मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीजमा चलेनन् नेपाली फिल्म, हल्लाखल्ला गरिएको ‘रावायण’ लाई पनि दर्शकले पत्याएनन्

काठमाडौँ– हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘रावायण’ र ‘देवी’ दुवैले हिन्दू नारीहरूको महान् चाड हरितालिका तीजको फाइदा उठाउन नसकेको देखिएको छ ।

यी दुई फिल्म गत शुक्रवारदेखि एकैपटक प्रदर्शनमा आए पनि फिल्मले आशा गरिए अनुरुपको व्यापार भने गर्न सकेका छैनन् । रिलिजअघि निकै तामझामका साझ चर्चा गरिएको कलकार पल शाह र पूजा शर्माको फिल्म ‘रावायण’ ले पनि दर्शकको निकै न्यून साथ पाएको छ ।

सो फिल्म एकाथ हलमा अलिअलि चले पनि सबैभन्दा बढी व्यापार गर्ने थलो मानिएका मल्टिप्लेक्स हलमा भने दर्शक तान्न सकेनन् । मल्टिप्लेक्स हलमा राम्रो ‘शो’ पाएको ‘रावायण’ ले दर्शक भने तान्न सकेन ।

फिल्मकी निर्मात्री समेत रहेकी कलाकार पूजा शर्मा र पल शाहले अष्टनारायण हलमा उपस्थित दर्शकलाई फिल्म चलेको भन्दै मार्केटिङ गरेका छन् । मल्टिप्लेक्स हलमा अनलाइन टिकट हेर्दा भने धेरै हल खाली भएको देखिन्छ । यद्यपि यो फिल्मको एक्सन दृश्यको भने तारिफ गरिएको छ ।

टिजर र ट्रेलर रिलिजपछि छुट्टै हाइप बनाएको यो फिल्मले दक्षिण भारतीय फिल्म हेर्ने दर्शकलाई हलमा तान्ने अपेक्षा गरिएको थियो । तर, फिल्मले राम्रो व्यापार गर्न सकेको छैन । सामाजिक सञ्जालमा भने फिल्मले भयानक कमाइ गरेको जस्तो गरी प्रचार गरिएको छ ।

यस्तै सोही मितिमा प्रदर्शनमा आएको अर्को नेपाली फिल्म ‘देवी’ ले पनि खासै व्यापार गर्न सकेको छैन । फिल्म हेरेका दर्शकले तारिफ गरे पनि निर्माण टिमले रिलिजअघि पर्याप्त प्रचारमा समय खर्च नगर्दा राम्रो फिल्म पनि ओझेलमा परेको कतिपयको भनाइ छ ।

शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई सस्पेन्स थ्रीलर भनिएको छ । कतिपयले यो फिल्मलाई उत्कृष्ट भएको प्रतिक्रिया दिए पनि दर्शकले भने हलसम्म जाने चेष्टा गरेनन् ।

शुक्रवार र शनिवारको व्यापारिक आँकडा हेर्दा दुवै फिल्मले खासै राम्रो व्यापार गर्न सकेका छैनन् । जबकि, रिलिजको दुई दिनको कमाइका आधारमा लगानी कति सुरक्षित हुन्छ भनेर आँकलन गर्ने गरिएको छ ।

यी मात्र नभएर हालै प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘जीओएटी’ ले पनि राम्रो व्यापार गर्न सकेको देखिँदैन । थलपती विजयको शीर्ष भूमिका रहेको यो फिल्मले पनि हलसम्म दर्शक तान्न सकेको छैन ।

बरु तीन हप्ताअघि प्रदर्शनमा आएको श्रद्धा कपूर र राजकुमार रावको फिल्म ‘स्त्री २’ ले भने अझै पनि राम्रो व्यापार गरिरहेको छ । यो फिल्म भारतमा उत्कृष्ट व्यापार गर्ने फिल्मको सूचीमा समेत सामेल भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?