काठमाडौँ– नेपाली साहित्य एवम् कला क्षेत्रका मूर्धन्य सर्जक लैनसिंह बाङ्देलको भौतिक शरीर यतिबेला हामीमाझ छैन ।
भौतिक रुपमा विदा भएको २२ वर्षपछि लाजिम्पाटस्थित ताक्पा ग्यालरीमा ‘लैन बाङ्देलः माई डेभोसन टु आर्ट’ शीर्षकमा उनका चित्रकला प्रस्तुत गरिएका छन् । भदौ २३ गतेदेखि असोज ६ गतेसम्म जारी रहने कला प्रदर्शनीमा बाङ्देलका २१ वटा उत्कृष्ट चित्रकला प्रदर्शनरत गरिनेछन् ।
प्रदर्शनीमा बाङ्देलले युरोप अध्ययनदेखि नेपाल प्रवेश गरेपछि सिर्जना गरेका अमूर्त कलाकृति अवलोकनका लागि राखिएका छन् । सन् १९५३–१९५७ ताका न्युड सिरिजमा तेल रङका माध्यममा तयार गरिएका प्रदर्शनीमा छन् ।
सन् १९५७ मा तयार गरिएको उनको ‘मुना मदन’ चित्र होस् या सन् १९६४ देखि सन् १९६६ ताका बनाइएका नेपाली महिलाहरू चित्रण गरिएका सिर्जना, सन् १९७९ मा ‘मदर नेपाल’ शीर्षकमा तयार गरिएको चित्रमा नेपाली भूमिप्रतिको प्रेमभाव र चिन्ता अभिव्यक्त भएका छन् ।
उनले ल्याण्डस्केपमा प्रकृतिको चित्रण होस् या मानव न्युड शरीर, फिगर, मुहार चित्र एवं अमूर्त सिर्जनामा सौन्दर्यसँगै गहन अर्थहरू खोजी गरेको पाइन्छ ।
वि.सं. १९८१ पुस ६ गते (१९२४ डिसेम्बर २१) मा दार्जीलिङमा पिता रङ्गलाल र माता चन्द्रमाया बाङ्देलको सन्तानका रुपमा जन्मिएका उनको पुर्ख्यौली थलो भने खोटाङको रावाखोलामा हो ।
दार्जिलिङमा जन्मिएर अध्ययनकै सिलसिलामा कलकत्ता हुँदै फ्रान्सको पेरिस र लण्डन पुगेका बाङ्देलले पछि नेपाललाई नै कर्मथलो बनाए । नेपालको आधुनिक कला क्षेत्रको विकासक्रममा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
बाङ्देल साहित्यिक फाँटमा पनि उत्तिकै लोकप्रिय छन् । उनको उपन्यास ‘लङ्गडाको साथी’ लोकप्रिय उपन्यासमध्ये एक हो । लेखनमार्फत नेपाली साहित्यिक क्षेत्रलाई योगदान पुर्याएका बाङ्देलले विशेषत नेपाली चित्रकला र मूर्तिकला संरक्षण तथा सम्वर्धनमा पनि जोड दिए ।
दार्जिलिङको चिया बगान र प्रकृतिको सौन्दर्यमा उनले कलाका रुपरङ्गहरु अनुभूति गरे । हजुरआमाले सुनाउने नेपालको वर्णन र कथाले उनमा त्यतिबेला नै पुर्ख्यौली भूमिप्रति प्रेम बसेको थियो । स्कूले जीवनमा नै चित्र सिर्जनामा उनले आफ्नो अभिरुचि देखाएका थिए ।
त्यसपछि कलकत्ताबाट ‘गभरमेन्ट कलेज अफ आर्टस् एन्ड क्राफ्ट’बाट स्नातक गरेका उनले आफ्नो कलाको दायरा फराकिलो बनाउँदै लगे । उनले पेरिसमा ‘इकोल दे बक्स आर्टस्’मा चार वर्ष कलासम्बन्धी अध्ययनकै क्रममा त्यहाँको कला माहोललाई बुझे ।
त्यसपछि केही समय लण्डनमा आर्ट निर्देशकका रूपमा समेत काम गरे । युरोप जस्तो शहरको बसाइँको क्रममा समेत उनले कलामा नेपाली मौलिकता, सौन्दर्य र समाजलाई चित्रण गरि नै रहे ।
उनले युरोप बसाइँकै क्रममा नेपालका विशिष्ट व्यक्तिहरूसँग भेट्ने अवसर पाएका थिए । सन् १९५६ मा नेपाल सरकारमार्फत फ्रान्स सरकारले दिने छात्रवृत्ति प्राप्त गरेकाले पनि नेपालसँग उनको घनिष्टता अझै बढेको थियो । पछि वि.सं. २०१७ सालमा राजा महेन्द्रको अनुरोधमा उनी नेपाल आएका थिए ।
राजा महेन्द्रकै अनुरोधमा उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका थिए भने उनकी पत्नी मुनकुमारी थापा बाङ्देल प्रसूति गृहमा भर्ती भएकी थिइन् । त्यसपछि बाङ्देल वि.सं. २०३० मा प्रतिष्ठानमा उपकुलपति र २०३५ र २०४० मा गरी दुईपटक कुलपति भए ।
युरोपको जर्मनी, फ्रान्स र ब्रिटेनलगायतका देशमा उनले पाँच पटकसम्म एकल चित्रकला प्रदर्शनी गरेका उनले आफ्नो पहिलो कला प्रदर्शनी भने फ्रान्सको पेरिस र जर्मनीको स्टुडगार्डमा गरेका थिए ।
अन्तर्राष्ट्रिय स्तरमा कलामार्फत उनले आफू मात्र नभएर नेपाली कला क्षेत्रको समेत पहिचान स्थापित गरे । साहित्यकार र कला क्षेत्रका सर्जकहरु भनेको समाजको चेतना प्रभाव गर्ने माध्यमका रुपमा लिने उनले समाजको यथार्थ सत्यलाई कलामार्फत उजागर गर्ने काम गरे ।
चाहे त्यो साहित्य सिर्जना होस् या ललितकलामा उनले त्यसलाई आफ्ना सिर्जनामा उतारेका छन् ।
नेपाल आएपछि ललितकलामा क्षेत्रमा उनले अमूर्त कला विधामा जोड दिए । पेरिस अध्ययनकै क्रममा विश्वप्रसिद्ध कलाकार पाब्लो पिकासो र उनको कलाको अवलोकन गरेका उनी पिकासोको सिर्जना कर्मबाट निकै प्रभावित भएका थिए ।
लण्डनमा रहेको समयमा कला हेर्ने दृष्टिकोणमा अझै फराकिलो भएका उनले अमूर्त कलाको आयामलाई खोतलेका थिए । नेपाल आएपछि उनले रङ चिन्तन र सिर्जनालाई झनै अगाडि बढाए ।
नेपालमा तत्कालीन समयमा गेहेन्द्रमान अमात्य, उर्मीला उपाध्याय जस्ता कलाकारहरुले शुरु गरेको आधुनिक कलाको बाटोलाई बाङ्देलले अझै परिस्कृत गरेर निरन्तरता दिने काम गरे ।
त्यसैले नेपालको आधुनिक कलाको फड्कोमा उनको नाम अग्र स्थानमा आउँछ । ‘स्टोलन इमेज अफ नेपाल,’ ‘प्राचीन नेपाली चित्रकलाको इतिहास,’ ‘प्राचीन नेपाल मूर्तिकलाको इतिहास’ जस्ता उनले लेखेका पुस्तकबाट विदेश पुगेका कैयौँ प्राचीन मूर्तिहरू स्वदेश फिर्ता भएका छन् भने अमेरिका र युरोपसम्म नेपाली प्राचीन कला अध्ययनको विस्तार भएको छ ।
नेपाली साहित्य फाँटमा समेत उनको स्थान उँचो छ । कलकत्ताको बसाइमा नै उनले ‘मुलुकबाहिर,’ ‘माइतघर,’ ‘लङ्गडाको साथी,’ ‘रेब्रान्ट’ जस्ता उपन्यासहरु लेखिसकेका थिए । वि.सं.२००२ मा बाङ्देलले बाह्रवटा विश्वप्रसिद्ध कथाहरूको नेपाली अनुवाद ‘विश्वकथा संग्रह समेत प्रकाशित गरिसकेका थिए ।
‘युरोपका चिठ्ठी,’ ‘स्पेनका सम्झना,’ ‘रोमको एउटा फूल र प्यारिसको एउटा काँडा’ उनका यात्रा संस्मरणका कृतिहरु हुन् । ‘मुलुक बाहिर म’ शीर्षकमा उनको जीवनका विभिन्न पक्षमाथि लेखिएको दैनिकी शैलीको पुस्तक उनको निधनपछि प्रकाशित भएको हो ।
वि.सं. २०५९ असोज २० गते ललितपुरको सानेपामा बाङ्देलको निधन भएको थियो । त्यसपछि उनका सिर्जनालाई संरक्षण गर्ने काम उनकी छोरी डिना बाङ्देलले गर्दै आएकी थिइन् । उनको पनि निधन भएपछि बाङ्देलका सिर्जनालाई सम्हाल्ने पुस्ता छैनन् भन्ने आम कलाप्रेमीहरुलाई महसूस भइरहेको समयमा उनका ज्वाइँ विभाकर सुन्दर शाक्य र नाती देवेन बाङ्देल शाक्यको पहलमा अहिलको कला प्रदर्शनी गरिएको हो ।
बाङ्देलका प्रदर्शित सिर्जना बिक्रीका लागि नभएर पछिल्ला कला सिर्जनामा लागेका र कलाप्रेमी पुस्तालाई देखाउन प्रदर्शनी गरिएको ग्यालरीका निर्देशक टासी छिरिङले बताए ।
उनका अनुसार ग्यालरीमा बाङ्देलका कला सिर्जना अवलोकनका लागि कला क्षेत्रका अग्रजदेखि अनुज पुस्ताहरु समेत सहभागी भइरहेका छन् । आधुनिक कला क्षेत्रमा बाङ्देलले पछ्याएको नयाँ धार र शैलीले नयाँ पुस्तामा कला सिर्जनामा नौलो आयाम थप्ने प्रेरणा मिलोस् भन्ने प्रदर्शनीको उद्देश्य रहेको निर्देशक टासीले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया