मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रह्माण्ड

ग्रहको मान्यता नपाएको ‘प्लुटो’, कस्तो छ यहाँको वायुमण्डल?

काठमाडौँ– सन् २००६ मा अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयू) ले यम अर्थात् प्लुटोलाई दिइएको ग्रहको मान्यता खारेज गर्‍यो । २००६ मा बसेको आईएयूको महासभाले ग्रहको मान्यता खारेज गर्दै प्लुटोलाई फुच्चे ग्रह अर्थात् ड्वार्फ प्लानेटको मान्यता दिएको थियो ।

त्यसबेलासम्म सौर्यमण्डलको नवौँ एवम् सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रहको मान्यता खारेज गर्ने आईएयूको निर्णयले धेरैलाई आश्चर्यमा पर्‍यो । किनभने यो निर्णय वैज्ञानिकले नभई खगोलशास्त्रीहरुले गरेका थिए ।

सन् २००६ मा ग्रहको मान्यता नदिने निर्णय हुँदा प्लुटो पत्ता लागेको केबल ७६ वर्ष मात्रै भएको थियो । त्यस निर्णय गर्दा आईएयूले सौर्यमण्डलमा ग्रह बन्न आवश्यक मापदण्डमा नै व्यापक परिवर्तन गर्‍यो ।

प्लुटो ग्रहलाई खगोलशास्त्रीहरूले ग्रहको मान्यता नदिएपछि अहिले यो ग्रहलाई बिम्बका रूपमा समेत प्रस्तुत गर्ने गरिएको छ । जस्तो कि, प्लुटो ग्रहलाई ग्रहको मान्यता नदिए पनि उसले सूर्यको वरिपरि घुम्न छोडेको छैन । त्यस्तै कतिपयले आफूलाई ‘प्लुटो’ का उपनामले चिनाउन रुचाउँछन् । कसैले आफूलाई मानेकै छैन भने ती व्यक्तिहरूले आफूलाई प्लुटो भन्न रुचाउँछन् ।

आखिर प्लुटो कस्तो अकाशीय पिण्ड हो ?

प्लुटोको खोजीबारे एउटा रोचक प्रसङ्ग यहाँ उल्लेख गर्नु महत्वपूर्ण छ । सन् १७८१ मा जर्मन–बेलायती खगोलशास्त्री विलियम हर्शलले अरुण ग्रह (युरानस) को खोजी गरेका थिए । पछि वैज्ञानिकहरुले अध्ययन गर्दै जाँदा युरानसभन्दा पनि अझै टाढा रहेको कुनै अज्ञात ग्रहको गुरुत्व प्रभावका कारण यसको कक्षमा परिक्रमा पथमा असर परिरहेको पत्ता लाग्यो ।

त्यसपछि वैज्ञानिकहरु युरानसभन्दा टाढा रहेको आठौँ ग्रहको खोजीमा लागे । अज्ञात ग्रहको खोजी हुँदै गर्दा सन् १८४६ मा त्यो पत्ता लाग्यो । वैज्ञानिकहरुले त्यस ग्रहलाई वरुण ग्रह (नेप्चुन) को नाम दिए ।

पछि अध्ययन गर्दै जाँदा नेप्चुनको परिक्रमा पथमा पनि कुनै अज्ञात ग्रह वा आकाशीय पिण्डको प्रभाव रहेको देखियो । त्यसपछि शुरु भयो, अज्ञात नवौँ ग्रहको खोजी । अनेक खोजपछि १९३० मा अमेरिकी खगोलशास्त्री क्लड डब्लू टाम्बोले सौर्यमण्डलमा वरुण अर्थात् नेप्चुन ग्रहभन्दा टाढा प्लुटोको अस्तित्व पत्ता लगाएका थिए ।

प्लुटो पत्ता लाग्नेबित्तिकै यसलाई तत्कालै सौर्यमण्डलको नवौँ ग्रहको मान्यता समेत दिइएको थियो । तर, आकारमा धेरै नै सानो र सूर्यबाट धेरै टाढा रहेकाले प्लुटोबारे पहिलेदेखि नै वैज्ञानिक र खगोल जगतमा केही बढी नै चासो र जिज्ञासा थियो ।

साँच्चै भन्दा प्लुटो सौर्यमण्डलको बाहिरी भागमा रहेको काइपर बेल्टमा अवस्थित छ । केबल २ हजार ३ सय किलोमिटर व्यास भएको प्लुटोको सतहमा प्रायः बरफ, पत्थर र अन्य यौगिकहरू पाइन्छ । यसको सतहको रंग खैरो र रातो छ । प्लुटोको वातावरण अत्यन्त पतलो रहेको ठानिन्छ । मुख्यतया यसको वातावरण नाइट्रोजन, मिथेन र कार्बन मोनोअक्साइडबाट बनेको छ ।

हालसम्म प्लुटोका पाँच वटा उपग्रह पत्ता लागेका छन् । यसमा एक दिन हुन पृथ्वीको तुलनामा ६ दिन, ९ घण्टा १७  मिनेट लाग्छ भने २ सय ४८ वर्षमा यसले सूर्यको एक चक्कर पूरा गर्छ ।

२०१५ मा अमेरिकी अन्तरिक्ष निकाय नासाको न्यू होराइजन्स अन्तरिक्ष यानले प्लुटोको नजिकबाट उडान भरेको थियो । त्यस यानले पठाएका तस्बिरबाट प्लुटोको सतह र वातावरणबारे विस्तृत अध्ययन गरिएको थियो ।

ग्रहहरू के हुन् र प्लुटो किन हटाइयो?

अब सूर्यलाई परिक्रमा गर्ने र चन्द्रमा समेत भएको आकाशीय पिण्ड प्लुटोलाई दिइएको ग्रहको मान्यता किन खारेज गरियो त भन्ने प्रश्न उठ्नसक्छ । यसका लागि हामीले शुरुमा ग्रह भनेको के हो भन्ने बुझ्नु आवश्यक छ ।

सन् २००६ मा आईएयूले ग्रहको नयाँ परिभाषा अघि सारेको थियो । आईएयूका अनुसार ग्रह हुनका लागि सूर्यको वरिपरी घुम्ने आकाशीय पिण्डले तीन वटा मापदण्ड पूरा गर्नुपर्छ ।

ती मापदण्डको पहिलो बुँदामा हरेक ग्रहले सूर्यको चारैतिर आफ्नो निश्चित कक्षामा घुम्नुपर्छ । त्यस्तै, दोस्रो बुँदामा ग्रहको आफ्नै गुरुत्व बलको प्रभावका कारण गोलाकार हुनुपर्छ ।

ग्रह हुनका लागि आवश्यक पर्ने मापदण्डको तेस्रो बुँदामा उक्त आकाशीय पिण्डको सूर्यको वरिपरी घुम्ने कक्षमा समान किसिमका पिण्ड रहनुहुँदैन, वा ग्रहको कक्ष सफा हुनुपर्छ ।

प्लुटोले पहिलो र दोस्रो मापदण्ड पूरा गरेपनि तेस्रो मापदण्ड पूरा गर्दैन । सूर्यको वरिपरी घुम्ने प्लुटोको कक्षलाई काइपर बेल्ट भनिन्छ । यो बेल्टमा नेप्चुनभन्दा टाढा अझै टाढा पर्छ । यो बेल्टमा प्लुटोजस्तै अरु पनि फुच्चे ग्रह र अन्य सानाठूला आकाशीय पिण्डहरु छन् । जसलाई ‘काइपर बेल्टका वस्तुहरु (काइपर बेल्ट अब्जेक्ट्स–केबीओ)’ भनिन्छ ।

काइपर बेल्टमा प्लुटोजस्तै धेरै फुच्चे ग्रह पाइन्छन् । फुच्चे ग्रहको आकार र संरचनामा भेटिन्छन् । मुख्यतयाः फुच्चे ग्रहमा प्लुटोमा जस्तै बरफ, चट्टान, र अन्य यौगिकहरूको मिश्रण पाइन्छ । यस्ता आकाशीय पिण्डले सूर्यलाई घुम्ने कक्ष पनि असमान किसिमका हुन्छन् ।

तर, खगोलशास्त्रीहरूले प्लुटोलाई ग्रहमा हुनुपर्ने मापदण्ड नभएको भन्दै हटाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?