काठमाडौँ– फिल्म ‘मायावी’ प्रदर्शन मिति हेरफेर भएको छ । आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा) का लागि प्रदर्शन मिति तय गरेको फिल्म अब पुष २६ गतेबाट प्रदर्शनीमा आउने भएको छ ।
फिल्ममा अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनय रहेको छ । यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’को प्रदर्शन मिति सारिएको हो ।
‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा लक्ष्मीपूजामा नेपाली फिल्म ‘एक्टरस् टेक वान’ र बलिउडबाट ‘सिंघम ३’ र ‘भूल भूलैया ३’ मात्र आउने निश्चित थियो । पछि अर्को नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ र साउथको ठूलो फिल्म ‘कंगुवा’ पनि थपियो ।
जसले गर्दा पर्याप्त हल नपाइने भएपछि ‘मायावी’का निर्माताले सुरक्षित मिति खोजेका हुन् । अब यो फिल्म पुष २६ मा ‘कार्साङ्’सँग भिड्नेछ ।
‘मायावी’लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन् । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ लगायतको पनि अभिनय छ । ‘मायावी’को रिलिज ‘पोस्टपोन्ड’ भएपछि निर्देशक भट्टराई यही असोज ७ गतेबाट आफ्नो नयाँ एक्सन फिल्म ‘नरसिंहा अवतार’को छायांकन सुरु गर्ने तयारीमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया