काठमाडौँ – नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८०’ को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च ‘एनएसजेएफ’द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत २१औँ संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरिएको हो । चार विधातर्फ उत्कृष्ट पाँच÷पाँच खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल, करातेका मोहम्मद शेख आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।
त्यस्तै महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परेका छन् । विसं २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा उनीहरुलाई मनोनयनमा समावेश गरिएको हो । आयोजक मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।
यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल ‘क्रिकेट’, हेमन्त पाल ‘भारोत्तोलन’, प्रीति राई ‘फुटबल’, सुजन गडाल ‘टेबलटेनिस’ र सुनिरा थापा ‘टेनिस’ छन् ।
यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ कविराज नेगी लामा ‘पारा तेक्वान्दो’, कुशल श्रेष्ठ ‘कराते’, मोन्टी देसाई ‘क्रिकेट’, पार्वती राई ‘कबड्डी’ र सञ्जय मर्हजन ‘भारोत्तोलन’ मनोनयनमा परेका छन् । उक्त मनोनयनमा पर्नेमध्ये एकजना खेलाडी अवार्डबाट सम्मानित हुनेछन् । अवार्ड कार्यक्रम यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिए ।
मनोनयन सार्वजनिक कार्यक्रममा एसियाली खेलकुद पत्रकार महासङ्घ ‘एआइपिएस’ का केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु राम्रो पक्ष रहेको उल्लेख गर्दै मनोनयनमा पर्ने सबै खेलाडीलाई शुभकामना दिए । यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङ्घ ‘एआइपिएस, एसिया’ को कंग्रेस पनि आयोजना गर्दै छ । नेपाल खेलकुद पत्रकार मञ्च आइपिएस एसियाको सदस्य हो ।
यसअघि अवार्डको पिपुल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपुल्स च्वाइसतर्फ फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् । यसको विजेता घोषणा गर्नका लागि ईसेवामार्फत मतदान, २९ खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोर्ट्स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकलाई आधार मानिने छ । ईसेवाको मत भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ ।
अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन गरिने संयोजक ओलीले जानकारी दिए । यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् । पिपुल्स च्वाइस विधाको विजेताले भने पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही रु एक लाख र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया