मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित

गण्डकी – कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । 

आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुच्छ्रे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । 

यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेङ्गीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताउनुभयो । जनघनत्व बढी भएका ठाउँमा सङ्क्रमण छिटो फैलने हुँदा पोखरा डेङ्गीको ‘हट स्पट’ बनिरहेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालयले डेङ्गीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका सङ्क्रमितसमेत रहेको जनाएको छ ।  

सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे । 

पछिल्लो तीन महिनामा डेङ्गी सङ्क्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिनसक्ने प्रमुख नेपालीले बताए । “डेङ्गीलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उनले भने, “सङ्क्रमणपछि उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै बिरामीको मृत्युसमेत हुनसक्छ । यसैले डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ ।”

धवलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले डेङ्गी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताउनुभयो । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्न उनले आग्रह गरे । डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न नहुने डा प्रधानले बताए ।

 ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उनको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहपछि निको हुन्छन्, कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्छ । त्यसैले सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उनले भने ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?