मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सत्यजीत राय: एकपछि अर्को जीवन्त फिल्म दिएका भारतीय निर्देशक

काठमाडौँ– कलाकारिता क्षेत्रलाई नजिकबाट नियाल्नेमध्ये सत्यजीत रायको नाम नसुन्ने निकै कम होलान् । प्रत्यक्ष रुपमा नदेखे पनि धेरै कलाकार उनको फिल्म र जीवनीसँग परिचित छन् । अझ फिल्मी क्षेत्रमा आफ्नो करिअर बनाउन चाहनेका लागि उनको जीवन, संघर्ष र सफलतालाई अध्ययन कै सामग्री हुन्छ ।

भारतको कलकत्तामा सन् १९२१ मा बंगाली परिवारमा जन्मेका सत्यजीतको पहिचान निर्देशक, स्क्रिप्ट लेखक, चित्रकार, डिजाइनर, फिल्म समीक्षक, गायक तथा निर्माताको रुपमा स्थापित छ । उनले धेरै फ्लिम पनि बनाएका होइनन् । आफ्नो जीवनकालमा उनले करिब ३० वटा मात्रै भारतीय चलचित्र बनाए ।

तर, उनले थोरै भएपनि उत्कृष्ट फिल्म बनाए । आफ्ना फिल्मका लागि उनले करिब तीन दर्जनभन्दा बढी अवार्ड र पुरस्कारबाट समेत सम्मानित भए ।

उनको पारिवारिक पृष्ठभूमि नै कलाले भरिएको थियो । उनको बुबा सुकुमार राय लेखक, साहित्यकार तथा कलाकार थिए भने हजुरबुबा उपेन्द्र किशोर राय चौधरी पनि लेखक, चित्रकार, दार्शनिक, प्रकाशक र खगोलविद् थिए । तर सत्यजीत करीब तीन वर्षको हुँदा उनको बुबा सुकुमार रायको निधन भयो । जुन बेला उनका बुबा करीब ३५ वर्षका थिए ।

बुबाको निधनपछि उनको जीवनयापन सहज भने थिएन । सामान्य परिवारमा जन्मेका उनी बुबाको मृत्युपछि थप मारमा परे । आमा सुप्रभा रायको जागीरको भरमा उनको बाल्यकाल बितेको थियो । सानैदेखि ललितकलामा रुचि भएका उनले कलकत्ताकै प्रेसिडेन्सी कलेजमा अर्थशास्त्र पढे । आमाको आग्रहमा उनले थप अध्ययन विश्व भारती विश्वविद्यालयबाट गरे ।

शान्ति निकेतनमा उनले नन्दलाल बोस र विनोद बिहारी मुखर्जीजस्ता चित्रकारबाट धेरै सिक्ने अवसर पाए । पछि उनले मुखर्जीको जीवनीमा आधारित ‘द इनर आई’ नामक वृत्तचित्र बनाएका थिए ।

विज्ञापन एजेन्सीको जागिर

ललितकलामा सानैदेखि रुचि राख्ने सत्यजीत रायले विज्ञापन एजेन्सीबाट जागीरको शुरुवात गरेका थिए । २२ वर्षको हुँदादेखि उनले जागीर खान थालेका थिए ।

विश्वविद्यालयको पढाइ छोडेर उनले ब्रिटिश विज्ञापन एजेन्सीमा काम थालेका थिए । जुनियर भिजुअलाइजरको पदमा काम गरेका उनले मासिक ८० भारतीय रुपैयाँ पारिश्रमिक पाउँथे । केही समय काम गरेपछि उनी त्यहाँबाट राजीनामा दिएर निस्किए ।

त्यसपछि उनले प्रिन्टिङ प्रेसमा काम थालेका थिए । त्यहाँ उनको जिम्मेवारी प्रेसबाट प्रकाशित हुने पुस्तकको कभर डिजाइन गर्नु थियो । उनले प्रेसमा प्रकृतिविज्ञ जिम कोर्बेटको ‘म्यान इटर अफ कुमाउँ’ र जवाहरलाल नेहरुको ‘डिस्कभरी अफ इन्डिया’ लगायतको पुस्तकहरुको कभर बनाएका थिए । यसका साथै रायले बङ्गाली भाषाका पथेर पाञ्चाली लगायत प्रख्यात उपन्यासमा काम गर्ने मौका पाए ।

कभर निर्माणका क्रममा उनलाई विभिन्न उपन्याससँग परिचित हुने अवसर मिल्यो । कभर निर्माणसँगै उनले उपन्यासबाट फिल्ममा पनि काम गरे । यसका साथै उनले आफ्नै पहलमा राय रोमन र राय बिजार नाम गरेका दुई वटा टाइपफेस समेत निर्माण गरेका थिए ।

सन् १९५० मा कामको सिलसिलामा सत्यजीत लण्डन पुगेका थिए । लण्डनमा करीब तीन महिना बस्दामा उनले ९९ वटा फिल्म हेर्न भ्याए । तीमध्ये उनी अत्यन्त प्रभावित भएको फिल्म थियो, भिटोरियो डे सिकाको ‘लड्री डि बाइसिकेलेट’ (साइकल चोर)’ । ‘लड्री डि बाइसिकेलेट’ ले नै उनलाई फिल्म निर्देशक बन्ने प्रेरणा दिएको थियो ।

फ्रान्सेली फिल्म निर्देशक जीन रेनोइस एक पटक कोल्कातामा फिल्मको सुटिङ गर्न पुगेका थिए । सोही क्रममा सत्यजीत र उनको भेट भयो । सुटिङको लागि उपयुक्त ठाउँको खोजीमा रहेका उनलाई सत्यजीतले सहयोग गरे ।

उनले पनि आफूलाई फिल्म ‘पाथेर पाँचाली’ बनाउने रहर र आइडिया रहेको बताए । निर्देशकले उनलाई आवश्यक हौसला र सहयोग समेत गरे ।

पहिलो फिल्मबाट मिलेको सफलता

बहुप्रतिभाशाली सत्यजीत रोयको पहिलो फिल्म हो ‘पथेर पाञ्चाली’ । यो एउटा उपन्यास हो । जुन बंगाली गाउँको केटा हुर्केको कथासँग सम्बन्धित छ । सो उपन्यास विभूति भूषण बन्दोपाध्यायले लेखेका हुन् ।

लामो समयदेखि सो फिल्म बनाउने सपना बोकेर हिँडेका सत्यजीतले लण्डनदेखि भारतसम्मको सामुन्द्रिक यात्राका रुपरेखा तयार पारेका थिए । सत्यजीतको यो फिल्ममा सबै नयाँ अनुहार मात्रै थिए । पैसाको अभाव भए पनि अन्ततः उनले सन् १९५२ बाट फिल्मको छायांकन थालेका थिए । तर, पैसाको कमी भएको उनको फिल्मले चाँडै पूर्णता पाउन सकेन तर सन् १९५५ मा भारत सरकारले उनलाई केही ऋण सहयोग गर्‍यो । त्यसपछि बल्ल उनको फिल्म निर्माण पूरा भयो ।

सोही वर्ष रिलिज भएको फिल्मले राम्रै चर्चा बटुल्यो । भारतमा मात्रै नभई अमेरिकामा पनि यो फिल्म राम्रोसँग चल्यो । पहिलो फिल्मबाटै सफलता हासिल गरेका सत्यजीतले सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रिया पाए । जुन उनको लागि हौसला थियो । त्यसपछि उनले कहिल्यै पनि फर्केर हेर्नु परेन ।

उनको दोस्रो फिल्म थियो ‘अपराजितो’ । यो फिल्मबाट उनको अन्तर्राष्ट्रिय करिअरको पनि शुरुवात भयो । फिल्ममा एक युवा र उनकी आमाको आकांक्षाको बारेमा चित्रण गरिएको थियो । दोस्रो फिल्मबाट उनी पुन सफल मात्रै भएनन् अवार्ड पनि जिते ।

सो फिल्मले ‘भेनिस फिल्म फेस्टिभल’ मा गोल्डेन लायन अवार्ड जितेको थियो । यसको साथै पहिलो फिल्मको तुलनामा निकै राम्रो भएको प्रतिक्रिया समेत पाएका थिए । उनले एक पछि अर्को सफल फिल्म बनाए । उनले करिब तीन दर्जन फिल्म बनाए ।

सफलताको रहस्य

सत्यजीत रायको सफलताको लागि आफ्नै शैली र रहस्यहरु छन् । फिल्म बनाउने उनको शैली अरुभन्दा भिन्न मानिन्छ । उनी प्राकृतिक हिसाबमा फिल्मको दृश्यहरु कैद गर्दथे । प्राकृतिक उज्यालोको प्रयोग गर्दथे । यस्ता कार्य उनले अंग्रेजी फिल्महरुबाट सिकेका थिए ।

प्राकृतिक उज्यालो कम भएमा मात्रै उनी वैकल्पिक बत्तीहरुको प्रयोग गर्दथे । उनले सुटिङमा ब्लकिङ, लाइट र कम्पोजिशनमा ध्यान दिन्थे । फ्रेम, कलाकारको अभिनय र सामग्रीलाई ध्यान दिन्थे । प्राकृतिक प्रकाशको प्रयोग गर्थे । सन लाइट र रिफलेक्टरको प्रयोग गर्थे ।

उनको फिल्ममा व्यावसायिकभन्दा पनि गैर व्यवसायिक कलाकारको अभिनय धेरै हुन्थ्यो । उनीहरुलाई सरल बनाउनका लागि केही फिल्मको पात्रसँग डुबाउने प्रयास गर्थे । सामाजिक वास्तविकता झल्काउने, सामान्य व्यक्ति जस्तो देखिने प्राकृतिक अभिनय गराउथे । कलाकारसँग लामो समयसँग घुलमिल गरी क्यामेराको अगाडि सामान्य बनाउँथे ।

उनका हरेक फिल्मको लेखन र निर्देशनमा फरकपन हुन्छ । यति मात्रै होइन उनी प्रविधिमैत्री पनि थिए । उनी क्यामेरा र क्यामेराको लेन्सको बारेमा जानकारी लिने गर्दथे । कुनबाट कसरी सुट गर्ने भन्नेबारे उनलाई जानकारी लिन्थे ।

आफैँ क्यामेरा चलाउँथे । त्यसैले पनि उनले कम बजेटमा पनि गुणस्तरीय फिल्म बनाउन सफल भए । अंग्रेजी फिल्म हेरेर, किताब पढेर तथा अङ्ग्रेजी डकुमेन्ट्रीबाट धेरै ज्ञान लिन्थे । आफूसँग भएको साधनको प्रयोग गरी चाहेको दृश्य खिच्थे ।

तीन दर्जन फिल्मबाट ३२ वटा अवार्ड

सत्यजीत रायले जति फिल्म बनाए सोही संख्यामा अवार्ड पनि सफल भए । उनले आफ्नो करिअरमा ३६ वटा फिल्म निर्माण गरे ।

उनले पहिलो फिल्म ‘पाथर पाञ्चल’ बाट नै ११ वटा अवार्ड जितेका थिए । उनले अक्सफोर्ड युनिभर्सिटीले मानार्थ डक्टरेट उपाधि, दादासाहे फाल्के अवार्ड, भारत देशको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’लगायत विभिन्न अवार्डबाट सम्मानित भएका थिए ।

उनले क्रियाशील हुँदा मात्रै नभई मृत्युपर्यान्तसम्म पनि अवार्ड जितेका थिए । उनले ‘ओस्कर लाइफ टाइम एचिभमेन्ट अवार्ड’ जितेका छन् । जुनबेला उनी अस्पतालको बेडमा उपचारको क्रममा थिए । यो अवार्ड जित्ने उनी एकमात्र भारतीय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?