कानेगुजी हाम्रो शरीरबाट निस्कने एउटा यस्तो प्राकृतिक तत्त्व हो जसको एउटा महत्त्वपूर्ण काम हुन्छ । यसले हाम्रो कानलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ ।
यसले कानको नलीको माथिल्लो भागमा जमेको पत्रलाई सुक्न र त्यसमा चिरा पर्नबाट रोक्छ भने कानलाई धुलोको कण र पानीबाट जोगाउँछ जसले संक्रमणलाई रोक्नमा मद्दत गर्छ ।
हुन त धेरैजसो हाम्रो कानको नली आफैँ सफा भइरहन्छ । अर्थात कानेगुजी सामान्य रुपमा कुनै समस्या होइन । तर यो धेरै मात्रामा बन्न थाल्यो भने यो एउटा यस्तो अवरोधक बन्न सक्छ जसले कान दुख्न सक्छ वा कतिपय अवस्थामा त श्रवण शक्ति नै कमजोर हुनसक्छ ।
यस्तो अवस्थामा कसरी सफा गर्ने त कानेगुजी ?
कानेगुजी निकाल्न अस्पताल जानुभयो भने डाक्टरले कानेगुजीलाई नरम गर्ने झोल पदार्थ कानमा केही सातासम्म हाल्न लगाउँछन् ।
कानेगुजी नरम भइसकेपछि सिरिन्जबाट मनतातो पानी कानभित्र जोडसँग हालेर कान सफा गरिदिन्छ । यसो गर्दा तपाईँको पैसा र समय दुवै खर्च हुन्छ । घरमै पनि कानेगुजी निकाल्न सकिन्छ
नुनपानी
आधा कप मनतातो पानीमा एक चम्चा नुन मिसाउने र यसलाई राम्रोसँग घोल्ने । घोलिएको पानीमा कपास भिजाउने र निचोरेर कानमा त्यसको थोपा झार्ने । कानमा हालेको पानी नपोखियोस् भन्नका लागि कानलाई माथिपट्टि पार्ने । केही समयसम्म यही आसनमा बस्ने र पानीलाई भित्रैसम्म पस्न दिने । त्यसको केही समयपछि निहुरिएर कानलाई तलतिर पार्ने । केही दिन यो प्रक्रिया अपनाएमा कानेगुजी निस्किन्छ ।
बच्चालाई लगाउने तेल
बच्चालाई लगाउने तेलको केही थोपा कानमा हाल्ने र तेल नपोखियोस् भन्नका लागि कानको प्वालमा कपासको डल्लो खाँद्ने । केही दिनसम्म नियमित यसो गर्नाले कानेगुजी नरम हुन्छ र आफैँ बाहिर निस्किन्छ ।
जैतुनको तेल
कानेगुजी निकाल्ने उत्तम तरिकामध्ये जैतुनको तेलको प्रयोग पनि एक हो । राति सुत्ने बेलामा कानमा दुई तीन थोपा जैतुनको तेल हाल्ने । तीन चार दिन लगातार यसो गर्नाले कानेगुजी निस्किन्छ ।
मनतातो पानी
सफा मनतातो पानी कानेगुजी भरिएको कानमा हाल्ने र केही समयसम्म त्यसै छोड्ने । त्यसपछि कानलाई तलतिर पारेर पानी झार्ने । केही दिनसम्म यसो गर्नाले कानेगुजी कम हुँदै जान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया