मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

जिम गर्ने व्यक्तिलाई किन हुन्छ हृदयघातको जोखिम ?

केही वर्षयता युवापुस्तामाझ शारीरिक व्यायामका लागि जिम जाने ट्रेण्ड बढ्दै गइरहेको छ । युवापुस्ता मात्र होइन, ५० वर्ष कटेका वृद्धवृद्धाहरू पनि जिम जाने गर्छन् ।

प्राकृतिक व्यायाम गर्नुको साटो जिम जाने प्रवृत्तिले कतिपयमा समस्या पनि निम्त्याइरहेको छ । नियमित र सामान्य कसरत गर्दा शरीर फिट र स्वस्थ हुने भए पनि ज्यान बनाउन कडा खालको वर्कआउट गरियो भने जटिलता समेत निम्तन सक्ने चिकित्सकहरू बताउँछन् ।

प्रायजसो जिम जाने व्यक्तिहरु मनलाग्दी रुपमा वर्कआउट र डाइट गर्ने गर्छन् । यसकारण जिम जाने व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्या र जटिलताहरु निम्तिरहेका छन् । प्रायजसो जिम गर्दा गर्दै हृदयघातको समस्या हुने गरेको पाइन्छ ।

केही दिनअघि पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको थियो । के जिम जाने व्यक्तिहरूमा हृदयरोगको समस्या निम्तिने हो भन्ने विषयमा जोय नेपालका लागि सुस्मिता फुयाँलले मुटुरोग विशेषज्ञ डा. रञ्जित शर्मासँग कुराकानी गरेकी छिन्:

पछिल्लो समय युवापुस्तामा हृदयघातको समस्या देखिनुको कारण के हो ?

अहिलेको अवस्थाका मानिसमा बढी हृदयघात हुनुको कारण भनेको  युवा अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन तथा मोटोपनाका कारणले यो समस्या बढिरहेको छ । हृदयघात भएर आउने धेरै युवामा चुरोट र सुर्ती सेवनका कारण भएको पाइन्छ ।

चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, तनाबजस्ता कारणले पनि युवा उमेरमा नै हृदयघात हुने गरेको छ । यस्तै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल मोटोपना, हर्मोन, चिल्लो खानापन लगायतका कारणले पनि हृदयघात बढ्दो छ । साथै परिवारमा बाबु, बाजेलाई यस्तो समस्या थियो भने छोराछोरीमा पनि हृदयघातको समस्या हुनसक्छ । अर्थात् वंशाणुगत कारणले पनि हृदयघात हुनसक्छ ।  

जिम जाने व्यक्तिलाई किन हृदयघात हुन्छ ?

जिम जाँदैमा स्वस्थ भइन्छ भन्ने छैन । जिम जाने व्यक्तिहरुले खानपानमा विशेष ध्यान दिन आवश्यक छ । कतिपयले जिम जाने अनि अत्याधिक रुपमा प्रोटिन, डाइटहरु खाने के गर्नुहुन्छ । अनावश्यक मात्रामा खानपिनले गर्दा पनि जिम जाने व्यक्तिहरुमा हृदयघातको समस्या देखिरहेको छ । मसल्स बनाउन भन्दै दिनमा सात–आठ वटै अण्डा खाने, धेरै मात्रामा रातो मासुको सेवन गर्ने गर्दा पनि यस्तो समस्या निम्तिरहेको छ । यसकारण आफूले कति क्यालोरी बर्न गर्ने हो त्यहि अनुसार डाइट मिलाउनुपर्छ ।

मेरो अनुभवको कुरा गर्नुपर्दा २१ वर्षको केटा र २४ वर्षको केटी अर्थात् कलिाला युवा युवतीलाई समेत हृदयघात भएको छ । वर्कआउट गर्ने भनेर जस्तो पायो त्यस्तो तरिका अपनाउनु हुँदैन । वर्कआउट कसरी गर्ने भन्ने तरिका थाहा पाउन आवश्यक छ । अहिलेका युवा अत्यधिक जिमप्रेमी भएका छन् । तर केही गल्तीका कारण मुटु रोगको शिकार बन्छन् ।

आवश्यकताभन्दा गह्रौं व्यायामले शरीर तथा मुटु दुवैमा नकारात्मक प्रभाव पार्छ । यसो हुनुको कारण हामी सबैको शरीरले उस्तै प्रतिक्रिया गर्दैन । मानिसको शरीरले फरक फरक प्रतिक्रिया देखाउँछ । त्यसैले सबैको शरीरले भारी वर्कआउट सहन सक्ने शक्ति हुँदैन ।

कस्ता व्यक्तिहरु जिम गएर गह्रौं भारी उठाउने गर्नु हुँदैन ?

मुख्यकुरा मुटुमा पहिलेदेखि नै दीर्घ रोग छ भने ती व्यक्तिहरुले जिम गर्नुहुँदैन । मुटुमा समस्या भएका मानिसहरुलाई धपेडी गर्दा, गह्रौ भारी उठाउँदा जटिलता निम्तन सक्छ । कतिपय व्यक्तिहरुको फुटबल खेल्दा खेल्दै मृत्यु भयो भनेर पनि समाचारहरु सुनिन्छ । यो के हो भने यदि तपार्इंलाई मुटुमा धेरथोर समस्या पहिल्यै छ भने अत्याधिक व्यायाम गर्ने, धेरै दौडने, ठूलो भारी बोक्ने, स्विमिङ गर्ने जस्ता कामहरु गर्नुहुँदैन । यद्यपि हल्का व्यायाम भने गरिरहनु स्वस्थकर हुन्छ ।

यस्तो समस्याबाट बच्न कस्तो सावधानी अपनाउनुपर्छ ?

प्रमुख कुरा त हामीले उमेरअनुसार खानपिनको तरिका बदल्नुपर्छ । अन्य भनेको ब्लड प्रेसर, कोलेस्ट्रोल, मधुमेह जस्ता स्वास्थ्य समस्या भएका मानिसहरुले सर्तकता अपनाउनुपर्छ र जिम जानु भएन ।

के जिम गएर निरन्तर भारी तौल उठाउँदा मात्रै पनि हृदयघात हुने हो?

भारी तौल उठाउँदैमा हृदयघात हुन्छ भन्ने हुँदैन । अन्य रोगहरु र विशेषगरी मुटुरोग छ भनेमा मात्रै जिममा हृदयघातको सम्भावना रहन्छ ।

जिम गर्ने व्यक्तिको खानपान कस्तो हुनुपर्छ ?

जिम गर्ने व्यक्तिले बाहिरी जंक फुड, चिल्लो पिरो खानेकुरा र बडि–मसल्स बनाउने बहानामा आवश्यकता भन्दा बढी खानेकुराहरुको सेवन पनि गर्नुहुँदैन । जिम गर्ने मानिसले सन्तुलित खाना खानुपर्छ । दुब्लो शरीर भएमा धेरै खानु पर्छ ।

यदि शरीर मोटो छ र तौल घटाउन जिम गर्दै हुनुहुन्छ भने थोरै थोरै खानेकुरा छिटो छिटो खानुपर्छ । यदि मोटाउनु छ भने शक्ति कम खर्च गर्ने र धेरै खाने गर्नुपर्छ । जिम गर्ने मान्छेले सन्तुलित भोजन खाएन भने हड्डी भाँचिने र काम गर्न नसक्ने हुन्छ । दौडिन नसक्ने, एकदम चाँडै थाक्ने जस्ता असरहरु देखिन सक्छ । त्यसैले जिम गर्न शुरु गरेदेखि नै नियमित रुपमा सन्तुलित भोजन खानुपर्छ । जिम गर्न शुरु गरेपछि शरीर दुब्लो पातलो जस्तो भएपनि प्रोटिन युक्त खानेकुरा खानुपर्छ । कार्बोहाइड्रेड भएका खानेकुरा जस्तै दाल, भात, तरकारी भन्दा पनि प्रोटिन युक्त खानेकुरा जस्तै मासु, राजमा, चना, अण्डाको सेतो भाग आदि खानुपर्छ ।   

जिम गर्दा हामीले अन्य कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?

ट्रेड मिल अथवा अन्य कुनै कार्डियो एक्सरसाइजमा एक पटकमा १० मिनेटभन्दा बढी समय बिताउनु हुँदैन । प्रत्येक कार्डियो एक्सरसाइजपछि २ देखि ५ मिनेटको ब्रेक आवश्यक हुन्छ । यसो गर्दा मुटुलाई केही क्षण आराम प्राप्त हुन्छ । ट्रेनरको सल्लाहको हिसाबले नै वर्कआउटको अवधि निर्धारण गर्नुपर्छ ।

आवश्यकभन्दा बढी व्यायाम शरीरका लागि घातक हुन्छ । यदि छातिको देब्रे भागमा कुनै किसिमको पीडा महसूस भयो भने तुरुन्त व्यायाम गर्न बन्द गर्नुपर्छ र चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?