मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

चित्रकलामा नयाँ प्रयोग गर्न रुचाउने आधुनिक कालका प्रणेता पाब्लो पिकासो

काठमाडौँ– विश्वचर्चित महान् चित्रकार पाब्लो पिकासोलाई बीसौँ शताब्दीका सबैभन्दा प्रभावशाली र विश्वकलाको आधुनिक कालका प्रणेता मानिन्छ । चित्रकला, मूर्तिकला र प्रिन्टमेकिङ, सेरामिक कला, डिजाइनिङ, कविता, नाटक जस्ता कला विधामा पोख्त उनले आधुनिक कलाको विकासमा दिएको योगदान विश्व कला जगतमा अतुलनीय छ ।

अक्टोबर २५, १८८१ मा स्पेनमा बुवा जोसो रूइज ब्लास्को र आमा मारियो पिकासो लोपेजको सन्तानका रुपमा जन्मेका पिकासोले सानै उमेरमा रेखाचित्र र चित्रकलाप्रति लगाव राख्थे । उनी पारिवारिक वातावरणबाट कलाकारिताप्रति आकर्षित थिए ।

उनले शुरु गरेको पहिलो स्पेनी शब्द ल्यापिज थियो । जसको अंग्रेजी अर्थ पेन्सिल हुन्छ । बुवा चित्रकार भएकोले प्रकृति र चरा जगतमा बढी आकर्षित थिए । उनलाई बुवाले सात वर्षको उमेरमा नै चित्रकला सिर्जनातिर लगाए ।

आफूभन्दा छोरा चित्रकलामा निपुण भए भन्ने बुवाको आत्मविश्वासकै कारण पिकासो १४ वर्षको हुँदा नै उनका बुवाले कलाकारिता छोड्ने निर्णय गरेका थिए । बुबा कला शिक्षक भएकै कारण कला सिर्जनामा लाग्ने थप प्रेरणा पाएका उनले बाल्यकालमा नै कलाप्रतिको अन्तर्निहित प्रतिभा र सिर्जनाशक्तिलाई प्रष्फुटन गरेका थिए ।

त्यसकारण उनले १३ वर्षको उमेरमा औपचारिक कला प्रशिक्षण शुरु गर्ने अवसर पाए । सन् १८९५ मा बुवाको कला शिक्षण पेशाकै कारण उनको परिवार बार्सिलोना सरेपछि उनी त्यतै ‘स्कूल अफ फाइन आर्ट्स’मा भर्ना भएका थिए ।

त्यसपछि थप अध्ययनकै लागि १८९७ मा म्याड्रिडस्थित सान फर्नान्डोको रोयल एकेडेमीमा गएका उनी परम्परागत शिक्षण पद्धतिबाट मोहित भएर एक वर्ष त्यहीँ रहे । पिकासोले आफ्नो पहिलो कला प्रदर्शनी बार्सिलोनामै १९ वर्षको उमेरमा गरेका थिए ।

१९०४ देखि पेरिस बसेका उनले कला सिर्जनामा अतियथार्थवाद र क्यूबिज्मलाई प्रयोग गरे ।

२०औं शताब्दीमा भएको कला विकास र विस्तारमा उनले महत्वपूर्ण योगदान दिए । कला सिर्जनामा क्यूबिज्मको विकासले उनी कला क्षेत्रमा क्रान्तिकारी कलाकारको रूपमा समेत स्थापित भए ।

विशेषत कलाकार जर्जस ब्राक र उनले १९०७ मा आविष्कार गरेको क्युबिज्म कला आन्दोलनले चित्रकला सिर्जनाको क्षेत्रमा आमूल परिवर्तन ल्याउने काम गर्‍यो ।

क्यूबिज्मवाद एक कला आन्दोलन थियो । जसमा वस्तुहरूलाई ज्यामितीय आकारहरूमा विभाजित गरेर अमूर्त रचनाहरूमा रुपान्तरण गरियो । कला जगतमा क्युबिस्ट चित्रहरू नै पिकासोका महत्वपूर्ण सिर्जना हुन् । यसले अमूर्त कला विकासका लागि मार्गदर्शन दिने काम गर्‍यो ।

क्यूबिज्मले पुनर्जागरणकालदेखि नै सिर्जना हुँदै आएको परम्परागत र प्रकृतिवाद सिर्जनालाई अस्वीकार गर्दै समतल क्यानभासमा ज्यामितीय आकारलाई समेत समावेश गर्‍यो ।

यसले आमा मानिसमा कलाबारे सोच्ने तरिकामा समेत परिवर्तन गर्‍यो । यसले २० औं शताब्दीको अमूर्त कला सिर्जनाको बाटो खोतल्दै २१ औं शताब्दीको कलायात्रालाई समेत प्रभाव पार्‍यो । कलामा नवीन शैली र वादलाई पछ्याइरहने उनले कहिले पनि सिर्जनालाई एउटै शैलीगत सीमाभित्र राखेनन् ।

उनी चित्र तथा मूर्तिकलामा नयाँ आयाम र शैलीहरुलाई खोज्ने काममा नै तल्लीन रहे । कलाप्रतिको उनको नवीन सोचले उनले कला सिर्जनामा नयाँ शैली, प्रविधि र विधिहरुको प्रयोग गरेर यसलाई फराकिलो बनाउने काम गरे । उनले आफ्नो जीवनको अन्तिम दशकसम्म पनि सिर्जनामा विभिन्न दृष्टिकोण, माध्यम र प्रविधिको प्रयोग गरिरहे ।

आफ्नो ९१ वर्षको जीवनकालमा झण्डै ८० वर्ष त उनले कला सिर्जनामा नै लगाए । आफ्नो जीवन नै कला सिर्जनामा समर्पित गरेका उनका कलामा मानवीय संवेदनाहरु बढी हाबी भएका छन् । उनको सिर्जनामा उनको व्यक्तिगत जीवन पनि प्रतिबिम्बित थियो । जसमा उनको जीवनको प्रेम, रोमान्स र उनको व्यक्तिगत सम्बन्धहरु समेत चित्रण भएका छन् ।

कलाकै माध्यममा उनले युद्धविरोधी भाव अभिव्यक्त गरेका छन् । उनले चित्रकलामा वर्गीय विभाजनले ल्याएको चरम गरिबी, अभाव, पारिवारिक विरह, एक्लोपना, युद्धले सिर्जित अशान्त परिवेश, मानवीय जीवनका निराशा, विसङ्गतिलाई उठान गरेका छन् । ‘द गुर्एनिका’ जस्ता विश्व प्रसिद्ध युद्धविरोधी चित्रकलामा उनले हिटलरको क्रुरता र अमानवीयतालाई चित्रण गरेका छन् ।

नाजीहरूले गरेको विनाशकारी आक्रमणपछि सिर्जना भएको पीडादायी अवस्थालाई उनले चित्रमा देखाएका छन् । चित्रकै माध्यममा आम मानिसले चाहेको शान्ति र युद्धको सन्त्रासलाई जीवन्त रुपमा चित्रण गरी बन्दुकभन्दा कलम र कुची शक्तिशाली हुन्छ भन्ने सन्देश उनले दिएका छन् ।

सन् १९३० मा अतियथार्थवादलाई शैलीलाई पछ्याएका उनले १९४० देखि १९५०को अवधिमा अमूर्त कला सिर्जनाहरुमा शास्त्रीय तत्वहरुलाई समावेश गरे ।

पिकासोले चित्रकारका रुपमा प्रसिद्धि कमाए पनि उनले आफ्नो जीवनको पछिल्लो वर्षहरूमा कविता र नाटक लेखे । उनले तीन सयभन्दा बढी कविता र दुई अतियथार्थवादी नाटक पनि लेखेका छन् ।

यी विधामा उनको सिर्जना चित्रकला जत्तिकै चर्चित नभए पनि विश्व साहित्य जगतका समालोचकहरुको आँखामा उनका साहित्यिक सिर्जनाहरु परेका थिए ।

पिकासोले आफ्नो जीवनकालमा चित्र, मूर्ति, प्रिन्ट कला, डिजाइन, कविता, नाटक गरी एक लाखभन्दा बढी सिर्जनाहरु गरे । कलाकारितामा पुर्‍याएको योगदानकै कारण उनी सन् १९५० र १९६१ मा दुई पटक अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट सम्मानित भए ।

पिकासोको सन् १९७३ अप्रिल ८ मा ९१ वर्षको उमेरमा निधन भयो । भौतिक रुपमा उनी यस संसारमा नरहे पनि उनका सिर्जनामार्फत उनी कलाप्रेमीमाझ बाँचिरहेका छन् । उनका कलाकृतिहरु यो शताब्दीमा पनि एक सय मिलियन डलरसम्ममा बिक्री भएका छन् ।

उनका सिर्जना न्यूयोर्क शहरको ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट’ बार्सिलोनाको ‘म्यूज्यु पिकासो’ र म्याड्रिडको ‘सोफिया रेना’ संग्रहालयमा सङ्ग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?