काठमाडौँ कलिङ साहित्य महोत्सव

दर्शकले म राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नुहुन्छ: राजेश हमाल

काठमाडौँ– अभिनेता राजेश हमालले दर्शकले आफूलाई राजनीतिमा आए हुन्थ्यो भनेर अपेक्षा राख्ने गरेको बताएका छन् । आइतवार काठमाडौँमा आयोजित ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’मा बोल्दै हमालले यस्तो बताएका हुन् ।

लामो समय फिल्मको पर्दामा नदेखिएका हमालले दर्शकले खोजेजस्ता नेपाली फिल्म नबनेकाले आफू पनि अभिनयमा नदेखिएको समेत बताए । साथै उनले आफूले चाहेको क्षेत्रमा काम गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

यस्तो छ हमालले राखेको धारणा:

आफूले चाहेको काम

आफूलाई जेमा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ। त्यो कार्य गर्न पाउँदा अत्यन्त खुसी लाग्दो रहेछ। जीवन सञ्चालन गर्न प्यासन नै नभएको कुरामा पनि इन्गेज हुनुपर्ने मानिसहरूको बाध्यता हुन्छ। यस मानेमा म चाहिँ भाग्यमानी छु। जुन कुरा मलाई असाध्यै गर्न मन थियो। त्यही गर्न पाएँ। पछि नेपाली चलचित्रको निर्माण हुने क्रम बढ्दै गयो। म असाध्यै खुसी भएँ।

चलचित्रमा काम गर्दाको पहिलो चरणमा ममा अन्योलता र प्रश्नचिह्न थियो। त्यतिबेला नेपाली चलचित्र खासै फस्टाइसकेको थिएन। वर्षमा एउटा दुईटा चलचित्र बन्थ्यो। ‘म जुन कार्य गरिरहेको छु, यसलाई करिअरको रुपमा लैजान सक्छु कि सक्दिनँ?’ थाहा थिएन।

तर पहिलो चलचित्र रिलिज पश्चात् क्रमबद्ध रुपमा धेरै चलचित्र गर्न पाएँ। आफ्नो करिअरको २५ वर्ष दैनिक १८ घण्टा काम गर्ने मौका पाएँ। त्यो मेरा लागि असाध्यै सन्तुष्टिको पल हो। जुन बेला व्यक्ति सिर्जनशील हुन्छ त्यो समयमा धेरैभन्दा धेरै आफूले चाहेको कुरामा खर्चिन पाउनु खुसीको कुरा हो।

नायकको काम

चलचित्रमा अभिनय गर्ने प्रत्येक हिरो नायक हो। तर सबै नायकले त्यतिको हिरोइजम प्रदर्शन नगरेको हुनसक्छ। हिरो भनेको अभिनय गर्ने व्यक्ति हो। अधिकांश चलचित्रमा हिरोइजम प्रस्तुत गर्ने व्यक्तिले यस्तो विषयवस्तुमा काम गरिरहेको हुन्छ, जसले हिरोइजम देखाउँछ। भलै त्यो नक्कली होस्।  हरेक क्षमता चुनौतीमा आफूलाई बहादुरीपूर्वक प्रस्तुत गर्छ। तर हिरोको वास्तविक अर्थ– जो व्यक्तिले साँच्चिकै बहादुरी गर्छ। वास्तविक जीवनमा असाधारण काम गर्छ। शरीरलाई जोखिममा पारेर काम गर्छ उसलाई हिरो भनिन्छ।

हरेक नायकले हरेक कथावस्तु भएको चलचित्रमा बहादुरी गर्नुपर्छ भन्ने छैन। सामान्य कथावस्तुमा पनि काम गर्न सकिन्छ। सघंर्षशील व्यक्तिको प्रतिनिधित्व गरेर अभिनय गर्न सकिन्छ। उहाँहरू पनि त नायक हो। किनकि फिल्मको कथाको केन्द्रीय पात्र नै नायक हो।

राजनीतिमा निराशा

मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुहुन्छ। यो हाम्रो राष्ट्रको बिडम्बना हो। जो राजनीतिमा लागिरहनुभएको छ। उहाँहरूबाट खासै काम भएको छैन। उहाँहरू निराश हुनुहुन्छ। हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ।  सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ। तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन।

जो व्यक्ति आफ्नो यात्राको पहिलो बिन्दुमा लाग्यो, सबैभन्दा उत्कृष्ट र राम्रो कार्य उसले त्यही क्षेत्रमा गर्न सक्ने हो। तर बिडम्बना हाम्रा राजनीतिज्ञले  सन्तोषजनक काम गर्न सक्नुभएन।

समाजले विभिन्न पेसामा लागेको व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने राजनीतिमा अपेक्षा राख्नुहुँदो रहेछ। राजनीति भनेको मेरुदण्ड हो। मेरुदण्डले काम गरेन भने शरीरका अरु अङ्गले काम गर्दैनन्।

मेरुदण्ड कमजोर हुने बित्तिकै त्यो राष्ट्रका अरु कुरा कमजोर हुन्छ। हाम्रो राजनीति पनि त्यस्तै भएको हो।

मेरा करिअरका तीन चरण

पहिलो चलचित्र गर्दा थाहा थिएन, यसमा मेरो करिअर छ कि छैन। पहिलो चलचित्र युगदेखि युगसम्मको अपार सफलतापछि फिल्म मात्र हैन मलाई पनि फिल्म क्षेत्रमा स्वीकारिदिनुभयो। यो व्यक्ति को हो, कहाँबाट आयो उत्सुकता जाग्यो।

पहिलो चलचित्र रिलिजपछि दोस्रो चलचित्र कहाँबाट आउँछ भनेर सोचेको थिएँ। तर ९ महिनापछि विभिन्न पक्षबाट चलचित्रका अफर आउन थाले। १ वर्षमा त दिनमै २/३ वटा छायाँकन गर्ने अवस्थामा पुग्न सकेँ।

ती क्षण पर्याप्त प्राविधिक थिएनन्। म एक्लै ३/४ वटा चलचित्रमा आवद्ध हुन थालेँ। मेकअप आर्टिस्ट नै त्यतिबेला जम्मा २ जना थिए। जनशक्तिको अभाव खड्कियो। विस्तारै चलचित्रसँगै जनशक्ति पनि विस्तार भए। विस्तारै यसलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने भयो। कसरी धेरै भन्दा धेरै व्यक्तिलाई संलग्न गराउन सकिन्छ भन्ने लाग्यो। विस्तार हुँदै गयो। एउटा बिन्दुमा पुग्दा त हरेक साल १० वटा चलचित्रमा काम गरेको हुन्थेँ।

यसरी गरेको १४ वर्षपछि म जुन प्रकारको नेपाली चलचित्रसँग आवद्ध भइरहेको थिएँ। त्यो समय सापेक्ष भइरहेको थियो। त्यसले दर्शकहरूको स्वाद र रुचिलाई परिपूर्ति नै गरिरहेको थियो। जुन किसिमका पात्र गरिरहेको थिएँ, आम नेपाली समुदायलाई प्रतिनिधित्व गरिरहेको थिएँ। युवाहरू प्रभावित थिए।

हामी राम्रै ट्र्याकमा गइरहेका थियौँ। त्यसपछि विश्वभरि नै प्राविधिक परिवर्तन हुन थाल्यो। नयाँ नयाँ तरिकाले चलचित्र प्रस्तुत विश्वमा भइरहेको थियो। छिमेकी देशमा पनि नयाँ तरिकाले बनिरहेका थिए। चलचित्रको दृश्य खिच्ने र प्रस्तुत गर्ने तरिकामा क्रान्ति आइरहेको थियो। हामी चाहिँ कता कता पुरानालाई तन्काइरहेका थियौँ। मलाई चाहिँ हामीले प्रस्तुत गरेका सामग्री समय सापेक्ष छैन कि! सन् २००६ तिर मलाई पुराना चिजलाई चाहिनेभन्दा बढी तन्काइरहेका छौँ भन्ने भएको थियो।

मैले ७ वर्षअगाडि दर्शकको स्वाद र चाहनाअनुसार चलचित्र बने मात्र काम गर्ने तर गर्नैकै लागि नगर्ने भनेर बसेँ। यद्यपि अब म ३ हम्तापछि ७ वर्षको ग्याप मेट्न जाँदैछु। मलाई कता कता पहिलो चलचित्र गर्न जाँदैछु जस्तो लागिरहेको छ।

अरु राष्ट्रमा कलाकार र फ्यानको सम्बन्ध कस्तो छ थाहा छैन। तर मेरो राष्ट्रमा दर्शकसँग एक किसिमको आत्मीय सम्बन्ध पाउँछु। उहाँहरूको सामु गएर पहिलो पटक भेट्दा पनि घरकै सदस्यकै रुपमा ट्रिट गरेको पाउँछु। त्यो प्राप्त गर्न सकेको मा म आफ्नो कलाप्रति सम्मान गर्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?