मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला

जलहरीबाट झरेको रंगीन पानीमा लीन अमृत

प्रदर्शन कला प्रस्तुतिमा सांसारिक र अध्यात्म जीवनको चिन्तन

काठमाडौँ– झण्डै दुई वर्षअघि कलाकार अमृत कार्कीले ‘ब्रिदिङ थ्रु द स्टिलनेस’ शीर्षकमा प्रस्तुत गरेको पर्फर्मेन्स कलाका दृश्यहरूले आम दर्शकलाई चकित बनाएको थियो ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रस्तुत गरेको उक्त पर्फर्मेन्स कला प्रस्तुतिमा अमृत निरन्तर पाँच घण्टा उभिरहँदा उनैको उचाईमा हात, खुट्टा र टाउको सँगै टाँसिने गरी मानिसहरुले इँटाको गारो(भित्तो)लगाएका थिए ।

गारो टाउकोभन्दा माथि पुगे पनि स्थिर नै रहेका उनी उक्त गारो ढलेपछि पूर्ववत् अवस्थामा फर्किएका थिए । आफूलाई भिजुअल आर्टिसका रुपमा लिने उनी मानव जीवन, भावना र विचारहरुलाई कलाको फर्ममा आम मानिसहरुसमक्ष रोचक तरिकाले ल्याउँछन् ।

अहिले पनि उनले त्यस्तै रोचक र फरक शैलीको पर्फमेन्स (प्रदर्शन) कला प्रस्तुतिलाई प्रस्तुत गरिरहेका छन् । ‘तिमी मलाई देउ–म मुक्त गरिदिन्छु’ शीर्षकमा असोज १ गतेदेखि शुरु भएको  कला प्रस्तुतिमा अमृत जलहरीबाट झरेको पानीको रुझाइमा लीन भएर बसिरहेका छन् । रंग घोलिएको पानीलाई उपस्थित आम दर्शकहरुले जलहरीमाथि खन्याइदिन्छन् ।

त्यही रंगीन पानी उनको शिर हुँदै शरीरमा निरन्तर झरिरहेका छन् । त्यही पानीले उनको पहिरन रंगिएर पखालिँदै उनी बसेको आसनमुनिको कुण्डमा जम्मा भइरहेको छ । यसरी उनी पाँच दिन अर्थात् असोज पाँच गतेसम्म प्रत्येक दिन दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बस्नेछन् ।

प्रस्तुतिको पहिलो दिन उनले सेतो कपडा लगाएका थिए । त्यसदिन रंगहीन पानी जलहरीबाट उनको शरीरमा परेको थियो । दोस्रो दिन बुधबार पहेलो रंगीन पानीले उनको कपडा पहेँलो र तेस्रो दिन बिहीबार हरियो रंग घुलित पानीले हरियोमा नै रुपान्तरण गर्दै त्यही पानी कुण्डमा जम्मा भइरहेको थियो ।

चौथो दिन बिहीबार नीलो रंग घुलित पानीले उनको शरीरलाई रुझाइरहेको थियो । प्रस्तुतिका संयोजक पूजा पौडेलका अनुसार पाँचौं दिन रातो रंग प्रयोग हुनेछ । ती सबै रंगहरुले भिजेर पखालिएका कपडाहरु समेत प्रदर्शनीमा रहनेछन् ।

रंगीन पानी कलाकार अमृतको शिरमाथिको जलहरीमा खनिँदै गर्दा आम सहभागी दर्शकहरुलाई उनीसँगै समाहित भएको महसूस हुन्छ । जीवनका थुप्रै अप्ठ्यारा परिस्थिति र पीडाहरुलाई त्यही रङ्गीन पानीसँगै कलाकार स्वयम् पखालिदिएर हामीलाई ती सारा चीजहरुबाट मुक्त गरिदिएको भान हुन्छ ।

अमृतको स्थिर शरीर र आसनमा आम दर्शकहरु सौम्य र शान्त संसारको परिकल्पनामा पुग्छन् । उनको यो प्रस्तुतिको मुख्य ध्येय नै कलाकार र सहभागीलाई एक अर्कामा समाहित गराएर मानसिक एकाग्रता र शुद्ध मनको खोजी रहेको बुझिन्छ ।

किनकि जसरी उनको प्रस्तुतिमा शान्त परिवेशमा उनी मौन छन्, त्यसरी नै आम सहभागी पनि सौम्य रुपमा उनको प्रस्तुतिमा एकाग्र हुन्छन् ।

पर्फमेन्स कला प्रस्तुतिमा कलाकारहरुले अवधारणा बनाएपछि शरीरलाई केन्द्रीत गरेर आफ्नो प्रस्तुतिको भावार्थ र विचारहरु प्रस्तुत गर्छन् । यस प्रकारका कला प्रस्तुतिमा कलाकारको शारीरिक हाउभाउ, मुहारको भावभङ्गीहरुमा नै आम दर्शकले प्रस्तुतिको भावलाई आफ्नै तवरले अर्थ्याउँछन् । जसमा कलाकार तथा दर्शकका विचार तथा भावनाहरु नै अन्तर्क्रिया हुन्छन् ।

पोखरालाई नै आफ्नो कर्मथलो बनाइरहेका अमृत काठमाडौँमा विभिन्न कला प्रस्तुतिहरु ल्याएर बेला बेलामा उपस्थित भइरहन्छन् । उनको उपस्थितिमा कलाको नौलो शैली र प्रस्तुति त हुन्छन्, त्यसैमा आम कलाप्रेमीहरुले आफ्नै जीवन र आफैंले बाँचिरहेको भूगोल, समकालीन मानवीय, सामाजिक, सांस्कृतिक र एवं आध्यात्मिक पक्षका केही न केही अंशहरु भेट्टाएको अनुभव गर्छन् ।

चित्रकला नै उनको पृष्ठभूमि भए पनि पछिल्लो समय उनले आफूलाई दृश्य तथा पर्फमेन्स कलाकारका रुपमा स्थापित गरेका छन् । उनी आफ्नो कला प्रस्तुतिमा मानवीय एवं सामाजिक जीवनका क्षणिक र शास्वत तत्वहरूलाई सूक्ष्म तरिकाले खोजी गरेर स्थापित गर्ने जमर्को गर्छन् ।

उनको त्यही जमर्कोमा अमुर्त विचार तथा भावनाहरु आम दर्शकको दिल र दिमागमा बलियो रुपमा अन्तरघुलन हुन्छन् । मानव अनुभूतिको केन्द्रविन्दुमा कला तथा समुदाय रहन्छ भन्ने मान्यता राख्ने उनका लागि कला नै समुदाय हो र समुदायलाई नै उनी कृतिका रुपमा लिन्छन् ।

अर्थात् कला र समुदायबीच उनी अन्योन्याश्रित सम्बन्ध देख्छन् । उनका अनुसार एकको अनुपस्थितिमा एक अर्काको अस्तित्व सम्भव छैन । 

एक दशकभन्दा लामो समयदेखि कला सिर्जनमा रहेका उनले यसभन्दा अघि उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयमा आउने शहरको कोठामा सीमित युवा पुस्ताको मनोविज्ञान र अवस्थालाई चित्रण गर्दै कीर्तिपुर शहरलाई आयतकार आकारमा रंगाएका थिए ।

‘फायर एण्ड आइस,’ ‘वाक ओभर मि’ जस्ता आधा दर्जनभन्दा बढी पर्फर्मेन्स कला प्रस्तुतिहरु उनले प्रस्तुत गरिसकेका छन् ।

उनको हालको प्रस्तुति भने विश्वविख्यात कलाकार तथा पर्फर्मेन्स कला विधाकी प्रणेतामध्येकी एक मरिना अब्रामोभिचको पर्फर्मेन्स कलाबाट प्रभावित भएर तयार गरिएको छ । अपरिचित व्यक्तिहरूलाई आफ्नो छेउमा बसाएर चाहे जति समय उनको आँखामा हेर्ने अनुमति दिइएको कलाकार मारिनाको ‘द आर्टिस्ट इज प्रेजेन्ट’ जस्ता कला प्रस्तुतिहरु निकै लोकप्रिय छन् ।

अमृतले यो प्रस्तुति खासमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित रुबिन म्यूजियममा ‘रिइमाजिनस् हिमालयन आर्ट नाउ’ शीर्षकमा प्रत्यक्ष प्रस्तुत गर्ने योजना बनाएका थिए । उता प्रस्तुत नभएपछि उनले नेपालमै प्रस्तुत गरेका हुन् ।

यसलाई मरिना अब्रामोभिच, रुबिन म्यूजियमका क्युरेटोरियल प्रबन्धक मिशेल बनेटे सिमोरेला र काठमाडौँस्थित तारागाउँ म्यूजियमका निर्देशक रोशन मिश्रा सहप्रबन्धन गरेका हुन् । उनको कला प्रस्तुति अवलोकनका लागि अहिले आर्ट काउन्सिलमा कलाकार तथा कलाप्रेमीहरु सहभागी भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?