काठमाडौँ – अफगानी नागरिकमा शक्तिबर्धक पेय पदार्थको मोह बढेको छ । क्याफिन र चिनीको मात्रा उच्च भएको र प्रायः पिउने पानीभन्दा बढी उपलब्ध हुने इनर्जी ड्रिङ्क्सलाई धेरै अफगानीहरूले अपर्याप्त आहारको पूरकको रूपमा हेर्छन् ।
पश्चिमी अफगानिस्तानमा रहेको एक कम्पनीमा हरेक सेकेन्ड २४ वटाको दरले उत्पादन हुने शक्तिवर्धक पेय पदार्थ ‘इनर्जी ड्रिङ्क्स’ अफगानीहरूले आफ्नो जीवनको कठिनाई लुकाउन र निराश मनको लहरलाई तृप्त पार्ने आकर्षक वस्तु हो ।
तालिवान समूह सत्तामा आएपछि अफगानिस्तानले इस्लामिक कानून अनुकुल नभएको भनी यहाँका महिला तथा बालबालिकाका अधिकारमा भारी कटौती गरेको छ भने पश्चिमी प्रभावका धेरै वस्तुलाई प्रतिबन्ध लगाएको छ । तर अमेरिकी सैनिकसँगै अफगानिस्तान भित्रिएको उत्तेजक पेयको मोह अझै बाँकी छ । बढिरहेको छ ।
अफगानिस्तानमा मदिरा प्रतिबन्धित छ तर क्याफिन युक्त इनर्जी ड्रिङ्क्स प्रहरीदेखि बालबालिकासम्म सबैले सेवन गर्छन् ।
“यहाँका युवाको जीवन सङ्घर्ष र कठिनाइले भरिएका छन्”, हेरात सहरको सुपरमार्केटमा ४० प्रकारका इनर्जी ड्रिङ्क्सको व्यापार गर्ने मिलाद गजनवीले भने, “यो मानिसहरूको लत बनेको छ ।” विश्व खाद्य कार्यक्रमका अनुसार गरिबीबाट ग्रस्त अफगानिस्तानका करिब ९० प्रतिशत मानिस अपर्याप्त खानामा बाँचिरहेका छन् ।
गुलजार नाम गरेका एक मजदुरले आफु दिनको १४ घण्टासम्म मजदुरी गर्ने र दिनभरीको थकान मेटाउन चार बोतल इनर्जी ड्रिङ्क्स पिउने बताए । गुलजारको आहारमा १०० ग्रामभन्दा बढी चिनी हुन्छ । यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको भन्दा दुई गुणा बढी हो ।
अमेरिकी खाद्य तथा औषधी प्रशासनका अनुसार अत्यधिक क्याफिनको सेवनले उच्च रक्तचाप, मुटुको धड्कन, चिन्ता र अनिद्रा निम्त्याउन सक्छ । तर गुलजार आफुसँग अन्य कुनै विकल्प नभएको बताउँछन् ।
स्थानीय ब्रान्डको इनर्जी ड्रिङ्क्स लगभग ३० अफगानी मात्र पर्छ जबकी आयातित दुई सबैभन्दा लोकप्रिय विश्वव्यापी ब्रान्ड ‘रेड बुल’ वा ‘मोन्स्टर’ भने अधिकांश अफगानीको पहुँचभन्दा बाहिर छ ।
विदेशी सहायतामा भर पर्ने गरिब अफगानी उच्च मुल्यमा इनर्जी ड्रिङ्क किन्न असमर्थ छन् र यसको सट्टा क्याफिनयुक्त ग्रीन टी र पाउरोटीको आहारमा बाँचिरहेका छन् ।
पश्चिमी हेरातको औद्योगिक केन्द्रमा रहेको ‘पामिर कोला’ नामक कम्पनीले दैनिक १० लाखभन्दा बढी इनर्जी ड्रिङ्क्स उत्पादन गर्ने गरेको बताएको छ । आफूलाई यस व्यवसायको एक सानो खेलाडी बताउने पामिर कोलाले अफगानिस्तानका चार करोड नागरिक प्रत्येकका लागि दिनको दुई वट्टा ९क्यान० को दरले उत्पादन गर्ने अनुमान गरेको छ ।
“अफगानिस्तानका मानिसहरू जसले कडा श्रम गर्छन् तर राम्रो खाना पाउँदैनन्, उनीहरूका लागि सबैभन्दा राम्रो ऊर्जाको स्रोत इनर्जी ड्रिङ्क्स पिउनु हो,” पामिर कोलाका सञ्चालक जाहिर शाह बहादुरले भने । “अफगानिस्तानमा इनर्जी ड्रिङ्क्सको व्यापार राम्रो छ र सम्भवतः अझ राम्रो हुनेछ,” उेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया