काठमाडौँ– रङ्गकर्मी अनिल सुब्बाले नेपाली नाट्य क्षेत्रमा नयाँ पुस्ताले आदिवासी कथामा नाटक बनाइराख्दा मूलधारमा स्वीकार्यता नभएको गुनासो गरे ।
काठमाडौँमा आयोजित ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’को दोस्रो दिन आइतबार ‘रङ्गमञ्चमा पुस्तान्तरण’ शीर्षकमा भएको बहसमा उनले उक्त गुनासो गरेका हुन् ।
‘मलाई बालकृष्ण सम र विजय मल्लको कथा मेरो जस्तो कहिल्यै लागेन,’ उनले भने, ‘हाम्रो कथा चाहिँ किन नाटकमा परेन त ? ह्यामलेट बनाउँदा पनि म लिम्बुनै बनाउँछु भन्ने लागिरहेको छ ।’
७२ सालबाट नै आदिवासी कथाको रिसर्चमा लागेको बताउँदै उनले आदिवासी कथा खोज्ने र खोजिरहने बताए । आदिवासी कथा ल्याएकै कारण दयाहाङ राई देखि नवीन सुब्बासम्मका सर्जकहरुले मूलधारका भनिने सर्जकहरुले खेदेको आरोप उनले लगाए ।
बहसमा सुब्बा सहित आकांक्षा कार्की र सरस्वती चौधरीले वक्ताका रुपमा सहभागी थिए । पत्रकार रीना मोक्तानको सहजीकरण रहेको बहसमा रङ्गमञ्चका नयाँ पुराना समयका सकारात्मक र नकारात्मक पक्षहरूबारे चर्चा गरिएको थियो ।
तीनै जनाले रङ्गमञ्चको विस्तारका लागि नयाँ ढंगबाट पुस्तान्तरण हुनुपर्ने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया