काठमाडौँ – स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले देशभरका युवाको सहभागितामा नेपाल युथ समिट हुँदैछ । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा यही भदौ २८ र २९ काठमाडौँमा युवा समिटमा देशभरका करिब पाँच सय युवाको सहभागिता रहने संयोजक भूपेन्द्र जङ्ग शाहीले जानकारी दिए ।
नेपाल युथ समिट ‘युवा सम्मेलन’को उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्मा सहभागी हुनेछन् । युथ समिटमा वक्ताका रुपमा सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामालगायत सहभागी हुनेछन् ।
यसैगरी समिटमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, चर्चित उद्यमी विदुषी राणा, चर्चित खेलाडी पलेशा गोवर्धन, बैंकर्स मनोज ज्ञवालीलगायत विभिन्न क्षेत्रका विज्ञहरु, युवा उद्यमीहरु, चलचित्रकर्मी, लेखक साहित्यकार, पत्रकार, सामाजिक अभियन्ताहरु, जनप्रतिनिधि वक्ताको रुपमा रहने आयोजकले जनाएको छ ।
“नेपाली युवालाई स्वदेशमै केही गर्न सकिन्छ र समुन्नत र समृद्ध नेपालको चाहनालाई पूरा गर्न युवाको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय हो । समिटको उद्देश्य भनेको समाजका विभिन्न क्षेत्रका स्थापित र सक्षम युवाको बृहत् भेला, एकता र सहकार्यमार्फत, नयाँ विचार, युवाको क्षमता विकास, साझा एजेण्डा, देशमै रोजगारी सिर्जनाको वातावरण, उद्यमशीलता र नवप्रवर्द्धन, समाजमा सकारात्मक परिवर्तन र राष्ट्र निर्माणको साझा सङ्कल्प गर्नु हो ”, संयोजक शाहीले भने ।
समिटमा विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरिरहेका युवाले भाग लिने कार्यक्रम तय भएको छ । समिटमा आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयमा विषयगत छलफलगरी राष्ट्र निर्माणमा साझा सङ्कल्पसहितको घोषणापत्र जारी गरिने राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मलकुमार उप्रेतीले जानकारी दिए । दुई दिनसम्म चल्ने समिटमा फरक एजेन्डाहरुमा विभिन्न सत्रहरु चल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया