मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रोफाइल

‘आफैंले भोगेपछि मात्र बुढेशकाल थाहा हुने रहेछ’

ओजपूर्ण जीवन बाँचिरहेकी भद्रकुमारी

काठमाडौँ– ‘एकजना मान्छेले जीवनकालभरीमा कति र के के कुरा भोग्छन् त ?’ यही जिज्ञासा साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेसमक्ष राख्ने हो भने उनले बिताएको लामो जुग र अनुभूतिहरुमा आम मान्छेका भोगाइहरुका केही न केही अंशहरु भेटिन्छन् ।

प्रत्येक मान्छेले आ–आफ्नै भोगाइअनुसार जीवन जिउँछन् भन्ने मान्यतालाई पछ्याउने हो भने उनको भोगाइमा ठ्याक्कै तालमेल त नहोला, तर मान्छेले उनका जीवनका अनुभूतिहरुमा खास बाँच्ने लय भेट्टाउन सक्छन् ।

मान्छे भएर धर्तीमा जीवनको स्वरुपमा आएपछि उनले जस्तै ओझपूर्ण र अर्थपूर्ण जीवन बाँच्ने बाटो तय गर्ने जीवनदर्शन सिक्न सक्छन् । साहित्य, समाजसेवा, राजनीतिक यी तिनै विधामा उनले आफूलाई सर्वोच्च शिखरको रुपमा उभ्याएकी छिन् ।

९४ औं बसन्तमा हिँडिरहेकी भद्रकुमारीको उमेरको अंक जति माथितिर उक्लिरहेको छ, त्यति नै उनको कलमको तिव्रता बढिरहेको छ । उनलाई जसरी पनि आफ्ना भोगाइहरु टिपेर नयाँ पुस्ताका लागि हस्तान्तरण गर्नुछ ।

केही साताअघि मैतीदेवीस्थित निवासमा बिहानको नौ बजेको हारहारीमा पुग्दा नित्य कर्म, पूजापाठ सबै सकेर उनी खाना खाने मेसोमा थिइन् । खाना खाइवरी कुराकानीको शुरुवातमै उनले दुखेसो गरिन्, ‘आज बिहान दुई–तीन बजेदेखि बत्ती निभेर काम त्यतिकै रह्यो । केही गर्नै पाइएको छैन ।’

उनको भनाइको आशय अनुसार उनी दैनिक रातभरी केही न केही लेख्ने काम गर्छिन् । बिजुली बत्ती बिहानै गएपछि उनको दैनिकीमा केही फेरबदल भएको रहेछ । त्यसैमा उनको सुर्ता थियो ।

लेखाइकै प्रसङ्ग कुराकानीको प्रारम्भमा जोडिएपछि उनले आफ्नो लेखनको उद्देश्यबारे अझै प्रस्ट पारिन्, ‘म जस्तो ९४ वर्ष पुगेकी मान्छेले कविता लेख्नु, निबन्ध लेख्नु, भजन लेख्नु तपाईंहरु जस्तो नौजवानहरुका लागि हो ।

मान्छेले बुझेको सबै कुरा यही रहेछ ।’ कस्तो युग आउँदैछ, अब कस्तो युग हामीले भोग्नुपर्छ भनेर बुझ्ने माध्यम साहित्य सिर्जना रहेको उनले प्रस्ट्याइन् । यसरी लेखनको सारलाई उनले बुझाइरहँदा उनको बोलाइ र संवादमा उत्तिकै प्रखर थियो ।

उमेरका खुड्किलाहरुले उनलाई शारीरिक रुपमा गलाएपनि मानसिक रुपमा उनी अझै उत्तिकै सशक्त र जुझारु छिन् । संख्यात्मक रुपमा गणना गर्दा ३९२ वटा पुस्तक लेखिसकेकी उनका दुई सय पुस्तकहरु प्रकाशनका लागि प्रेसमा पुगिसकेका छन् । २ वटा भजन सङ्ग्रह, उनले लेख्दै आएका नौ/दश वटा नोट बुकहरु भरिसकेका छन् । यी सबैलाई समेटेर प्रकाशन गर्ने हो भने आफ्ना पाँच सय भन्दा बढी पुस्तकहरु हुने उनले अनुमान लगाइन् ।

प्रत्येक दिन खाजाको समयपछि बेलुकीपख चार/पाँच बजे ध्यानमा बस्ने उनी राति १०/११ बजे ब्युँझिएपछि लेख्न बस्छिन् । रातभरी उनको लेखन कार्य जारी रहन्छ ।

उनले भनिन्, ‘म रोज एउटा कविता, एउटा भजन लेख्छु । एउटा आफू सम्बन्धमा, एउटा देश सम्बन्धमा र एउटा अन्तर्राष्ट्रिय सम्बन्धमा निबन्ध पनि लेख्छु ।’

उनको बुझाइमा लेख्नु भनेको आफ्ना भोगाइहरु उतार्नु पनि हो । एक पुस्ताले भोगेको भोगाइ अर्को पुस्ताले बुझे मात्र भविश्यको पूर्व तयारी गर्न सकिन्छ भन्ने उनको भनाइ छ । मान्छेका जीवन, राष्ट्र, राष्ट्रियता, राजनीतिक, सत्ता सबथोक उनी लेखनमै देख्छिन् ।

उनकै भनाइ अनुसार आफूले यी सबै पक्षमा भोगेका भोगाइहरुलाई नै उनी आजका पुस्ताहरुलाई लेखेर बुझाउँदैछिन् । भनिन्, ‘लेखाइ भनेको भोगाइ पनि हो । त्यही भोगाइहरुबाट तपाईंहरुले अब के हुन्छ भनेर थाहा पाउने हो । म जस्तो वयोवृद्ध भोगेको मान्छेले लेखेको किताब पढेर नै अहिलेका नयाँ पुस्ताले थाहा पाउने हो ।’

जीवनको उत्तराद्र्धमा उनले लेखनमा बुढ्यौली उमेर र अनुभवहरुलाई नै बढी केन्द्रीत गरेकी छिन् । उनकै भावलाई मनन गर्ने हो भने बुढ्यौली उमेरले उनलाई दिएको अनुभूतिहरु उनी स्वयंका लागि नौला छन् । किनकी बुढ्यौली उमेर र यसले दिने शारीरिक कठिनाइहरु, मानसिक संवेदना र यसमा हुने उत्तारचढावहरुबारे अरुले लेखनमा उतार्ने त्यति चेष्टा गरेनन् ।

साहित्यमा बाल, वयस्क उमेरका मान्छेका अनगिन्ती भावनाहरु अभिव्यक्त भएपनि बुढ्यौली उमेरलाई बेवास्ता भइरहेको समयमा उनी आफ्नै अनुभूतिहरु आजका युवाहरुका लागि नै लेख्दैछिन् । शारीरिक रुपमा निर्बल भएपछि पद, प्रतिष्ठा, परिवार, समाज सबैबाट एक्लो बन्दा पाको उमेरका मानिसहरुको जीवन कठीन हुने उनले अहिले आएर भोग्दै छिन् ।

उनले १०४ वर्षकी आमा, १०२ वर्षकी सानीमा लगायत आफैंले पालेका ७० वर्षभन्दा माथिका बृद्धाहरुको जीवनमा रेखदेख गरिन् । र पनि आफैंले अहिले भोगेपछि मात्र उनले बुढेकाललाई बुझेकी छिन् ।

‘मैले १०४ वर्षकी मेरी आमा, १०२ वर्षकी सानीमा, मेरी दिदी जस्ता सात वटा बुढी पालेर पनि मलाई वृद्धाकाल कस्तो हुन्छ थाहा थिएन । बुढेशकाल आफैंले भोगेपछि मात्र थाहा हुने रहेछ,’ उनले सुनाइन् ।

आफूले लेखेका सिर्जनाहरु मार्फत आजका पुस्ताहरुले बुढेशकालको अवस्था र यसका लागि गर्नुपर्ने तयारीबारे थाहा पाउने उनको दाबी छ । आजका पुस्ताहरुले उमेर र बल छँदै बुढ्यौली उमेरका लागि आर्थिक, भौतिक र मानसिक रुपमा बलियो रहन भविश्यका लागि पूर्व तयारी गर्नुपर्ने उनको राय छ ।

पछिल्लो लेखनमा वयोवृद्ध मान्छेको अवस्था, बाँच्ने शैली, ढंग, मनोवृत्ति, प्रवृत्ति र विचारहरु नै बढी केन्द्रीत भएको उनले सुनाइन् । यी सबै लेखाइहरु नयाँ पुस्ता र साहित्य भण्डारलाई नयाँ खुराक बनोस् भन्ने उनी चाहन्छिन् ।

उनले थप जोडिन्, ‘मैले लेखेको कुरा तपाईंहरु जस्तो नौजवानले पढेपछि म जस्तै शताब्दी बाटोमा पुगेको बेलाका लागि तयारी पनि गर्नुपर्‍यो । अहिले त तपाईंहरुको हैसियत छ जे पनि गर्न सकिन्छ । तर यो समय र बल सधैं उस्तै रहिरहँदैन ।’

उनका अनुसार प्रत्येक मान्छेले धेरै ठूलो काम नगरेपनि कमसेकम आफ्नो लागि घर, छुट्टै बाथरुम, सुत्ने, पढ्ने कोठा, बुढ्यौली उमेर अनुसार वातावरणको व्यवस्थापन अगावै गर्न अति नै जरुरी छ ।

बढ्दो उमेरको भारकै कारण लामो समय बसेर लेख्नलाई उनलाई सकस हुन्छ । र पनि आफ्नो भोगाइ र ज्ञान बाँड्नलाई उनी लेखि नै रहेकी छिन् ।

उनले जोडिन्, ‘मेरो भोगाइ कस्तो छ, अहिले कस्तो स्थितिमा छ भन्ने तपाईंहरुलाई ज्ञान गराउन नै म लेखिरहेको छु । लेख्नलाई हात दुखेर गाह्रो हुन्छ । तपाईंहरु जस्तालाई मेरो भोगाइ भोगाउनलाई म सकी नसकि लेखिरहेको छु ।’

भद्रकुमारीको जन्म वि‍.सं. १९८८ फागुन १९ गते काठमाडौं डिल्ली बजारमा राणाशासनकालमा बुवा कृष्ण बहादुर घले र आमा भक्तकुमारी घलेका तीन छोरीमध्ये माइली छोरीकी रुपमा भयो । उनको बाल्यकाल भने पख्र्यौली थलो ओखलढुङ्गा जिल्लाको जरायोटारस्थित घलेगाउँमा हजुरबुवा र हजुरआमासँग बित्यो ।

उनको बुवा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरको पालामा सेना र पद्म शमशेरको बैठकेसम्म भए । आमा पस्मिना व्यवसायमा संलग्न भएकै कारण राम्रो रेखरेदका लागि करिब तीन वर्षको उमेरमा उनलाई पख्र्यौली थलोमा पुर्‍याइएको थियो । बाल्यकालमै दोलखास्थित मामाघरमा दुई वर्षसम्म रहेकी उनको प्रारम्भिक शिक्षा उतैबाटै शुरु भयो ।

मामाहरु आफ्नै उमेरका भएकोले उनले सँगसँगै बसेर नेपाली वर्णमाला र धार्मिक पुस्तकहरु पढिन् । त्यतिबेला नै उनले रामायण, महाभारत, कृष्ण चरित्र जस्ता पुस्तकहरु सरर पढ्न सक्थिन् । त्यसपछि अध्ययनकै लागि ६ वर्षकै उमेरमा ब्रिटिस सेनामा सुबेदार रहेका माइला बुवा बमबहादुर घलेसँग भारतको गोरखपुर पुगिन् ।

उनको औपचारिक शिक्षा त्यही गोरखपुरस्थित गान्धी विद्यापीठबाट आरम्भ भयो । त्यसपछि नेपाल आएर पद्मकन्या विद्याश्रममा तीन कक्षामा भर्ना भएकी थिइन् । यही अध्ययनको क्रममा नै उनी तत्कालीन सरकारको छात्रवृत्ति पाएर भारतको बर्धास्थित गान्धी आश्रम पुगेर पाँच वर्षे वनिता शिक्षामा भर्ना भएकी थिइन् ।

त्यतिबेला वनितालाई म्याट्रिक सरह मानिन्थ्यो । त्यसपछि उनले काशी विद्यापीठ बनारसबाट प्रवीणता र शास्त्री उत्तीर्ण गरिन् । कस्तूरवा स्मारक राष्ट्रिय ट्रस्ट इन्दोर(मध्यभारत)बाट प्रसूतिसेवा नर्सको तालिम समेत लिएकी उनले २०११ सालमा जनकपुर पुगेर नर्सकै रुपमा सेवा गरिन् ।

शास्त्री उत्तीर्णसँगै गाउँ पसेकी उनले राजनीतिक जीवनलाई अगाडि बढाएर आफूलाई कुशल नेतृको रुपमा उभाइन् । गान्धी आश्रमको नीति, नियम, निर्देशन र अनुशासनको लयमा आफूलाई हुर्काएकी उनले सधैं उच्च विचार सादगी जीवनलाई नै अनुसरण गरेकी छिन् ।

त्यही आश्रममा नै उनले साहित्य लेखन र कला सिर्जना यात्रा थालिन् । त्यहाँ अध्ययनको अलवा गीत गाउने, नाच्ने, बहस तथा छलफलमा सक्रिय रुपमा लागेर उनले आफ्नो सामाजिक तथा राजनीतिक जीवनको शुभारम्भको संकेत दिएकी थिइन् ।

नेपालमा पञ्चायत शासनकाल लागु भएपछि अझै जुझारु बनेकी उनको राजनीतिक जीवन २०१८ सालबाट शुभारम्भ भयो । २०२० सालमा जनकपुर अञ्चलबाट नेपाल महिला संगठनको प्रतिनिधिका रुपमा राष्ट्रिय पञ्चायत माननीयमा निर्वाचित्र भएकी उनी २०२३, २०३१ र २०३६ सालमा सिन्धुली जिल्लाबाट जिल्ला प्रतिनिधिका रुपमा माननीयमै निर्वाचित भइन् ।

२०३८ सालमा श्रम तथा समाज कल्याण रान्यमन्त्रीको बनेर उनले जनताको सेवा गरिन् । भौतिक रुपमा विद्यालय, पुल, बाटो, पुल, कुवा, इनार, खानेपानी, हेल्थपोस्ट, हुलाक घर निर्माण गरेर जनताको जीवनलाई सहज बनाइदिइन् । प्रौढशिक्षा, सिलाइबुनाइ, पशुपालन जस्ता सीपमा लगाएर उनले महिला सशक्तिकरणको पाटोमा महत्वपूर्ण कार्यहरु गरिन् । २०४६ पछि ‘नेपाल जनजाति पार्टी’ स्थापना गरेर उनी पार्टीको कोषाध्यक्षका रुपमा रहिन् ।

तथापि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले यसलाई जातिवादी पार्टीको संज्ञा दिएर सञ्चालनमै रोक लगाएपछि राजनीतिक जीवनको दौडबाट उनले विश्राम लिन पुगिन् ।

त्यसपछि उनले तत्कालीन राजनीतिक र समाजलाई लेखनतिर सक्रिय रुपमा उतार्न थालिन् । यही दौरानमा २०५६ सालमा राजकीय सभाको सम्मानीयका रुपमा समेत देखा परेकी थिइन् । त्यसपछि २०६२ सालमा काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित देवीनगरमा ‘भद्राकुमारी घले सेवा सदन’को स्थापना गरेर उनले नेपाली भाषा, साहित्य, कला, शिक्षा, स्वास्थ्य, सीपमूलक तालिम, पशुपालन जस्ता समाजसेवाको कामलाई निरन्तरता दिएकी थिइन् ।

सार्वजनिक जमीन रहेको भन्दै केही समयअघि सदनमाथि महानगरको डोजर चल्यो । यसमा पनि भद्रकुमारीले कुनै अवरोध खडा गरिनन् । उनले महानगरका मेयर बालेन्द्र शाहको पछिल्लो कदमहरुलाई खुलेरै प्रशंसा गरिन् ।

यसले उनको व्यक्तित्वलाई अझै उँचो बनायो । उनको सामाजिक होस् या राजनीतिक जीवनको सक्रियतामा उनकी आमाले समाएको बाटोले पनि धेरथोर प्रभाव देखिन्छ । उनको बुवाको निधनपछि नै सिन्धुली गएकी उनकी आमा भक्तकुमारी पञ्चायत कालको शुरुवातीदेखि अन्त्यसम्म आम्बोटेमा प्रधानपञ्च भएकी थिइन् ।

सदनलाई अहिले उनकै निवासमा सारिएको छ । निवासमै पुस्तकालय र चित्रकला सङ्ग्रहालय बनाइएको छ । आम सर्वसाधारणका लागि पुस्तकालय र सङ्ग्रहालय खुल्ला गरिएका छन् । उनका कलाकृतिहरु माझ नै उनले प्राप्त गरेका सम्मानपत्रहरु सजिएका छन् । कतिपय पुस्तकहरु भने ठाउँ अभावकै कारण बोराहरुमा नै कोचिएका छन् ।

उनी बेला बेलामा आफ्नो कोठाबाट पुस्तकालय र सङ्ग्रहालय नियाल्न पुगिरहन्छिन् । उनलाई लाग्छ सङ्ग्रहालयमा १० को दशकदेखि सिर्जना गरिएका उनका चित्रहरुले उनैलाई हेरिरहेका छन् । जुन सिर्जनाहरुमा महिला आवाज र सशक्तिकरणका भावहरु बुलन्द भएका छन् ।

वि.सं २००५ देखि २०१० सम्म बर्धास्थित गान्धी आश्रममा अध्ययनकै क्रममा उनलाई क्षयरोगले समातेपछि मानसिक रुपमा बलियो हुन र मनजोरञ्जनका लागि कला सिर्जना थालनी गरेकी उनले यसमै जीवन, दर्शन र महिला मुक्तिका आवाजहरु मुखरित पारिन् । उनलाई लाग्छ अझै पनि महिलाहरुको जीवन सहज छैन ।

देश तथा विदेशमा हुने महिला हिंसाका घटनाहरुबारे सुनिरहँदा उनलाई दुःख लाग्छ । विशेषगरी विवाहित महिलामाथि हुने हिंसा र पीडाका घटनालाई यौवनकालमा नजिकबाट नियालेकी त्यसकै प्रभावले उनी अविवाहित नै रहिन् ।

पुस्तकालय र सङ्ग्रहालयलाई नियालेपछि फेरि उनी आफ्नो अध्ययन कक्षमा फर्किन्छिन् । त्यता पनि उनी आफ्नै लेखन सिर्जनाहरुमाझ घेरिएकी छिन् । २००४ को दशकदेखि आफ्नो मनोभावना अभिव्यक्त गर्न साहित्य सिर्जना गरेकी उनले त्यसपछि लेखिरहिन् । आफ्ना साहित्य सिर्जनालाई कृतिका रुपमा भने उनले २०४५ सालबाट ल्याइन् । २०४५ सालमा उनकाे ‘भावना’ शीर्षककाे कविता सङ्ग्रह प्रकाशित भएकाे थियाे । उनका ‘कल्पना,’ ‘उपहार, ‘मेरा जीवन कविता’लगायत तीन दर्जन कविता सङ्ग्रहहरु प्रकाशित छन् । त्यस्तै, उनका २०४५ सालबाट प्रकाशन शुरु भएकाे निबन्ध सङ्ग्रहहरुमा ‘राष्ट्रिय चिन्तन,’ ‘समय दृष्टि,’ ‘राजसंस्थाप्रति नेपालीकाे आस्था,’ ‘सृष्टिकाे धराेहर नारी’ लगायत आठ दर्जन प्रकाशित छन् । २०४५ सालमै उनकाे पहिलाे कथासङ्ग्रह ‘नारीकाे व्यथाकाे कथा’ प्रकाशित भएकाे थियाे । उनका ‘शक्तिरुपा,’ ‘नारी’ र ‘मेरा सहयात्री’ गरी तीन कथासङ्ग्रहहरु प्रकाशित भएका छन् । नाटक विधामा भने उनले २०५१ सालमा ‘केही गीति नृत्य नाटिका’ नामक गीति नाटक सङ्ग्रह प्रकाशित गरेकी थिइन् । उनका ‘मेराे आँखामा म,’ ‘आजकाे मेराे मन,’ ‘म बुढ्याैलीकाे सम्झाैटाे,’ ‘सिन्धुलीकाे शेरनी भक्तकुमारी घले’ लगायत उनका जीवनी प्रधान कृतिहरु प्रकाशित छन् । २०६४ सालमा उनकाे ६०४ वटा मुक्तकहरु समावेश भएकाे ‘देशकाे नशा’ मुक्तकसङ्ग्रह प्रकाशित भएकाे थियाे । त्यस्तै, २०६८ सालमा उनले एउटै मात्र ‘२०७’ गजलसङ्ग्रह प्रकाशित गरेकी थिइन् । जसमा २०७ वटा गजलहरु समावेश छन् ।

उनकै भनाइमा आधार मान्दा उनले जति लेखिन्, सबै आफैंप्रति निर्भर भएर लेखिन् । भनिन्, ‘म आफ्नै भाषा, ढङ्ग, ढाँचा र शब्द रचनाले लेख्छु । मैले अरुको किताब पढिँन । मलाई पढ्नै फुर्सद भएन ।’ उनका कृतिहरु जीवन्त राख्नलाई अहिले डिजिटल प्रविधिमा राख्ने काम शुभारम्भ भइसकेको छ । पुस्तकहरुमा धमिरा लागेर आफ्नो लेखन सिर्जनाहरु हराउला भन्ने चिन्ता अब उनलाई छैन । डिजिटल माध्यममा गएपछि विश्वभर आफ्नो सिर्जना फैलने कुराले उनी प्रशन्न छिन् ।

शारीरिक कठिनाइकै कारण अहिले उनी सार्वजनिक कार्यक्रमहरुमा जान छोडेकी छिन् । उनी घरको बार्तलीसम्म पुग्छिन्, बगैंचा नियाल्छिन् ।

बगैंचामा आउने जुरेली, धोबी चरा, भँगेरा, परेवाको जीवनको स्वतन्त्र लय र उनीहरुको आनीबानी हेर्छिन् । त्यसो त चराजस्तै उनी पनि आफ्नै स्वतन्त्र लयमा बाँचिरहेकी छिन् । जुन उनको गर्विलो जीवन उनी आफैंप्रति मात्र नभएर आम मान्छेका लागि समेत बाँच्न सिकाउने उत्प्रेरणा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?