मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केरा खेती मासेर व्यावसायिक मकै खेती

मोरङ– कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । प्रदेशमा गतवर्ष नौ लाख ७२ हजार ७३ मेट्रिकटन मकै उत्पादन भएकामा यस वर्ष ११ लाख ३४ हजार ८२६ दशमलव ९५ मेट्रिकटन उत्पादन भएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको दुई लाख ८४ हजार तीन सय ४० हेक्टरमा मकैखेती गरिएको थियो भने आव २०८०/८१ मा दुई लाख ७५ हजार नौ सय ५१ हेक्टरमा मकैखेती गरिएको निर्देशनालयले जनाएको छ । क्षेत्रफल घट्दा पनि उत्पादनमा भने वृद्धि भएको देखिन्छ । अघिल्लो आवमा प्रति हेक्टर ३ दशमलव ४२ मेट्रिकटन मकै उत्पादन भएकोमा पछिल्लो वर्ष प्रति हेक्टर ४ दशमलव ११ मेट्रिकटन मकै उत्पादन भएको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए ।

उनका अनुसार प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा कम खोटाङमा प्रति हेक्टर १ दशमलव ८३ मेट्रिकटन र सबैभन्दा धेरै झापामा प्रति हेक्टर ७ दशमलव ८७ मेट्रिकटन मकै उत्पादन भएकोे छ ।

मकैको उत्पादन बढेसँगै किसान खुसी छन् । मोरङ बेलबारी १० भाउन्नेकी हिरा अधिकारीले केरा खेती मासेर व्यावसायिक मकै खेती गर्दै आएको बताइन् । उनले मौसममा डेड बिघा जमिनमा मकै खेती गरेता पनि बेमौसममा आठदेखि १० कठ्ठा जमिनमा छवर्षदेखि मकै खेती गर्दै आएकी छिन् । उनले भनिन्, “गत वर्ष सात कठ्ठा जमिनमा लगाएको मकै ९० हजारमा विक्री भयो ।”

किसान अधिकारी जस्तै बेलबारी–८ राधानगरका महेन्द्र तामाङले १४ कठ्ठा जमिनमा मकै लगाउने गरेका छन् । किसानको घरदैलोमै आएर व्यापारीले आकर्षक मूल्यमा मकै खरिद गर्न थालेपछि खुसी भएको उनी बताउँछन् । खाद्यान्न बालीका रूपमा लिइने मकै बाली पछिल्लो समय तराईका जिल्लामा बाह्रै महिना उत्पादन गर्न थालेसँगै नगदे बालीको रूपमा परिणत हुँदै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन् ।

सुकेको मकैभन्दा हरियो मकै बेच्न सक्दा राम्रो आम्दानी हुने गरेको उनले बताए । मकैको माग अत्यधिक रहेको छ, यसलाई फिड बनाएर बेच्न सक्दा अझ राम्रो आम्दानी हुने प्रमुख डाँगी बताउँछन् । परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि तराई क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन् ।

तराइमा विशेष गरी हाइब्रिडअन्तर्गत पर्ने पाइजियर एक्स टि, रामपुर र पहाडमा विशेष गरी उन्नत जातमा रामपुर कम्पोजिट, मनकामना, गणेश साथै स्थानीय जातका मकै रोप्ने चलन रहेको निर्देशनालयका योजना शाखा अधिकृत काजिमान प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?