काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी चर्चामा आइरहन्छन् । उड्डयन प्राधिकरणमा प्रदीपले महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभन्दा अघि उक्त पदमा को छ भन्ने पनि धेरैलाई थाहा हुँदैनथ्यो । तर, उनी आएपछि प्राधिकरणको चर्चा नै बेग्लै छ । सातौँ तहबाट सरकारी जागीर शुरु गरेका प्रदीप छोटो समयमा नै प्राधिकरणको महानिर्देशक पदमा पुग्न सफल भएका छन् ।
प्रदीपको जीवनलाई सरसर्ती हेर्दा लाग्छ, उनले कहिल्यै पनि फेल हुनु परेन । स्कूल पढ्दादेखि नै अध्ययनमा निकै तेजिला प्रदीप जहिले पनि प्रथम हुन्थे । स्कूलदेखि डिग्रीसम्म सधै ‘टपर’ हुने कमैमध्ये प्रदीप पनि एक हुन् ।
सरकारी सेवामा प्रवेश गरेको छोटो समयमै महानिर्देशकको पद सम्हाल्न पुगेका प्रदीप चार वर्षे कार्यकालपछि सरकारी सेवाबाट ‘रिटायर्ड’ हुँदैछन् । विद्यालय तथा कलेजमा सधैँ प्रथम भएको बताउने प्रदीपले जहाँ हात हाले, त्यहाँ सफलता पाएकै छन् ।
जोय नेपालसँगको कुराकानीमा आफ्ना जीवनका विभिन्न किस्सा सुनाउँदै प्रदीप भन्छन्, ‘सङ्घर्षका दिनहरूलाई सामान्य रूपमा लिने हो भने म सधै सफल नै भएँ । असफलताको स्वाद चाख्नै पाइएन ।’
यसको रहस्य कर्मप्रतिको लगाव, कडा मेहनत र तेजिलो स्मरण शक्ति भएको प्रदीप बताउँछन् ।
नागरिक उड्डयन प्राधिकरणमा जागीरे भएपछि उनले मनाङ, मुगु, पोखरा लगायतका विभिन्न स्थानका विमानस्थलको जिम्मेवारी सम्हालेको अनुभव बटुलेका छन् । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि पोखरामा अलपत्र अवस्थामा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि उनको योगदान उत्तिकै छ ।
हक्की स्वभावका प्रदीपलाई विभिन्न राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गराउन काम लगाउने गरेको तर आफूले नियमभन्दा बाहिर रहेर कुनै पनि काम नगरिदिने हुँदा कहिलेकाहीँ आफूलाई विवादमा तान्ने गरेको बताउँछन् ।
‘म यदि नियममा छैन भने चाहे नेताले भनोस्, या अरु कसैले शक्ति प्रयोग गर्न खोजोस्, त्यो कुरामा म सहमति जनाउँदिन, मेरो यही स्वभावका कारण कतिपय मन्त्री र कर्मचारीसमेत मसँग रुष्ट छन्,’ उनी भन्छन् ।
‘राजनीतिक नेतृत्वलाई जनताले हामीलाई जिताएको भन्ने छ, कर्मचारीलाई पनि हामीले मेहनत गरेर आएका हौँ भन्ने छ । शक्तिमा हुनेले पदको दुरुपयोग गरेर फाइदा लिन खोज्छन्, मैले त्यसो गर्नु हुन्न भन्ने अडान लिन्छु, त्यसपछि बदनाम गराउन खोजिन्छ ।,’ उनी गुनासो गर्छन् ।
महानिर्देशक भइसकेपछि नेपालको हवाइ क्षेत्र र विमानस्थलको जिम्मा लिएका प्रदीप विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको हवाइ सुरक्षाबारे आफ्ना तर्क जोडतोडका साथ राख्छन् । उनले केही समयअघि अमेरिकामा आयोजना गरिएको एक कार्यक्रममा युरोपेली युनियन (ईयू) ले नेपाली हवाइ क्षेत्रलाई कालोसूचीमा राख्दा विश्वभर नै नकारात्मक सन्देश गएको भन्दै आपत्ति जनाएका थिए ।
हक्की स्वभाव र युवा जोश जाँगर भएका प्रदीप सानोमा भने महानिर्देशक बन्छु भन्ने कल्पना नगरेको सुनाउँछन् । स्नातकोत्तर अध्ययन गर्ने बेलासम्म पनि नागरिक उड्ड्यन प्राधिकरणमा पनि इन्जिनियरले जागीर खान्छन् भन्ने आफूलाई समेत थाहा नभएको उनी बताउँछन् ।
विद्यार्थी उमेरमा प्रदीप जहाँ पुग्थे, त्यहीँ उत्कृष्ट बन्थे । उनी अध्ययनमा मात्र उनी उत्कृष्ट थिएनन् । त्योसँगै फुटबल, भलिबल लगायतका खेलमा पनि उनी उत्तिकै अब्बल थिए ।
दुईवटा नेपाली फिल्ममा समेत अभिनय गरेका प्रदीपले एउटा म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । अभिनय क्षेत्रमा समेत रुचि राख्ने प्रदीप जागीरपछि कार्य व्यस्तताले गर्दा अभिनयमा सक्रिय हुन नपाएको बताउँछन् ।
भन्छन्, ‘मलाई अभिनय क्षेत्रमा पनि रुचि त थियो तर कार्य व्यस्तताले कहिले कता कहिले कता भइयो, त्यता सक्रिय हुने अवसर नै जुटेन ।’
चितवनको चैनपुरमा जन्मिएका प्रदीपले त्यहीँको स्कूलमा प्राथमिक तहसम्मको अध्ययन गरे । उनी पढ्नमा सानैदेखि मेधावी थिए । त्यहाँ पढ्दा पनि उनी हरेक कक्षामा प्रथम हुन्थे ।
‘मैले त्यहाँको राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययन गरेँ, कक्षा एकदेखि पाँचसम्म सधैँ प्रथम नै भएँ,’ उनी भन्छन् ।
गाउँमा पढाइका अलावा उनले नाटकमा अभिनय गर्ने, गाउँतिर हुने मेला र जात्रामा जाने, घरको काम गर्ने पनि गरे ।
‘हाम्रो समाजमा फरक समुदायका मानिसहरु थिए, गाउँमा मेलाहरू आयोजना हुन्थे, त्यहाँ पनि पुगिएकै हुन्थ्यो,’ उनी भन्छन् ।
आफूले सानै उमेरमा दोहोरी गाउने र गीत पनि स्वरमा स्वर मिलाएर गाउने गरेको उनी बताउँछन् । उनी मुस्कुराउँदै आफ्नो बाल्यकाल सम्झिन्छन्, ‘गाउँमा हुँदा पनि नगरेको केही बाँकी रहेन, घरको कामदेखि बाहिर डुल्ने काम सबैमा सामेल भइयो ।’
उनले त्यतिबेला ‘बल्ल पर्यो निरमाया माकुरी जालैमा’ बोलको गीत गाउने गरेको अहिले पनि स्मरण गर्छन् । ‘बाल्यकालमा थुप्रै गीत सुनियो, दोहोरी पनि गाइयो ।,’ उनी थप्छन् ।
पछि भने हिन्दी गीत खुबै सुन्ने गरेको उनी सम्झिन्छन् । ‘तराईतिर त हिन्दी गीत पनि उत्तिकै सुनिन्छ, त्यसैको प्रभाव होला, ती गीत पनि सुनियो, सलमान खान, अक्षय कुमार र आमिर खानका फिल्म सेकेण्ड क्लासमा बसेर हेरियो । कुनै कुराको तनाव पनि नहुने त्यो बेला बेग्लै रमाइलो थियो ।,’ उनी आफ्नो बाल्यकाल सुनाउँछन् ।
चितवनमा प्राथमिक तहको अध्ययन पूरा गरेपछि उनी थप अध्ययनका सिलसिलामा चितवनबाट काठमाडौँको बस चढे । त्यतिखेर नेपालमा जनआन्दोलन चर्किएको थियो वि.सं. २०४६ सालको । त्यतिबेला उनी एघार वर्षका थिए ।
काठमाडौँ छिरेपछि उनले ललितपुरको सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रममा कक्षा ६ मा भर्ना भए ।
भर्ना त भए तर बोर्डिङ स्कूलका विद्यार्थीसँग सरकारी स्कूलमा पढेका प्रदीपलाई अलिक गाह्रो भयो । ‘हामी त चार कक्षासम्म माई नेम इज राम भनेर पढ्ने गरेका थियौँ, अङ्ग्रेजी त कभर नै हुन सकेन,’ उनी सम्झन्छन् ।
गाउँको प्राथमिक स्कूलमा एउटा मात्र अङ्ग्रेजी विषय थियो । तर बोर्डिङमा त अङ्ग्रेजी माध्यमबाट नै पढ्नुपर्ने भयो । तर, बोर्डिङका शिक्षकहरुलाई के कुरामा विश्वास लागेको थियो भने, ऊ तेज छ । तर, कत्तिको क्याच गर्न सक्छ, त्यो हेर्नुपर्छ ।
‘म चाहिँ यदि बोर्डिङमा पढ्न नसकेको खण्डमा पुनः हटाइने सम्झौतामा भर्ना भएको थिएँ, तर मैले यति छिटो पिकअप गरेँ कि, उल्टो त्यहाँका विद्यार्थीभन्दा अगाडि म पुगेँ ।,’ उनी हाँस्दै सुनाउँछन् ।
उनी त्यहाँ पनि कहिले प्रथम, कहिले दोस्रो हुने गरेको बताउँछन् । स्कूले जीवनमा उनले अतिरिक्त क्रियाकलापमा पनि भाग लिने गरेको बताउँछन् । ‘कविता त म अहिले पनि कहिलेकाहीँ लेख्छु, तर त्यतिबेला छुट्टै जोश थियो,’ उनी भन्छन् ।
आफू विद्यालयमा हुँदा निबन्ध पनि लेख्ने गरेको र प्रतियोगितामा प्रायः प्रथम हुने गरेको प्रदीप बताउँछन् । उनी भन्छन्, ‘म एकदमै तेज विद्यार्थी थिएँ क्या, स्कूल पढ्दादेखि नै ।’
पढाइमा निकै मेधावी बताउने प्रदीप काठमाडौँ बसाइका क्रममा आफ्ना बा–आमाको मायाबाट भने टाढा थिए । काठमाडौँमा अङ्कल र अण्टीसँग बसेर पढ्थे । एसएलसीसम्मको अध्ययन काठमाडौँमा नै पूरा गरे ।
‘यहाँ (काठमाडौँ) आए पनि बेलाबेलामा गाउँ गइरहन्थेँ । दशैँमा एक महिना विदा हुन्थ्यो । अरु बेला पनि विदा पर्थ्यो । गाउँमा साथीहरुसँग छुट्टै रमाइलो थियो नि,’ उनी ठट्यौली पारामा सुनाउँछन्, ‘जति जति गाउँ गइयो, उति जवान हुँदै गइयो । जात्रामा पनि रमाइलो गरियो ।’
‘त्यो बेला एक खालको सङ्घर्ष पनि थियो, ती कुरालाई दुःखभन्दा पनि सङ्घर्षको समय भनौँ न ।,’ उनी भन्छन्, ‘हिमालबाट ढुङ्गा झर्दा पनि ठूलो ढुङ्गा खस्छ नि, तराईमा आएपछि चुनढुङ्गा बन्छ, हाम्रो जीवन पनि हिमालबाट खसेको ढुङ्गाजस्तै हो । चुनढुङ्गा बन्ने कि त्यस्तै ढुङ्गा रहने त्यो हाम्रो मेहनतमा भर पर्ने कुरा हो ।’
वि.सं. २०५१ सालमा एलएसली उत्तीर्ण गर्दा उनी बल्ल १५ वर्षका पुगेका थिए । त्यतिबेला एसएलसीमा गणित विषयमा एक सय पूर्णाङ्कमा ९९ ल्याएको उनी बताउँछन् ।
‘मैले अघि नै भनेँ नि, म सानैदेखि निकै तेज थिएँ, पढ्नै नपर्ने । एकपटक हेर्यो भने पुगिहाल्ने ।,’ उनी मुस्कुराउँदै सुनाउँछन् ।
यस्तो तेजिलो स्मरण शक्ति भगवानले दिएको ‘उपहार’ हो भन्ने उनलाई लाग्छ । मेहनतका हिसाबले पनि आफू धेरै पढ्ने विद्यार्थी नभएको उनी बताउँछन् ।
अहिले पनि कार्यालयमा आउने फाइल पन्ध्र मिनेटमै पढेर सक्ने र कहिलेकाहीँ त दिनमै एक सय ५० वटा फाइलको अध्ययन गरेर त्यसबारे निर्णय गर्ने गरेको उनी बताउँछन् ।
भन्छन्, ‘अहिले पनि मेरो टेबलमा आएका फाइलहरु हेर्नबित्तिकै स्क्यान हुन्छ, धेरै फाइल बनाएर अरुलाई दुःख दिने बानी पनि छैन, आएका फाइल सबै पढ्छु । नेपालभर ५५ वटा विमानस्थल छन्, सबै हेर्नुपर्छ । यसको लोड त हुन त छ नि, तर मलाई सबै कण्ठ हुन्छ ।’
अझ रोचक कुरा त के छ भने उनी किताब पढ्दा पनि एकैछिनमा सकिएको जस्तो लाग्ने बताउँछन् । पढेको कुरा पनि दिमागमा बसिहाल्ने उनको तर्क छ ।
‘विद्यार्थी जीवनमा पनि हामी कसले धेरै नम्बर ल्याउने भनेर प्रतिस्पर्धा गर्थ्यौँ । सय पूर्णाङ्कमा ९९ ल्याउने साथीहरुबीच कसले बढी ल्याउने भनने प्रतिस्पर्धा हुन्थ्यो,’ उनी हाँस्दै सुनाउँछन्, ‘हामी त त्यो बेलामा पनि प्रतिस्पर्धात्मक भावनाले अध्ययन गर्ने मान्छे हो नि, अहिले त धेरै विद्यार्थीलाई मतलब नै छैन ।’
एकपटकको कुरा हो । प्रदीपले भर्खरै एसएलसी पास गरेका थिए । बाबुआमा गाउँ (चितवन) भएकाले उनका काका नतिजा लिन स्कूल पुगे ।
प्रिन्सिपलले अभिभावकलाई भने, ‘यो केटोलाई राम्रो गाइडेन्स गर्यो भने धेरै माथि जान्छ । बिग्रियो भने चाहिँ स्वात्तै हुन्छ फेरि ! यसको दिमाग यस्तो खत्रा छ । बिग्रियो भने यो ओासामा बिन लादेन बन्छ ।’
यो कुराले पनि प्रदीपलाई प्रभावित तुल्याएको रहेछ ।
उनी धेरै तेजिलो विद्यार्थी बिग्रियो भने पनि नराम्रोसँग बिग्रिने र प्रगति गर्यो भने पनि धेरै प्रगति गर्न सक्ने धारणा राख्छन् ।
‘नेगेटिभ भयो भने त सिद्धियो नि हैन ? कन्स्ट्रक्टिभ हैन डिस्ट्रक्टिभ भयो भने डिस्ट्रक्टिभ पनि कलात्मक गरिदिन्छ नि त मान्छेले हैन ?’ उनी प्रतिप्रश्न गर्छन् ।
प्रदीप अध्ययनमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि सधै अगाडि थिए । भन्छन्, ‘मैले एकपल्ट शिक्षा दिवसका दिन शिक्षा भन्ने कविता लेखेको थिएँ । त्यो कविता ललितपुर जिल्लाव्यापी कवितामा प्रथम भएको थियो ।’
उनलाई स्कूले जीवनमा लेखेको ‘बाटो’ शीर्षकको कविता अझै पनि याद छ । उनले उक्त कविता हामीलाई सुनाए:
मेरो घरअगाडिको बाटो
लमतन्न परेर सुतेको छ
अचेत छ
कति मान्छे हिँडे
कति मान्छे गुडे
कति मान्छे दौडिए
कति लक्ष्यमा पुगे
कति लक्ष्यमा पुग्न सकेनन्
दिनमा पनि
रातमा पनि
झरी र बादलमा पनि
गर्मीमा पनि चिसोमा पनि
लमतन्न परेको
कठै मेरो घरअगाडिको बाटो
आफूले लेखेका धेरै कविता नभए पनि त्यतिबेला आफूले माया प्रेमका कविता पनि खुबै लेखेको बताउँछन् ।
अर्को कविताका केही पङ्क्तिहरू उनलाई अझै पनि याद छ ।
डाँडापारि क्षितिजमा
एउटा कल्पनाको घर छ
त्यसैले त मलाई डर छ
कोही नआउँदै कतै म सक्किने त होइन?
विद्यार्थी जीवनपछि भने आफू साहित्यबाट बिस्तारै टाढा हुँदै गएको प्रदीप बताउँछन् ।
‘एसएलसीपछि म फेरि चितवन नै फर्किनुपर्ने भयो । उतै गएर पढेँ । त्यसपछि पढाइमा नै बढी व्यस्त भइयो ।,’ उनी आफ्नो विगत सम्झिन्छन् ।
हुन त उनले एसएलसीपछि केही समय काठमाडौँकै अस्कल क्याम्पसमा विज्ञान विषय लिएर अध्ययन थालेका थिए । तर, आर्थिक कारण उनी पुनः चितवनमा फर्किए । र, घरभन्दा २२ किलोमिटर टाढा पर्ने चितवन साइन्स कलेजमा भर्ना भए ।
‘आर्थिक रूपमा काठमाडौँमा पढ्न सक्ने अवस्था नभएपछि म चितवन गएँ । त्यतै पढेँ । क्याम्पस जाँदा र फर्किँदा गरेर दैनिक ४४ किलोमिटर म साइकलमा कुद्थेँ ।,’ उनी आफ्नो विगत सुनाउँछन् ।
उनको घर पूर्वी चितवनको चैनपुरमा थियो । क्याम्पस पश्चिम चितवनको भरतपुरमा पर्थ्यो ।
चितवन साइन्स कलेजमा प्लस टु मा उत्कृष्ट हुँदै पढाइ पूरा त गरे तर घरको आर्थिक अवस्थाले स्नातक अध्ययन गर्न त्यति सहज थिएन । तर, पनि उनले आफ्नो पढाइलाई जसरी पनि पूरा गर्नैपर्ने थियो ।
‘प्लस टु सकेपछि मैले कविता लेख्न छोडिदिएँ, शायद फुर्सद पनि नभएर होला । २२ किलोमिटर साइकल कुदाएर क्याम्पसबाट घर आइपुग्दा पूरै थाकेको हुन्थेँ ।,’ उनी स्मरण गर्छन् ।
चितवन साइन्स कलेजमा पनि प्रदीप ‘कलेज टपर’ भएको बताउँछन् । त्यसपछि स्नातक अध्ययनका लागि प्रवेश परीक्षाको तयारी गरे । तयारी पनि यस्तो गरे कि, उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियर अध्ययनका लागि ‘फ्री स्कलरशिप’ मा नाम निकाले, त्यो पनि पहिलो प्रयासमै ।
यो वि.सं. २०५६ सालतिरको कुरा हो ।
काठमाडौँ ‘ब्याक’ भएपछि स्नातक पढ्दाको ४ वर्ष उनी होस्टलमै बसे । जिन्दगीको सबैभन्दा रमाइलो पल नै त्यही बेला थियो । छात्रावृत्तिमा प्रत्येक महिना १५ सय रुपैयाँ आउँथ्यो । ७ सय भयो भने खाना खान पुग्थ्यो । बाँकी पैसा साथीहरूसँको रमझममा खर्च गर्थे ।
कलेजमा शुल्क तिर्नु पनि नपर्ने । उल्टै पैसा दिने । न पैसाको तनाव । न त घरको तनाव । तनाव एउटै थियो, फेरि पनि कलेजमा ‘टप’ नै हुनु थियो ।
‘पुल्चोक क्याम्पसको वातावरण चाहिँ अन्तर्राष्ट्रिय स्तरको नै छ, त्यस्तो राम्रो वातावरण अन्त कहीँ छैन । त्रिभुवन विश्वविद्यालयमा पनि छैन ।,’ उनी भन्छन् ।
उनका अनुसार पुल्चोक क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको ल्याब छ । फुटबल ग्राउण्ड पनि ठूलो छ । भलिबल, बास्केटबल र ब्याडमिन्टन हल पनि छ ।
‘अरु कलेजले त्यस्तो कहाँ गर्न सक्छन् र? पुल्चोकमा पढ्नु र अरु ठाउँमा पढ्नु पनि फरक छ नि ।,’ उनी भन्छन् ।
होस्टलमा पनि नेपालका विभिन्न जिल्लाका विद्यार्थीहरु थिए । ती पनि क्याम्पसले छानेका एकसे एक उत्कृष्ट विद्यार्थी । त्यति भएपछि पढाइ पनि राम्रो नै हुने भयो ।
‘हाम्रो होस्टल पनि फूलबारीजस्तो थियो । कुनै जुम्लाका हुन्थे, कुनै जोमसोम त कुनै दार्चुलाका । त्यहाँ गायक पनि थिए, पढन्ते र खेलाडी पनि थिए,’ प्रदीप अगाडि थप्छन्, ‘त्यस्तो माहोलमा बिग्रिने चान्स पनि हुने रहेछ, अझै राम्रो बन्ने चान्स पनि हुने रहेछ ।’
उनका अनुसार त्यहाँ गाउँमा एसएलसीमा उत्कृष्ट अंक ल्याएर रथयात्रा गरेका विद्यार्थीदेखि बोर्ड फस्ट हुने विद्यार्थीसम्म भर्ना हुन्थे । रचनात्मक विद्यार्थी पनि उत्तिकै थिए । कोही रातभरि पढ्थे । र, दिनभरि सुत्थे । कोही दिनभरि पढ्थे रातभरि सुत्थे ।
उनी भने साथीहरूसँग जुनेली रातमा राति बाह्र बजेसम्म फुटबल खेल्थे । दिनभरि पढ्थे ।
‘म खेलकुदमा पनि उत्तिकै अगाडि थिएँ, दिनभरि पढेर राति फुटबल खेल्थ्यौँ । जीवनमा सबैभन्दा रमाइलो नै त्यही बेला गरियो होला ।,’ उनी आफ्नो विगत खोतल्दै सुनाउँछन् ।
‘पढाइमा टपर भएकाले होला, केटीहरुको होस्टलबाट पनि खुबै फोन आउँथ्यो ।,’ उनी हाँस्छन् ।
भन्छन्, ‘म जे मा पनि टप थिएँ नि त । फुटबलमा पनि सधैँ टप स्कोरर । पुल्चोक क्याम्पसको सर्टिफिकेट पनि छ मसँग । बल खुट्टामा पर्यो कि गोल हान्दिहाल्ने मैले । एक सय मिटर दौडमा पनि प्रथम । दुई सय मिटरमा प्रथम । रनिङमा पनि खत्रा ।,’ उनी भन्छन् ।
उनले फुटबलमा सबैभन्दा बढी गोल गरेर पाएका केही प्रमाण पत्र पनि हामीलाई देखाए ।
‘खुट्टामा बल पर्यो कि गोल हानिहाल्थेँ मैले,’ उनी भन्छन् ।
अहिले आएर प्रदीपलाई लाग्छ, जीवन बहुआयामिक छ । युवापुस्तामा छुट्टै रमाइलो छ । त्यतिबेलाका साथीहरुसँग छुट्टै रमाइलो थियो । प्रेमका किस्सा पनि जोडिएर आउँथे । कहिलेकाहीँ लफडा पनि हुन्थ्यो । ती क्षणहरुलाई उनी जीवनको रङ्गका रुपमा अर्थ्याउँथे ।
‘पुल्चोक इन्जिरियङ क्याम्पसमा म ९ नम्बरको जर्सी लगाउँथे, दिनमा बाह्र घण्टा पढिन्थ्यो, बाँकी समय कहिले गेम खेलिन्थ्यो, कहिले साथीहरुसँग रमाइन्थ्यो,’ उनी सुनाउँछन् ।
स्नातक अध्ययनका क्रममा आफूले अङ्ग्रेजी कविताहरू समेत लेखेको प्रदीप सुनाउँछन् । तर, ती कविता भने अहिले उनीसँगै छैनन् ।
स्नातकपछि उनले मेलम्ची खानेपानी आयोजनामा काम गरे । वि.सं. २०६१ साल उनले झण्डै ९ महिना जागीर गर्दा नेपालमा माओवादी आन्दोलन चर्किएको थियो । मेलम्ची आयोजनाका लागि ‘एक्सेस रोड’ निर्माण हुँदै गर्दा माओवादीले आक्रमण गर्यो । त्यसपछि उनी पुन: काठमाडौँ फर्किए ।
‘मेलम्चीबाट फर्किपछि म गुल्मी गएँ, हाइड्रोपावरको प्रोजेक्टमा त्यहाँ पनि केही समय काम गरेँ, त्यसपछि काठमाडौँ आएर पुल्चोक क्याम्पसमै स्नातकोत्तरमा भर्ना भएँ,’ उनी सम्झन्छन्, ‘त्यतिबेला मैले लगभग काठमाडौँ उपत्यकाका प्रायः इन्जिनियरिङ क्याम्पसमा पढाएँ होला ।’
यतिबेलासम्म प्रदीपले बिहे पनि गरिसकेका थिए । अब व्यवहारिक जीवन पनि शुरु भइसकेको उनी बताउँछन् । उनी रमाउने जीवन बिस्तारै उनीबाट छुट्टिँदै थियो । करिअरको चिन्ताले सताउन थालेको थियो ।
त्यतिबेला उनले अध्यापन गराउँदै अध्ययन गर्दै गरे । र, मास्टर्समा पनि उनले उत्कृष्ट नतिजा ल्याए । उनका अनुसार मास्टर्समा समेत ‘ब्याच टपर’ भए । त्यसबेला भर्खरै छोरी जन्मिएकी थिइन् ।
ब्याच टपर भएपछि उनी पुल्चोक कलेजबाट जापानमा पीएचडी अध्ययनका लागि सिफारिस भए, त्यो पनि छात्रावृत्तिमा । विदेश जाने कि नजाने भन्ने उनलाई दोधार भयो ।
‘कलेजले जसले ब्याच टप गर्छ उसैलाई पठाउने गर्थ्यो, स्वभाविक रुपमा मैले नै जाने मौका पाएँ,’ उनी भन्छन् ।
त्यतिबेला उनको जीवनमा अर्को एउटा मोड थपिएको थियो । अब नेपाल बस्ने कि जापान जाने । श्रीमतीले भनिन्, ‘तपाईँलाई विदेश जान के समस्या भयो र? एकपटक सरकारी जागीर खाइ हेर्नु न त ।’
प्रदीपलाई पनि लाग्यो, अब छोरी पनि भर्खरै जन्मिएकी छिन् । जापान जानुभन्दा बरु सरकारी जागीरका लागि एकपटक ट्राइ गरौँ न त ।
‘मैले पीएचडीको अवसर छोडेर नागरिक उड्ययन प्राधिकरणमा सातौँ दहका लागि परीक्षा दिएँ, एकैपटकमा नाम निस्कियो,’ उनी सुनाउँछन् ।
वि.सं. २०६४ सालमा सरकारी सेवामा प्रवेश गरेका प्रदीपलाई नागरिक उड्डयन प्राधिकरण भनेको पनि थाहा नभएको बताउँछन् । ‘इन्जिनियरले त सडक विभाग, इरिगेसन या स्थानीय बिल्डर हेर्ने होला भन्ने लाग्यो, यहाँ पनि इन्जिनियर छन् भन्दा कसैले पत्याउँदैनथे ।,’ उनी सम्झन्छन् ।
उनी सिभिल एभिएसनमा सिभिल इन्जिनियर आफ्नो प्रवेशपछि मात्र चर्चामा आएको दाबी गर्छन् ।
सातौँ तहमा नाम निस्किएपछि उनी मनाङ विमानस्थल पुगे । मनाङमा विमानस्थलका लागि २५ रोपनी जग्गा आफ्नो रोहबरमा सित्तैमा थपेको उनी दाबी गर्छन् । ‘मनाङमा एयरपोर्टको क्षमता कम थियो, त्यहाँ टेकओभरका लागि पनि रनवेको आवश्यकता थियो,’ उनी भन्छन् ।
आफू मनाङ विमानस्थलमा हुँदा त्यहाँ भएका पुराना तारबार हटाएर नयाँ तारबार लगाएको पनि उनी बताउँछन् । ‘२५ रोपनी जग्गा पनि त्यतिबेला गाउँलेले दिने भनेका छन्, पछि त के हो के हो भनेर त्यसको काम थालिहाल्यौँ,’ उनी भन्छन् ।
उनका अनुसार प्रदीप मनाङ विमानस्थलमा एउटा काम गर्न गएका थिए । त्यहाँ पुगेर अर्को काम पनि फत्ते गरे ।
यसलाई उनले ‘युवा जोश’ भन्न रुचाउँछन् ।
मनाङ विमानस्थलपछि उनलाई मुगु विमानस्थलको जिम्मेवारी सुम्पियो । मुगुमा एअरपोर्ट बनाउनका लागि पहिलोपटक एक्साभेटर (डोजर) हेलिकप्टरमा झुण्डाएर लगिएको थियो ।
‘नेपालमा हामीले पहिलोपटक हेलिकप्टरमा डोजर झुण्डाएर लगेर काम गरेको ठाउँ हो, त्यसबेला मुगुमा गाडी पनि पुगेको थिएन,’ उनी भन्छन्, ‘त्यतिबेला ३५ करोडको लागतमा विमानस्थलको काम हुने भनिएको थियो, मैले डोजरको आइडिया लगाउँदा ९ करोडमा बनाएँ ।’
उनी भन्छन्, ‘मान्छेले खनेको भए दश वर्ष लाग्थ्यो, त्यो पाँच वर्षमा नै त्यो कम मूल्यमा बन्यो ।’
पैँतीस करोडको काम ९ करोडमा बन्नु आफैमा ‘ऐतिहासिक काम’ भएको उनी बताउँछन् ।
हरेक कुरामा चासो राख्ने प्रदीप यति ‘एक्टिभ’ थिए कि, त्यो बेलामा उनले एउटा फिल्ममा समेत अभिनय गरे । रेखा थापा र सविन श्रेष्ठको समेत अभिनय रहेको उक्त फिल्मको नाम थियो, वर्षात् । प्रदीपले अर्को फिल्ममा पनि काम गरेका छन् । उक्त फिल्ममा भने डाक्टरको सानो भूमिका मात्र भएको उनी बताउँछन् ।
‘त्यो बीचमा मैले फिल्म पनि खेलेँ नि, मलाई अभिनयमा पनि रुचि थियो ।,’ उनी हाँस्दै सुनाउँछन्, ‘फिल्ममा म नेगेटिभ रोलमा थिएँ, मौका आएका बेला फिल्ममा पनि अभिनय गरौँ न त भन्ने लाग्यो ।’
त्यसो त उनले एक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । ‘बिर्सेँ कि त भनी ठान्थेँ’ बोलको गीतको म्युजिक भिडियोमा उनीसँग कलाकार रक्षा श्रेष्ठको समेत अभिनय देख्न सकिन्छ ।
‘ममा कतै न कतै साहित्य र अभिनयतर्फ पनि रुचि थियो, पछि व्यस्तताले साहित्यतर्फ त समय दिन सकिएन तर अभिनयका लागि भने समय छुट्याएँ,’ उनी भन्छन् ।
मनाङ र मुगु जिल्लामा सेवा दिइसकेपछि उनी दाङ पुगे । दाङमा कार्यरत हुँदा तत्कालीन डीजी (महानिर्देशक) ले प्रदीपलाई भने, ‘पोखरा विमानस्थलमा जग्गाको ठूलो लफडा छ, के तपाईँ त्यहाँ गएर त्यो सुल्झाउन सक्नुहुन्छ?’
‘मैले यो नसक्ने विषय नै छैन, सक्छु भनेँ, त्यतिबेला मुआब्जाको विषयमा ठूलो लफडा पनि थियो तर मलाई कुनै काम पनि जटिल लाग्दैन ।,’ प्रदीप भन्छन् ।
उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको विषयमा पनि पनि उनले एकदमै इमान्दार भएर काम गरे । तर, उनलाई पैसा हिनामिनाको आरोप भने लाग्यो ।
‘राम्रो गर्न खोज्दा पनि आरोप त लागिहाल्छ नि,’ उनी भन्छन्, ‘पोखरामा मैले मुआब्जा पनि बैंकबाट हालिदिएको हो, सम्भवतः त्यो प्रयोग नेपालको इतिहासमा पहिलोपटक थियो होला ।’
आफूले बैंकिङ प्रणालीबाट मुआब्जा दिए पनि कम दिएको भन्दै आन्दोलन भएको उनी बताउँछन् । प्रदीप अधिकारी राजीनामा दे भन्नेसम्मका नाराबाजी गरिएको उनी सुनाउँछन् ।
तर, त्यसले आफ्नो करिअरलाई फाइदै पुगेको उनी दाबी गर्छन् ।
‘त्योभन्दा अगाडि म गुमनामजस्तै थिएँ, त्यहाँ भएको आन्दोलनले मलाई चिनायो, मेरो गल्ती थिएन भने मैले राजीनामा दिने कुरा पनि थिएन,’ उनी भन्छन् ।
त्यतिबेला उनी आठौँ तहमा बढुवा भइसकेका थिए । यता खुला कोटाबाट एघारौँ तहका लागि पनि एक जना कर्मचारीको आवेदन खुलेको थियो सिभिल इन्जिनियरिङतर्फ ।
‘त्यतिबेला मैले आठौँ तहबाट सीधै एघारौँ तहमा नाम निकालेँ, नत्र म ५० वर्षको हुँदा बल्ल ११औँ तहमा पुग्थेँ होला,’ उनी थप्छन्, ‘जहाँ परीक्षा दियो, त्यहाँ प्रथम भइहाल्थेँ ।’
उनी नेपालको सिभिल एभिएसनको ३६ वर्षको उमेरमा एघारौँ तहमा पुगेको अरु कोही नभएको दाबी समेत गर्छन् ।
उनको दाबी अनुसार एघारौँ तहमा नाम ननिकाल्न पनि ठूलो चलखेल भएको थियो । ‘मलाई नाम निकाल्न नदिन ठूलै चलखेल भएको थियो, जबकि, लोकसेवाको नियम अनुसार दुई नम्बरभन्दा धेरै तलमाथि गर्न पाइँदैन तर अन्तर्वार्तामा मेरो प्रतिद्वन्द्वीलाई १६ र मलाई १२ नम्बर दिए, लिखितमा मेरो नम्बर बढी रहेछ, अन्तर्वार्ताले त कामै गरेन,’ उनी हाँस्दै सुनाउँछन् ।
वि.सं. २०७३ सालमा उनी आठौँ तहबाट एकाएक एघारौँ तहमा पुगे । त्यसपछि उनले काठमाडौँ केन्द्रित रहेर सेवा गरे ।
अहिले उनी नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकको कुर्सीमा छन् । विद्यार्थी कालमा सधै उत्कृष्ट र प्रथम हुँदै आइरहेका प्रदीपले सफलता हासिल गरेपछि आफूमाथि आरोप लाग्ने गरेको दाबी गर्छन् ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मेरा विरुद्ध आन्दोलन नहुँदासम्म दैनिकी सामान्य नै थियो, कहिलेकाहीँ घुम्न गइन्थ्यो, रेष्टुरेन्टमा पनि गइन्थ्यो, अहिले त एकदमै विचार गर्नुपर्छ,’ उनी आफ्नो विवादित किस्सालाई सामान्य लिँदै भन्छन्, ‘चर्चामा पुगेपछि विवाद पनि हुने रहेछ, मैले कुनै गल्ती नगरे पनि विवादमा ल्याउन आरोप लगाउँछन्, तर आफू सही भएपछि ती आरोपले के फरक पार्छ र?’
अब उनको सरकारी सेवाको समय पनि धेरै छैन । महानिर्देशकको पदावधि जम्मा चार वर्षको हुने र त्यसपछिको बाँकी जीवन पनि सरकारकै सेवामा बिताउने उनी बताउँछन् ।
‘मैले त आफ्नो उर्वर समय सरकारी सेवामै बिताएँ । रिटायर्ट भएपछि पनि कुनै न कुनै रूपमा देशकै सेवा गर्छु,’ उनी थप्छन्, ‘अहिले पनि नेपालको हवाइ आकाशमा थुप्रै समस्याहरु छन्, ती सबैको हल खोजिरहेको छु, काम भइरहेको छ । कहिलेकाहीँ कुनै काम गर्नका लागि दबाब आउँछ तर म नियममा नभएको काम जसले पावर लगाए पनि गर्दिनँ ।’
प्रदीपले नियम विपरीतका कुनै पनि काम गर्न नमान्ने र त्यसैका कारण कतिपयले आफ्ना विरुद्ध अरुलाई उक्साउन खोजेको उनी दाबी गर्छन् । ‘म अलि कडा पनि छु, नियममा जे हुनुपर्ने हो, त्यो हुनुपर्छ भन्ने मान्यता राख्छु, कसैले आफ्नो फाइदाका लागि काम गराउन खोज्यो भने गर्दिनँ, त्यस्तो भयो भने यहीँ प्राधिकरणमा पनि कतिको चित्त बुझाउन नसकिने रहेछ,’ उनी भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया