मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महान् चित्रकार भिन्सेन्ट भान गग: जसले एउटा मात्र चित्र बेचे, आफैलाई ‘विक्षिप्त’ बनाए

काठमाडौँ– ‘मैले हृदय र आत्मालाई काममा लगाएँ, र यही प्रक्रियामा मैले दिमाग गुमाएँ ।’

कला सिर्जनाको फाँटमा विश्वप्रसिद्ध कलाकार भिन्सेन्ट भान गगको माथिको भनाइले नै उनी आफ्नो कला सिर्जनाकर्ममा कतिसम्म समाहित थिए भन्ने पुष्टि हुन्छ ।

त्यसैले त उनलाई उन्माद कला सिर्जनाकै श्रेय दिँदै आम कलाप्रेमीहरुले ‘पागल कलाकार’को समेत उपमा दिएमा छन् ।

कला होस् या महिलाप्रतिको आशक्ति र प्रेममा उनको पागलपन थियो । उनको जीवनी कथा अनुसार प्रेमको अनुरागकै कारण उनले प्रेमिकाकै लागि कानै काटेर समर्पण भाव राखेका थिए ।

हर सिर्जनामा उनको नवीन र अद्वितीय कलात्मक शैलीको सौन्दर्यले उनलाई मात्र होइन कलाप्रेमीहरुको मनलाई समेत मोहित बनाई त्यसैमा मात्र अडिने बेहोसीको दुनियाँमा लैजान सक्छ । जुन तागत विशिष्ट र प्रभावशाली शैलीमा सिर्जना हुने उनको चित्रकलामा छ ।

उनको चित्रमा प्रयोग हुने उन्माद रङ होस् या सिर्जना हुने चित्रहरुले आम मान्छेको दिलदिमागमा एक प्रकारको झङ्कार उत्पन्न गराउँछ । उनका पोट्रेट होस् या प्राकृतिक ल्याण्डस्केप, आम मानिसको जीवनशैली र फिगरसम्मका चित्रहरुमा अनुपम दृश्यहरु कैद भएका छन् ।

भान गगले जीवन र संसारलाई कला सिर्जनाका गहिराइहरुमा गहनताको अनुभव गरे । उनको कलाले आँखालाई दिने शीतलता मात्र होइन, आम मान्छेका आशा, प्रेम, चिन्ता र पीडा जस्ता जीवनका महान चिन्तन र विषयवस्तुहरूको गहिरो चित्रण भएका छन् । कला क्षेत्रमा उनले गरेको निरन्तर खोज, अनुसन्धान र प्रयासहरु अजर अमर रुपमा दस्तावेज भएका छन् ।

हुन त चित्रकारको रूपमा भ्यान गगको यात्रा छोटो थियो । कलामा उनको सक्रिय यात्रा १८८० देखि ९० सम्म मात्र रह्यो । एक दशकको कला यात्रामा समेत उनले कला जगतमा अहम् भूमिका निर्वाह गरे । उत्तर आधुनिक प्रभाववादी कला सिर्जनामा उनको नाम जीवन्त रुपमा रहेको छ ।

उनका चित्रले कला क्षेत्रमा कलात्मक अभ्यास र शैलीहरूमा क्रान्तिकारी छाप छोड्ने काम गर्‍यो । कला दृष्टिको तीव्रता, रंगप्रतिको अद्भूत भावना र प्रविधिको मिश्रण उनको कलामा देखिन्छ ।

भान गगको जन्म सन् १८५३ मा नेदरल्याण्ड्सस्थित ग्रुट जुन्डर्टको डच गाउँमा बुवा थिओडोरस भ्यान गग र आमा कोरनिलियाको सन्तानका रुपमा भएको थियो । शान्त स्वभावका उनी एकान्तप्रेमी समेत थिए ।

स्कूले जीवनपछि औपचारिक काम कलासँग सम्बन्धित भएपनि लामो समयसम्म उनी दत्तचित्त भएर चित्रकला सिर्जना काममा भने लागेनन् । १६ वर्षको उमेरमा उनी पेरिसस्थित आफ्नो कला व्यापारी काकाको कला डिलरशिप ‘गौपिल एण्ड सीको’ शाखामा प्रवेश गरे ।

त्यो समय उनका लागि समकालीन कला सिर्जनामा लाग्ने बाटो थियो । तर उनी धार्मिक कार्य र पुस्तक विक्रेताको रूपमा अघि बढे । सन् १८८१ तिरदेखि मात्र उनले आफ्नो सिर्जना यात्रालाई अगाडि बढाए । मध्यम परिवारमा जन्मेका उनले विभिन्न पेसामा संलग्न भएपछि मात्र चित्रकलाको बाटो रोज्न पुगेका थिए ।

सन् १८८१ देखि १८८३ सम्मका उनका सिर्जनाहरुमा उनको प्रारम्भिक जीवन, बाल्यकाललाई अभिव्यक्त गरेका छन् । जुन अभिव्यक्ति उनको रेखाचित्र, स्केच र वाटर कलर माध्यमका चित्रहरुमा देखिन्छ । उनका शुरुवाती रेखाचित्रहरुमा वस्तु तथा परिदृश्यलाई कैद गर्दा उनले रङको सट्टामा छायाँ र प्रकाशलाई जोड दिएका छन् ।

मिलेट, रेम्ब्रान्ड र डौमियर जस्ता कलाकारहरुको गहिरो प्रभावले उनको मानव चित्रण फिगरेटिभ कलात्मक शैली विकासको महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

१८८१ ताका नै भ्यान गगले ‘द हेग स्कूल अफ आर्ट’मा कला शिक्षक एन्टोन माउभसँग छोटो समय अध्ययनमा गरे त्यहाँ उनले कलाका आधारभूत कुराहरू मात्र नभएर कला सिर्जनाका माध्यमहरु पानी रङ र तेल रङहरूबारे समेत बुझ्ने मौका पाए । यसरी उनको कला सिर्जना र अभिव्यक्तिको दायरा फराकिलो बन्यो ।

‘स्टिल लाइफ विथ क्याबेज एन्ड क्लोग्स’ शीर्षकका उनको प्रारम्भिक चित्रमा डचको परिवेश, शैली, प्रकृति र सौन्दर्यको चित्रण पाइन्छ । ल्यान्डस्केप विधाका उनका कलाकृतिहरु प्रारम्भिक यात्राकै सिर्जना हुन् । सामुद्रिक दृश्य होस् या काला आकारहरु, ब्रस स्ट्रोक, आँधीबेरी मौसमबाट बालुवाका कणहरूमा दृश्यको यथार्थवाद झल्कन्छ ।

जसमा प्रभाववादी शैली नै समावेश छन् । १८८३ को दौरानमै उनको कला सिर्जनाले तीव्रता पायो । उनले कलामा प्रयोग गर्ने रङ होस् या प्रकाशको अभिव्यक्तिले कला क्षेत्रमा जागरण ल्याउने काम गर्‍यो । उनको चित्रकलाको अग्रभूमिमा सेतो, नीलो, गुलाबी र सुनौलो रङहरूले एउटा सुन्दर बगैँचाको झलक दिन्छन् ।

जसले आँखालाई पहाड र सेतो बादलले भरिएको दूर आकाशतिर लैजान्छ । उनका चित्रहरुमा छायाँ, खरानी छाना भएका घरहरूका दृश्यहरु कुनै बगैँचाका फ्रेम जस्तै लाग्छन् ।

एक दशकको कला यात्राका क्रममा उनले करीब ९ हजार चित्र सिर्जना गरे । उनको जीवनकालमा उनले जम्मा एउटा मात्र चित्र बिक्री गरे । जुन चित्र ‘द रेड भाइन्स’ शीर्षकको थियो ।

भ्यान गगको निधन सन् १८९०को जुलाई २९ मा ३७ वर्षको उमेरमा फ्रान्समा भएको थियो ।

भनिन्छ, उनले २७ जुलाईमा आफैंले छातीमा गोली हानेर हात्महत्याको प्रयाससमेत गरेका थिए । त्यसको दुई दिनपछि त्यही घाउकै कारण उनको मृत्यु भयो । उनको मृत्युको खास कारण के थियो भन्ने सत्यतथ्य अझै बाहिर आएको छैन ।

उनको निधनपछि मात्र उनका सिर्जना कार्यले विश्वमा प्रसिद्धी कमायो । जसरी उनका चित्र सिर्जनामा आँधीबेहरी जस्तै तीव्रता थियो, त्यसरी नै उनको जीवन संघर्ष सहज थिएन । ल्यान्डस्केप, स्थिर जीवनहरूमा जीवन्त रंगहरू र व्यक्तिपरक दृष्टिकोणमा संसारले कलालाई हेर्ने तरिकामा क्रान्ति त ल्यायो तर तिनकै ब्रह्माण्ड सिर्जनाले उनी मानसिक रोगसँग लड्न पुगे ।

उनको निराश र दु:खद कथाको अन्त्य यही क्रममा भएको थियो । कला सिर्जनाले उनको मस्तिष्कमा ल्याएको उथलपुथल, यसप्रति उनको भोक, खोज, तरङ्गलाई उनै जीवनमा आधारित रहेर भिसेन्टी मिनेलीको निर्देशनमा ‘लभिङ भिनसेन्ट’ फिल्म नै निर्माण गरियो ।

फिल्मले उनको अशान्त मानसिक अशान्ति र छटपटीलाई चित्रण गर्दै चित्र कोर्दाकोर्दै बौलाएर आफैंलाई गोली हानेको दृश्यलाई समेटेको छ । भ्यान गगको मृत्यु र जीवनबारे गरिएको विभिन्न खोज र अनुसन्धानहरु अनुसार ‘ट्रि रुट’ उनको अन्तिम चित्र हो । भ्यान गगका अध्येता एवं ‘भ्या गन इन्स्टिच्युट’का निर्देशक समेत रहेका वुतर भान डेर भिनको अध्ययन अनुसार ।

भ्यान गग जीवनको अन्तिम समयमा पेरिसको २० माइल टाढा जङ्गलमा पुगेर ७० दिन बिताएका थिए । ‘ट्रि रुट’ चित्र उनले त्यही समयमा सिर्जना गरिएको अनुमान गरिएको छ । भ्यान गगले संसारबाट छोडेको १३४ वर्ष बितिसेकेको छ । र पनि उनी ‘स्ट्यारी नाइट,’ ‘द बेड रुम एट आरल्स,’ ‘यल्लो हाउस,’ ‘द पोस्टम्यान रोसोलिन,’ ‘पेरे टेनग्वे’ जस्ता उनका विश्व प्रसिद्ध चित्रहरुमा उनी आम कलाप्रेमीको स्मरणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?