सामान्यतया मानव जीवनमा गर्भ रहेको नौ महिनापछि शिशुको जन्म हुन्छ । जन्मपश्चात् शिशुको शारीरिक र मानसिक विकास दिनप्रतिदिन हुँदै जान्छ । यसरी विकास हुने क्रममा कोही छिटो हिँड्न सक्ने हुन्छन् भने कतिपय बालबालिकाको विकासक्रम केही ढिलो हुन्छ ।
बालबालिकाको बोल्ने, हिँड्ने, खाने, अरुसँग घुलमिल हुने लगायत विविध पक्षको विस्तारै विकास हुँदै जान्छ । कतिपय बालबालिकाले छिट्टै बोल्न सिक्छन् भने कतिपयलाई निश्चित उमेरमा पनि कम बोल्ने वा बोल्न अलि ढिलो गर्छन् ।
आखिर किन बालबालिका ढिला बोल्छन् र वास्तवमा बालबालिकाको बोली फुट्ने उमेर कुन हो भन्नेमा धेरै अनभिज्ञ छन् । यस विषयमा जोय नेपालका लागि सुस्मिता फुयाँलले बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँसँग कुराकानी गरेकी छिन् ।
कतिपय बालबालिका हुर्किँदै गर्दा ढिलो बोल्ने हुन्छन् । यसले अभिभावकलाई पनि चिन्ता थपिदिएको हुन्छ । बालबालिका कुन उमेरबाट बोल्न थाल्छन्?
सामान्यतया शिशुमा जन्मिएको ३/४ महिनादेखि नै तोतेबोली निस्कन्छ । बच्चा नौ महिनाको भएपछि बा, आमामा जस्ता छोटा शब्दहरु उच्चारण गर्न थाल्छन् र आफ्ना आमाबाबा चिन्ने हुन्छन् । यस्तै १८ महिना पुगेपछि आधा वाक्य बोल्न थाल्दछन् यसैगरी उमेरसँगै बच्चाहरु पूर्ण वाक्य बोल्न थाल्छन् ।
किन र के कारणले गर्दा केही बालबालिका ढिलो बोल्छन् ?
पहिलो भनेको ९ महिना पूरा नपुग्दै जन्मिएका बालबालिकाले ढिलो बोल्न शुरु गर्न सक्छन् । समयपूर्व जन्मिएका बच्चालाई बोल्न मात्रै समस्या हुँदैन । उनीहरूमा ढिलो सुन्ने र अन्य सीप पनि ढिलो विकास हुन्छ । यस्तै अर्को भनेको कानको संक्रमणका कारण पनि बच्चाहरुले बोल्न सकिरहेका हुँदैनन् ।
कतिपय बालबालिका जन्मेपछि कानको संक्रमणबाट पीडित हुन्छन् उनीहरुको सुनाइमा समस्या हुनसक्छ । यस्ता बालबालिकाको बोल्ने क्षमतामा ठूलो असर पर्छ । यस कारणले गर्दा बच्चा ढिलो बोल्न सक्छ । यस्तोमा उसको कान जाँच गर्नुपर्छ ताकि उसको बोल्ने क्षमता विकास होस् । कतिपय बालबालिकालाई जन्मदेखि नै कतिपय कुरा बुझ्न र सुन्नमा कठिनाइ हुन्छ । जसकारण उनीहरू ढिलो बोल्न सक्छन् ।
किनभने उनीहरूले बोलेको बुझ्दैनन् र प्रतिक्रिया दिन पनि सक्दैनन् । साथै केही शिशुहरुमा भने आँखाको समस्याका कारणले पनि प्रष्ट बाहिरी वातावरणलाई नियाल्न नसकेर बोल्न सकिरहेका हुँदैनन् । कहिलेकाहीँ बच्चा ढिलो बोल्नुको कारण अटिजम पनि हुन सक्छ ।
यस अवस्थाबाट पीडित बालबालिकालाई बोल्न, बुझ्न र बुझाउन गाह्रो हुन्छ । अटिजम डिसअर्डरबाट पीडित बालबालिकालाई राम्रो हेरचाह चाहिन्छ ।
यदि बच्चा उचित उमेरमा बोलेको छैन भन्ने लाग्छ र ढिलो भयो भन्ने लाग्छ भने अस्पताल गएर परीक्षण गर्नुपर्छ । कहिलेकाहीँ यो समस्याको कारण न्युरोलोजिकल अक्षमता हुनसक्छ । यस्तो अवस्थामा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ ।
कुन उमेरसम्म पनि बच्चाले बोल्न थालेनन् भने जटिल समस्या बन्न सक्छ ?
दुई वर्षको उमेरसम्म पनि बच्चाको बोली आएको छैन भने चिकित्सकसँग परामर्श लिन आवश्यक छ । यदि शिशुका अन्य सबै हिँडाइ, हाउभाउ, परिवारसँगको घुलमिल लगायत सबै कुरा सामान्य छ र यदि बोली मात्रै आएको छैन भने यो अवस्थामा समस्या उत्पन्न हुनसक्छ । तर यदि शिशुको सबै वृद्धि विकास ढिला नै भइरहेको छ भने बोली ढिला आयो भनेर आत्तिनुपर्ने अवस्था रहँदैन ।
यस्तो अवस्थामा अभिभावकहरुले ध्यान दिनुपर्ने कुराहरु के–के छन् ? अभिभावकको भूमिका कस्तो रहन्छ ?
अभिभावकहरुले ध्यान दिनुपर्ने कुराहरु भनेको आफ्नो शिशु उमेरअनुसार वातावरणसँग कत्तिको घुलमिल भइरहेको छ, बोल्ने हिँड्ने कुरामा कत्तिको सक्रिय छ भन्ने विषय हो । साथै यदि तपार्इंको बच्चा अन्य बच्चासरह राम्ररी बोल्न सकिरहेको छैन भने अधिकतम समय शिशुसँग बिताउन आवश्यक हुन्छ ।
शिशुसँग बोलिरहने, बोलाइरहने गर्नु आवश्यक हुन्छ । यदि अभिभावक शिशुका यस्ता कुराहरुमा चनाखो हुनुभएन भने शिशिुको वृद्धि विकासमा झन ढिलाइ हुनसक्छ । जति छिटो समस्या निदान भयो त्यसको उपचार पनि त्यति नै प्रभावकारी हुन्छ । आवाजप्रति बच्चाले कुनै प्रतिक्रिया दिँदैन र केही बोल्दैन भने अभिभावकले ध्यान दिनुपर्छ । विद्यालयमा बालबालिकाले देखाउने व्यवहार र उसको क्रियाकलापमा पनि अभिभावकले ध्यान दिनुपर्छ र शिक्षकलाई जानकार गराउनुपर्छ ।
समयमा बोली नफुटेको शिशुमा भविष्यमा अन्य केही समस्या देखिन सक्छन् ?
बोली नफुटेको शिशुमा यस्तो रोग लाग्ने र बोली प्रष्ट आएको शिशुमा अर्कै समस्या देखिने भन्ने हुँदैन । बोली नफुटेकै कारण त्यस्तो केही जटिलता पनि निम्तदैनन् ।
यसको उपचार विधि के छ ?
पहिलो कुरा त बच्चाले किन बोल्दैन भन्ने समस्याको कारण पत्ता लगाउनुपर्छ । समयमै उपचार गरे बालबालिकामा हुने सुनाइको समस्या ६० प्रतिशतसम्म रोकथाम गर्न सकिन्छ । कानको भित्री जालीमा समस्या भने त्यसको उपचार हुन्छ । उपचारबाट मात्र पनि नहुन सक्छ । त्यस्तो अवस्थामा स्पिच थेरापी गराउन सकिन्छ । बालबालिकाको उपचार, आवश्यकता र उमेर अनुसार उपचार गर्न सकिन्छ । यसको मुख्य उपचार भनेको नै स्पिच थेरापी हो ।
बच्चाले ढिला बोल्नुमा वंशाणुगत कारण पनि हुन्छ ?
यस्तो समस्यामा वंशाणुगत कारणको सम्बन्ध हुँदैन । कतिपयले भन्ने गर्नुहुन्छ बच्चाको मामा, अथवा बुवाको पनि बच्चा बेलामा बोली ढिला आएको थियो अथवा तोते, लरबराएको थियो भने बच्चामा पनि हुन्छ । तर यस्तो विलकुल हुँदैन । यो वंशाणुगत समस्या होइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया