मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

दाँत पहेँलो हुने कारण के हो? कसरी स्वस्थ राख्ने?

दाँत मानिसको सौन्दर्यसँग जोडिएको हुन्छ । चिटिक्क मिलेका र सेता दाँतले व्यक्तिगत सुन्दरतालाई अझ खुलाउँछ । राम्रा दाँतका कारण आत्मविश्वास पनि बढ्छ । तर, कसैका दाँत भने पहेँला हुन्छन् । दाँत पहेँला हुँदा हाँस्न पनि असहज हुने परिस्थिति सिर्जना हुन्छ ।

दाँत पहेँला हुने विभिन्न कारण छन् । तीमध्ये एक कारण दाँतमा धुम्रपानको सेवन पनि हो भने अर्को मुख्य कारण ब्रस नगर्नाले पनि हो ।

आखिर के कारणले दाँत पहेँला हुन्छन् र यसका समस्याका उपायहरू के छन् लगायतका विषयमा दन्त चिकित्सक डा. सुनिता कार्कीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

कतिपयमा दाँत पहेँलो हुने समस्या देखिने गरेको पाइन्छ । यस्तो किन हुन्छ?

सामान्यतया दाँत डिस्कलर हुने तीन कारण छन् । पहिलो भनेको हाम्रो दाँतसँग बाहिरी कुराहरुको संक्रमण हुँदा दाँत पहेँलो हुने समस्या हुन्छ । हामीले खाने खानाहरु जस्तै चिया, कफी, रेड वाइन, सुर्तिजन्य पदार्थहरु, माउथ फ्रेसनरहरुको प्रयोग आदिले यस्तो समस्या निम्त्याउँछ  । जुन हाम्रो दाँतको बाहिरी सतह इनामेल भन्ने भागसम्म मात्रै रहन्छ । यस्तो समस्याको निराकरण पनि हुन्छ ।

अर्को कारण भनेको हाम्रो शरीरभित्रकै भित्री कारणले हुन्छन् । यो समस्या भनेको गर्भावस्थामा आमाहरुमा कुनै समस्या छ र एन्टिबायोटिकहरुको प्रयोग गरेको खण्डमा बच्चामा पछि समस्या हुनसक्छ । यस्तै, अन्य जेनेटिक असर पनि हुनसक्छ । अर्को भनेको यदि कतै लडेमा । ठोक्किएर दाँतको नशाहरु मर्‍यो भने दाँतहरु डिसकलर हुनसक्छ । यसैगरी दाँतहरु भर्दा अमाल्गम भन्ने सामानहरु प्रयोग गरिन्छ । यसले पनि समस्या निम्त्याउन सक्छ । अरु किरा लागेर, आरसीटी गरेको अवस्थामा, कलेजोमा समस्या, क्यान्सरका किमोथेरापी गरिरहेका बिरामीहरु, रक्तचापको औषधि लिइरहेका मानिसहरुमा पनि यो समस्या देखिन सक्छ ।

अर्को भनेको उमेरका कारण हुन्छ । जति उमेर बढ्दै गयो दाँत पहेलो हुँदै जाने समस्या हुन्छ । उमेर बढ्दै जाँदा दाँतको बाहिरी इनामेल पातलो हुँदै जाने हुन्छ र यस्तो समस्या बढ्छ ।

कतिपयको दिनहुँ दुई पटक दाँत ब्रस गर्दा पनि उनीहरुमा दाँत पहेँलो हुने समस्या किन हुन्छ ?

दिनमा दुई पटक दाँत ब्रस फोहोर नजाने, पहेँलो हुने भन्ने त हुँदै हुँदैन । व्यक्तिले कसरी ब्रस गरेको छ भन्नेमा निर्भर रहन्छ । हामीले दाँत माझ्ने ब्रस नाइलनबाट बनेको हुन्छ । जसको काम भनेको दाँतको सेतो लेउ हटाउने हो । यदि दाँतको सेतो लेउ हटेन भने पछि यो कडा तत्वमा परिणत हुन्छ र यसले नै दाँत फोहोर र पहेलो बनाउँछ । यदि तपार्इंले दाँत धेरै घोट्नुभयो भने झन दाँत खिइने हुन्छ । यसले दाँत र गिजाको समस्या आउन सक्छ । यसकारण धेरै घोट्ने भन्दा पनि के कारण छ के समस्या छ भन्नेतर्फ लाग्नु उत्तम हुन्छ ।

पहेँलो भइसकेका दाँत पनि सेतो बनाउने उपाय त होला नि?

दाँत कसरी सेतो बनाउने भन्दा पनि कसरी स्वस्थ बनाउने भन्नेतर्फ बुझ्न आवश्यक हुन्छ । किनभने दाँत सबैको सेतै हुन्छ भन्ने छैन । सबैको दाँतको कलर सेतै हुन्छ भन्ने हुँदैन । कसैको दाँतको प्राकृतिक कलर नै पहेँलो पनि हुन्छ ।

सफा गर्दा पनि कतिपयको दाँत सेतो हुँदैन । कतिपयले दाँत सेतो बनाउन बेकिङ सोडा, बेसार, साइट्रिक एसिड, नुनहरु लगायतले पनि हामी दाँत सफा बनाउन लागिरहेका हुन्छन् । यसले दाँत सफा र सेतो भन्दापनि झन समस्या निम्त्याउनतर्फ लाग्छ । यस्ता चिजहरुले हामीले क्षणिक सौन्दर्यको लागि दाँतहरु घोट्ने गर्छौं तर यो दीर्घकालिन भने हुन सक्दैन । यसले दाँतहरु स्विङ हुनसक्छ । इन्टरनेटमा यस्ता उपायहरु पाइए भन्दैमा हामीले त्यहि विधि लागु गर्नुहुँदैन । यदि धेरै नै पहेँलो छ भने चिकित्सकको परामर्श लिन आवश्यक छ ।

दाँत सफा राख्न बेलाबेलामा डेन्टल गएर स्केलिङ गराउनुपर्छ । स्केलिङ गरेपश्चात् दाँतमा फोहोर जम्मा हुन पाउँदैन र पहेँलो हुने समस्या पनि रहँदैन ।

यदि दाँत अत्यन्तै पहेँलो र बिग्रिएको छ भने डेन्टल क्राउन लगाएर पूरै दाँतका खाली भाग कभर गर्न सकिन्छ ।

अर्को भेनरको प्रयोग गरी पनि दाँतको रक्षा गर्न सकिन्छ । भेनर भनेको एउटा पातलो सेल हुन्छ । जसलाई दाँतको बाहिरी भागमा सिमेन्टमार्फत टाँसिएको हुन्छ । यो पनि दीर्घकालिन उपाय हुनसक्छ । यस्तै अन्य विविध उपायहरु रहेका छन् ।

पहेँलो दाँतलाई सेतो बनाउन के–कस्ता घरेलु उपाय अपनाउन सकिन्छ ?

दाँतलाई सेतो बनाउन घरमा गर्न सकिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको राम्रोसँग ब्रस गर्नु नै हो । साथै स्वस्थ फुडहरुको सेवन गर्ने, पर्याप्त मात्रामा पानी पिउने, सुर्तिजन्य पदार्थहरु नखाने र नुनपानीले कुल्ला गर्ने आदि गर्न सकिन्छ ।

दाँतको सुरक्षा कसरी गर्ने

हामीले खानेकुराहरुको सेवन गर्दा फाइबरटिज खाना, तरकारी,  चिज, मिल्क, चुइन्गमहरुको सेवन गर्दा पनि दाँतको स्वास्थ्यमा राहत मिल्छ । दिनमा दुईपटक ब्रस गर्नुहोस् । ब्रस गर्दा हामी दाँतहरु मात्रै घोट्छौं तर हामीले जिब्रोमा पनि ब्रस गर्नुपर्ने हुन्छ । ब्रस छनौट गर्दा हामी कडा खालको ब्रस रोज्छौँ तर यो सही होइन । कडा ब्रसले दाँत धेरै घोटिने, गिजामा घाउ हुने जस्ता समस्याहरु देखापर्न सक्छ । यसकारण हामीले नरम ब्रसको छनौट गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?