिक र राष्ट्रिय चिकित्सा सेवामा समेत आबद्ध भइन् ।
राष्ट्रिय चिकित्सा सेवालाई भने उनले १९९३ मा छोडेकी थिइन् । पेशाका रुपमा चिकित्सक भएपनि उनले लेखन कर्मलाई सशक्त रुपमा अगाडि बढाइन् । महिलाका विषयमा लेख्दालेख्दै उनी महिलावादी आन्दोलनमा समेत सक्रिय रुपमा लागेकी छिन् । उनी अझै पनि आफ्नो देशमा जान चाहन्छिन् तर उनको ज्यानलाई खतरा भएकोले उनी त्यहाँ जान सकेकी छैनन् ।
स्तम्भकार, कवि तथा आख्यानकारका रुपमा आफ्नो लेखन जीवनलाई अगाडि बढाएकी उनले १९७० देखि नै आफ्ना लेख रचनाहरु प्रकाशित गर्न थालेकी थिइन् । उनले विशेषत लेखनमा महिलामाथि हुने उत्पीडन, इस्लामिक अतिवादको विरुद्धमा निडर भएर लेखेकी छिन् । उनको लेखनमा मुस्लिम प्रथाको विरोध थियो ।
उनले परम्परागत मुस्लिम पोशाक त्यागेर आफ्नो कपाललाई समेत छोटो बनाइन् भने उनले खुल्लामखुल्ला चुरोट समेत पिएर देखाइन् । उनको आधुनिक शैलीको व्यक्तिगत आचरण र लेखनले मुस्लिम रुढीवादी र पितृसत्तावादीहरुले आफ्नो समुदायमाथि नै अपमान गरेको महसूस गर्दै उनको कार्यशैलीमाथि विरोध जनाए ।
सन् १९९२मा उनको कामको विरोध गर्दै उनका पुस्तकहरु रहेको ढाकाका पुस्तक पसलहरूमा आक्रमण समेत गरिएको थियो । सन् १९९३ मा उनको पुस्तक ‘लज्जा’ आएपछि उनी विरुद्ध फतवा (इस्लामिक धर्मगुरुको उर्दी) जारी गरिएको थियो । त्यसको अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा भयो । १९९४ मा कलकत्तामा स्टेट्समेन्ट पत्रिकामा गरिएको कुराकानीमा उनले इस्लामको धर्मग्रन्थ ‘कुरान’माथि संशोधन हुनपर्ने विचार राखेपछि परम्परावादीहरुले उनलाई मृत्युदण्ड दिनुपर्ने माग राख्दै प्रदर्शन समेत गरे । तत्कालीन सरकारले उनको गिरफ्तारीका लागि आदेश दिएको थियो ।
त्यतिबेला केही समय भूमिगत भएर बसेकी उनी आफैं अदालत पुगेकी थिइन् । त्यसको केही समयपछि उनी देश छोडेर स्विडेन गएकी थिइन् । त्यतिबेला उनले देशमा सुरक्षित भएपछि फेरि फर्केर महिला अधिकारको लडाइँ जारी राख्ने बताएकी थिइन् । युरोपबाट २००४ मा फर्केर भारत बस्दै आएपनि इस्लामवादीहरुले फेरि पनि उनको आलोचना गरे ।
२००७ मा इस्लामवादीहरुले उनीविरुद्ध प्रदर्शन गर्दा दंगा भएपछि उनी भागेर अमेरिका पुगेकी थिइन् । यसरी जीवनको उथलपुथल समयमा उनले लेख्न भने छोडिनन् । यस समयमा उनले धेरैजसो आत्मकथाहरु लेखिन् ।
‘अमर मेयेबेला (१९९९), ‘माई गर्लहुड (माई बंगाली गर्लहुडको रूपमा पनि प्रकाशित),’ ‘उत्ताल हवा (२००२ वाइल्ड विन्ड)’ र द्विखंडितो (२००३ डिभाइडेड) जस्ता कृतिहरु उनले सिर्जना गरिन् । तसलिमाले कविता, निबन्ध, उपन्यास र आत्मकथा गरी ४० वटा पुस्तक लेखेकी छिन् । उनका कृतिहरू तीस भन्दा बढी भाषाहरूमा अनुवाद भएका छन् । तीमध्ये उनका केही पुस्तकहरू बङ्गलादेशमा अझै प्रतिबन्धित छन् ।
उनको लेखनको सम्मान गर्दै उनलाई सन् १९९२ मा भारतको प्रतिष्ठित साहित्यिक पुरस्कार ‘आनन्दा’बाट सम्मानित गरिएको थियो । उनले सन् १९९४ मा युरोपेली संसदबाट विचारको स्वतन्त्रताका लागि ‘सखारोभ’ पुरस्कार समेत हात पारिन् । त्यस्तै, उनले स्वीडिश पेनबाट ‘कर्ट टुचोल्स्की अवार्ड,’ फ्रान्स सरकारबाट ‘सिमोन डे ब्युभोइर अवार्ड’ र ‘मानव अधिकार’ पुरस्कार, अमेरिकाको फ्रिडम फ्रम रिलिजन फाउण्डेशन ‘मानवतावादी अवार्ड’ पाएकी छिन् । उनले २००५ मा सहिष्णुता र अहिंसाको प्रवद्र्धनका लागि ‘युनेस्को मदनजीत सिंह’ लगायत थुप्रै अन्तर्राष्ट्रिय स्तरका पुरस्कारहरु समेत प्राप्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया