काठमाडौँ– रङ्गकर्मी एवम् लेखक टंक चौलागाईँ विद्यालयका कक्षाकोठामा पुग्नासाथ विद्यार्थीले स्वरको माला उनेर भन्छन्, ड्रामा सर ।
विद्यार्थीको उत्सुकुता र भावभङ्गी देख्दा उनलाई त्यो पल निकै रमाइलो लाग्छ । विद्यार्थी उनको नजिकै आउँछन् । आफ्ना कुरा भन्न थाल्छन् । मानौँ, लामो समयदेखि ‘ड्रामा सर’ आउनुहोला र हामीले भनौँला भनेर प्रतीक्षा गरिरहेका छन् ।
टंक पनि विद्यार्थीसँग उत्तिकै प्रेमपूर्वक व्यवहार गर्छन् । त्यसैले त उनी पनि हरेक विद्यार्थीका उत्तिकै प्रिय छन् ।
टंकले झुम्म पालेको कपाल तान्दै कसैले आफूतिर तान्छन् त कतिले हात समाएर अर्कोतिर लैजान खोज्छन् । त्यही मायाले बालबालिका क्षेत्रमा अझै गर्नुपर्छ भन्ने हिम्मत थप शक्तिशाली भएर आइदिन्छ उनका लागि ।
विद्यालय पुगेका बेलामा उनी विद्यार्थीसँगै खेल्छन् र नाटक सिकाउँछन् । यही दैनिकीमा उनले डेढ दशक बिताइसकेका छन् । कहिलेकाहीँ उनी बाटाे हिँडिरहेका बेला स्कूलको बसबाट विद्यार्थीले एकै स्वरमा चिच्याएर बोलाउँछन्, ड्रामा सर ।
बालबालिकाको यो मायाले उनलाई भएभरको खुशी दिन्छ ।
बालबालिकालाई नाटक सिकाउँदै आफ्नो जीवनको स्वर्णीम समय बिताएका टंकले साहित्यका क्षेत्रमा पनि उत्तिकै योगदान दिएका छन् । हालै मात्र उनले ‘थाहा’ आन्दोलनका प्रवर्तक एवं ऐतिहासिक व्यक्तित्व रूपचन्द्र विष्टको जीवनमा आधारित उनको उपन्यास ‘रुदाने’ सार्वजनिक गरेका छन् ।
राजनीतिक रुपमा समेत विशिष्ट स्थानमा रहेका व्यक्ति रुदानेको जीवनीलाई आख्यानमा ढाल्ने उनको प्रयासको बिस्तारै चर्चापरिचर्चा भइरहेको छ । उक्त आख्यानमा टंकले वास्तविक जीवनमा आधारित कृतिलाई सूचनामूलक मात्र नभएर आख्यानको मिठास र सौन्दर्य समेत भर्ने जमर्को गरेको बताउँछन् ।
त्यसो त आख्यानमा चौलागाईंको यो पहिलो कृति भने होइन । यसभन्दा अघि उनका उपन्यासहरू ‘जिरो कटेज,’ ‘काठमाडौं गीत,’ ‘टालाटुली’ र ‘उबडखाबड’ प्रकाशित भइसकेका छन् । कथादेखि नाटक, बालबालिकादेखि युवा, वयस्क प्रत्येक उमेरका पाठकका अनुभूतिलाई उनले आफ्ना कृतिमा खोतलेका छन् ।
उनी समकालीन समय, मानवीय, प्रकृति र पर्यावरणलाई समेत आफ्नो लेखन सिर्जनामा समेट्छन् ।
साहित्यिक फाँटमा विशेष गरी बाल कथाकार र उपन्यासकारका रूपमा उभ्याएका उनी बाल रङ्गमञ्चमा भने अझ बढी भिजेका छन् ।
नाटक तथा कथामा कतिपय आफ्नै अनुभूति र अनुभवलाई समेट्ने टंक बालरङ्गमञ्चका लागि भने ‘ड्रामा सर’ नै हुन् । ‘ड्रामा सर’ को उपनाम बोकेर स्कूले नानीबाबुसँगै उनी हिँडिरहेका छन् । सिर्जना यात्रामा होमिएपछि उनले बिताएका जीवनका अधिकांश समय उनले बालबालिकाहरुसँग बिताएका छन् ।
उनका लागि बालबालिकाका कुरा उत्तिकै मीठा र रोचक हुन्छन् । तिनै बालबालिकाहरुले सुनाउने विभिन्न स्मरण, कथा र भावनाहरुलाई मिसाउँदै त्यसैलाई उनी नाटक तथा कथाहरुको स्वरुपमा ढाल्छन् । त्यही नाटक र कथामा भएका बाल पात्रहरुको मनोभावनाहरुमा थोरै उनी आफूलाई पनि समाहित गर्छन् ।
यसैमा उनले आफ्नो लेखन सिर्जना यात्राको आनन्द लिइरहेका छन् ।
भन्छन्, ‘अहिलेका बालबालिकामा असाध्यै सिर्जनशीलता छ । हामीले सोचेजस्ता उनीहरु छैनन् । तिनै बालबालिकासँगै नाटक सिकाउँदै, पढाउँदै आफैं बच्चा हुनुमा बेग्लै आनन्द छ ।’
काभ्रे कोसीपारीस्थित चौरीदेउरालीमा प्रेमप्रसाद र लक्ष्मी चौलागाईंको जेठो सन्तानका रुपमा वि.सं.२०३९ सालमा जन्मिएका रङ्गकर्मी चौलागाईंले साहित्यिक लेखनभन्दा रङ्गमञ्चलाई नै पेशाका रूपमा अगाडि बढाइरहेका छन् ।
उनका लागि नाट्य क्षेत्र जीविकोपार्जनको बाटो हो भने साहित्यिक लेखन अनुसन्धान र लेखनका लागि अझ थप परीक्षण पनि हो । बाल संसारका सिर्जनालाई अझै परिपक्व बनाइ उनी आख्यानको यात्रामा लाग्छन् ।
चौरीदेउरालीबाट उनको परिवार २०४९ सालमा काठमाडौँ काँडाघारीमा बसाइँ सर्यो । काठमाडौँ बसाइँपछि अर्को वर्ष बुवाले परिवारका लागि घर ठड्याए । काठमाडौँ छिरेपछि गान्धी स्कूलमा तीन कक्षामा भर्ना भएका उनले त्यहीबाट २०५५ मा एसएलसी उत्तीर्ण गरे ।
त्यसपछि अध्ययनसँगै जीविकोपार्जनकै लयमा हिँडेका उनले २०५७ ताका एम आर्ट थिएटरको नि:शुल्क अभिनय कक्षाको पोस्टर देखे । जतिबेला उनका बुवाआमा बानेश्वरमा चिया पसल सञ्चालन गर्थे । त्यही पोस्टर देखेर उनी रङ्गकर्मी वीरेन्द्र हमालसम्म पुगे ।
वीरेन्द्र हमाल अहिले पनि रङ्गमञ्चको दुनियाँ अहिले पनि उत्तिकै सक्रिय छन् ।
त्यसपछि एम आर्ट थिएटरको दोस्रो ब्याचका विद्यार्थीको रुपमा उनको औपचारिक रङ्गमञ्च यात्रा शुरु गरे । त्यतिबेला गुरुकुलको समेत स्थापना भइसकेको थियो । एम आर्ट थिएटरको औपचारिक प्रशिक्षण लिएपछि गुरुकुलमै प्रवेश नगरे पनि उनले स्वतन्त्र रङ्गकर्मीका रुपमा विभिन्न नाट्य कार्यशालामा सहभागिता जनाए ।
यता उनी रङ्गमञ्चको यात्रामा थिए भने लेखनमा समेत उनले आफ्नो हात बसाइसकेका थिए । विशेषत उनी हास्यव्यङ्ग्य कविताहरुसँगै गजलहरु पनि लेख्थे । आफूले लेखेका कविताहरु उनी एफएम रेडियोहरुतिर पठाउँथे भने आफू पनि खुब सुन्थे । बाल साहित्य र नाटक लेखनहरुमा समेत उनको अग्रसरता बढ्दै गयो । उनको पहिलो अभिनय रहेको नाटक भने सरुभक्तको ‘जिउँदा अवशेषहरू’ हो ।
वि.सं. २०५९ ताका सो नाटक मञ्चन भएको थियो । त्यसयता उनले आफ्ना गुरू वीरेन्द्र हमालको निर्देशनमा ‘बरि लै,’ ‘आशा’ लगायत अरु विभिन्न निर्देशकहरुसँग ५० भन्दा बढी नाटकहरुमा अभिनय गरेका छन् ।
चौलागाईंले नाट्य क्षेत्रमा नाटक सिर्जना, नाटक मञ्चन, अभिनय जस्ता पक्षहरुबाट नै बालबालिकाहरुका लागि पनि केही गर्न सकिने अवधारणा सोचे । त्यसका लागि उनले सबैभन्दा उपयुक्त थलो विद्यालयमा देखे । बालबालिकाका लागि नाटक र रङ्गमञ्च तिनको सर्वाङ्गीण विकासका लागि आधार बन्न सक्छ भन्ने हेतुले उनी विद्यालयमा पुगेका थिए ।
शुरुमै उनी बानेश्वरस्थित ‘भ्याली भ्यु स्कूल’मा पुगे । त्यहाँ उनको नाटकको अवधारणालाई विद्यालयले स्वीकार गर्यो । यसरी ६० को दशकको मध्यतिरदेखि विद्यालयमा बालबालिकाहरुलाई थिएटर पढाउन थालेका उनी अहिलेसम्म पनि पढाइ नै रहेका छन् ।
भ्याली भ्युसँगै काठमाडौं प्रज्ञा कुञ्ज, इम्पेरियल वर्ल्ड स्कूल र ग्लोबल पब्लिक स्कूलमा अहिले उनले पढाइरहेका छन् । शुरुवाती समयमा विद्यालय र अभिभावकलाई थिएटर र नाटकलाई बुझाउनै कठिन भए पनि अहिले भने सहज अवस्था रहेको टंक सुनाउँछन् ।
यसमा हुने बाल सहभागिता, बाल प्रतिभा प्रस्फुटनसँगै सामाजिकीकरण समेत बालबालिकाहरुको उत्साहपूर्ण परिवर्तनले प्राय: विद्यालयले अहिले ‘को–करिकुलम एक्टिभिटिज’ अन्तर्गत राखेर नाटक सिकाउँदै आएका छन् । अहिले उनीसँगै पुष्पराज अवस्थी, प्रभाकर न्यौपाने लगायत अधिकांश रङ्गकर्मीहरू विद्यालयहरुमा अभिनय सिकाइरहेका छन् ।
यसकै प्रभावले नेपालमा बाल रङ्गमञ्च र नाटकको स्थान समेत माथि उठेको छ । यसमा चौलागाई निकै खुसी र सन्तुष्ट छन् ।
बाल रङ्गमञ्च र नाटकको अहिलेसम्मको विस्तारको लागि बानेश्वरमै ५० कै दशकमा रङ्गकर्मी सरोज अर्यालले स्थापना गरेको पम्किन थिएटरको समेत उत्तिकै भूमिका रहेको उनी सुनाउँछन् ।
उक्त थिएटरमा समेत उनले कैयन् नाटकहरुमा अभिनय गरेका थिए । उनको विचारमा नाटक बालबालिकाहरुका लागि केवल अभिनय कला र मनोरञ्जन मात्र होइन । बाल मनोविज्ञान र उनीहरुको व्यक्तित्व विकासमा समेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
नाटक गर्दागर्दै बालबालिकाहरुले समूहमा बसेर काम गर्ने, आफ्नो जिम्मेवारी बोध गर्ने, परिस्थितिको सामना गर्ने र आफ्नो आत्मबल क्षमता समेत वृद्धि गर्ने उनले सुनाए । उनका अनुसार नाटकमा बोलिने संवाद, पात्रको मनोभावना अनुसारको अभिनयले उनीहरुमा भाषागत र संवात्मक लयमा समेत परिपक्कता आउँछ ।
बालरङ्गमञ्चमा बिताएको समयले उनलाई बाल कथाकार र नाटककार समेत बनाएको छ । ‘किताबभित्र किताबबाहिर’ २८ वटा नाटकहरूको सङ्ग्रहमा उनले बालबालिकाहरुका अनेक पाटोहरुलाई केलाएका छन् ।
सङ्ग्रहमा रहेको शीर्ष नाटकसँगै ‘भोला,’ ‘पाठशाला,’ ‘तुलसी,’ ‘रोल नम्बर ४’ जस्ता उनका बाल नाटकहरुलाई बालबालिकाहरू मात्र नभएर अभिभावहरुले समेत निकै रुचाएका छन् । दर्जनभन्दा बढी उनका बाल कथा सङ्ग्रह प्रकाशित छन् । कान्तिपुरको ‘कोपिला’ अन्नपूर्ण पोस्टको ‘अंकुर’ लगायत विभिन्न पत्रपत्रिकाका परिशिष्टाङ्कहरुमा उनका बाल कथा प्रकाशित भएका छन् ।
लामो समय बालबालिकासँग बिताएको अनुभवले उनले बालसंसारलाई नजिकबाट नियालेका छन् । उनकै अनुभवका आधारमा भन्दा बालबालिकाहरू स्वतन्त्रता चाहन्छन् । बुवाआमा, घरपरिवार, विद्यालयको नियमभित्र भन्दा पनि स्वतन्त्रताको लयमै उनीहरु हिँड्न चाहन्छन् ।
बालबालिकाले धेरै कुरा स्वविवेकले सिक्छन् । उनी जोय नेपालको कुराकानीमा सुनाउँछन्, ‘हामीले त नाटकमा पनि बालबालिकाहरुका लागि वातावरण मात्र बनाइदिने हो । बच्चाहरूलाई बच्चा नै रहन दिनुपर्छ भन्ने हाम्रो धारणा हो । उनीहरुलाई हामीलाई भन्दा धेरै कुरा थाहा हुन्छ ।’
बालबालिकालाई थिएटर पढाउने क्रममा उनले बाल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएका छन् । बालनाटक लिएर उनी बेलारुस, पोल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, श्रीलङ्का, फ्रान्ससम्म पुगेका छन् ।
‘लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’को तेस्रो संस्करणसम्म सम्पन्न गरेका उनी चौथो संस्करणको तयारीमा छन् । राष्ट्रिय स्तरमा समेत विभिन्न विद्यालयहरुको सहकार्यमा उनले विद्यालयस्तरमै नाटक महोत्सवहरु गर्दै आएका छन् ।
त्यस्तै विद्यालयका बालबालिकाहरु केन्द्रीत प्रत्येक हप्ताको शनिवार उनले ‘लालाबाला’ कक्षा समेत सञ्चालन गर्दै आएका छन् । अहिले ‘लालाबाला’को सातौं ब्याच सञ्चालनरत छ ।
बाल रङ्गमञ्चसँगै वर्षको एकैपल्ट भए पनि सामाजिक, आर्थिक, राजनीतिक जस्ता क्षेत्रका बेथिति, विसङ्गतिजस्ता समस्यालाई टिपेर उनी नाटक घरमा आउँछन् ।
युवाविहीन बन्दै गएको देशमा युवाहरुलाई कसरी देशभित्रै समेट्न सक्छ भन्ने उनको नाटक ‘युगको साँचो’ हालै मात्र बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिएको थियो । यसअघि मञ्चन भएका उनका ‘माधवी,’ ‘यायाती,’ ‘योगमाया’ नाटकहरुलाई दर्शकले निकै रुचाएका थिए ।
नाटककै मात्र लागेर मात्र जीवन निर्वाह गर्न सकिँदैन भन्ने जमातमा उनले यसैलाई पेशाकै रुपमा अगाडि बढाएका छन् । रङ्गमञ्चमा नाटक अभिनय मात्र नभएर लेखन सीप, प्रकाश, मञ्च व्यवस्थापनजस्ता ‘ब्याक स्टेज’मा बसेर गर्न सकिने कामहरुले यसमा दिगो रहने सक्ने उनको भनाइ छ ।
उनकै शब्दमा ‘थिएटरमा नयाँ जोश र शिल्प लिएर आउने पुस्ताका लागि भविश्य छ । बाहिरबाट भनिएजस्तो डरलाग्दो स्थिति रङ्गमञ्चमा छैन ।’
हिजोका दिनमा रङ्गमञ्चमा आउनुपूर्व जीपकोपार्जनकै लागि उनले आमासँगै गार्मेन्टमा काम गरे । नेपाल वायुसेवा निगम(एनएसी) सडक बारमा बसेर पुस्तक बेच्ने काम समेत गरे । यसले उनलाई साहित्य सिर्जनातिर बाटो देखाउने काम गर्यो ।
नाट्य क्षेत्रमा आएपछि उनको जीविकोपार्जन यतैबाट भइरहेको छ । परिवार उनको यही सिर्जना यात्राले खुशी छन् । रङ्गमञ्चमा आउनुपर्ने नयाँ कुरा र पद्धति स्थापित भएको छैन भन्ने उनलाई लाग्छ ।
उनकै पहलमा रङ्गमञ्चमा विशेष पद्धतिको विकासका लागि भ्याली भ्यु, प्रज्ञा कुञ्ज स्कूल र न्यारेटिभ नेपालको सहयोगमा केही महिनाअघि मात्र अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक माइकल चेकवसँग ‘माइकल चेकव पद्धति’को कार्यशाला गरिएको थियो ।
आफैंले पनि रङ्गमञ्चमा हलचल ल्याउन सक्ने सिर्जना पस्कन नसके पनि यो क्षेत्रका लागि केही न केही योगदान गरेको उनी सुनाउँछन् ।
‘हामीले यो क्षेत्रका लागि अझै पनि धेरै गर्न बाँकी छ । अबका दिनमा साहित्य होस् या नाटक लेखनहरुमा अब उनलाई आफूभन्दा पनि सिर्जनालाई चिनाउनु छ । ‘सिर्जना चिनिएमा मात्र सर्जकहरु चीरकालसम्म रहन्छ,’ उनी भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया