मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ड्यून २’ देखि ‘डेडपुल एण्ड उल्भरिन’ सम्म: यी हुन् यो वर्ष हलिउडमा धमाका मच्चाउने फिल्म

काठमाडौँ– हलिउड विश्वकै सबैभन्दा ठूलो मनोरञ्जन उद्योग हो । हलिउडमा हरेक वर्ष सयौँ फिल्म बन्छन् । एउटा तथ्यांकअनुसार हरेक वर्ष ६ सयको हाराहारीमा हलिउड फिल्म बन्छन् ।

विश्वव्यापी प्रभावका कारण हलिउडमा बनेका कतिपय फिल्मले विश्व मनोरञ्जन क्षेत्रमा मानक नै स्थापना गर्दै आएका छन् । विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म पनि हलिउडमै बन्छन् ।

सन् २०२४ मा पनि हलिउड फिल्मले राम्रै कमाइ गरेका छन् । आखिर सन् २०२४ मा सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्महरु कुन कुन हुन् ? र, ती फिल्मले घरेलु बजार र अन्तर्राष्ट्रिय बजारमा कति कमाइ गरेका छन्? आज हामी सोही विषयमा चर्चा गर्न चाहन्छौँ ।

बक्स अफिसमोजोले बक्स अफिसमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूची राख्ने गरेको छ । सोही सूचीका आधारमा हामीले सन् २०२४ मा सबैभन्दा धेरै कमाइ गर्ने १० हलिउड फिल्मबारे जानकारी दिन गइरहेका छौँ ।

एलियन: रोमुलुस

यो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीमा दशौँ स्थानमा रहेको एलियन: रोमुलुस साइन्स फिक्सन हरर जनरामा बनेको फिल्म हो । गत अगस्टमा रिलिज भएको फिल्मको निर्देशन उरुग्वेयन निर्देशक फेडे अल्भारेजले गरेका हुन् । फिल्ममा केली स्पेनी, डेभिड जोनसन, आर्ची रेनोजस्ता कलाकारको अभिनय छ । यो फिल्मले २८ करोड ८५ लाख डलर कमाइ गरेको छ । यो फिल्मले अन्तर्राष्ट्रिय बक्स अफिसमा १९ करोड ७४ लाख डलर कमाएको छ भने घरेलु बजारमा ९ करोड १९ लाख कमाइ गरेको छ ।

ट्विस्टर्स

यो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको नवौँ स्थानमा रहेको ट्विस्टर्स गत जुलाईमा रिलिज भएको हो । एक्सन थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक ली आइज्याक लुङ हुन् भने फिल्ममा डेजी एजर जोन्स, ग्लेन पावेल, एन्थोनी रामोसजस्ता कलाकारको अभिनय छ ।

१५ करोड डलरमा बनेको फिल्मले विश्वभरबाट ३६ करोड १९ लाख डलर कमाइ गरेको छ । फिल्मले घरेलु बजारमा २६ करोड ७ लाख डलर कमाएको छ भने अन्तर्राष्ट्रिय बजारमा १० लाख डलर कमाएको छ ।

किङडम अफ द प्लानेट अफ द एप्स

किङडम अफ द प्लानेट अफ द एप्स प्लानेट अफ द एप्स फ्रेन्जाइजको दशौँ फिल्म हो । गत मे महिनामा रिलिज भएको यो फिल्मको निर्देशन वेश बलले गरेका हुन् भने फिल्ममा ओवेन टिग, फ्रेया एलेन, केभिन डुराण्डजस्ता कलाकारको अभिनय रहेको छ ।

१६ करोड डलर लगानीमा बनेको फिल्मले विश्वभरबाट ३९ करोड ७३ लाख डलर कमाएको छ । यो फिल्मले घरेलु बजारमा १७ करोड ११ लाख कमाएको छ भने अन्तर्राष्ट्रिय बजारमा २२ करोड ६२ लाख डलर कमाएको छ ।

ब्याड ब्वाइज: राइड अर डाइ

ब्याड ब्वाइज: राइड अर डाइ ब्याड ब्वाइज फ्रेन्चाइजको चौथो फिल्म हो । एक्सन कमेडी जनराको यो फिल्म गत जुनमा रिलिज भएको हो । आदिल र बिलालको जोडीले निर्देशन गरेको फिल्ममा विल स्मिथ, मार्टिन लरेन्स, भेनासा हजिन्स, अलेक्जाण्डर लुडविगजस्ता कलाकारको अभिनय रहेको छ । १० करोड डलरमा निर्मित यो फिल्मले ४० करोड २५ लाख डलर कमाइ गरेको छ । घरेलु बजारमा १९ करोड ३५ लाख कमाएको ब्याड ब्वाइज: राइड अर डाइले अन्तर्राष्ट्रिय बजारमा भने २० करोड ८९ लाख कमाएको छ ।

कुङ फू पाण्डा ४

कुङ फू पाण्डा फ्रेन्चाइजको चौथो फिल्म गत मार्च महिनामा रिलिज भएको हो । मार्शल आट्र्स कमेडी एनिमेसन जनरामा बनेको फिल्मको निर्देशन माइक मिचेलले गरेका हुन् भने फिल्ममा ज्याक ब्लाक आक्वाफिना, ब्रायन क्रान्सटनजस्ता कलाकारले काम गरेका छन् ।

८ करोड ५० लाख डलरमा बनेको कुङ फू पाण्डा ४ ले कुल ५४ करोड ७९ लाख डलर कमाएको छ । यो फिल्मले घरेलु बजारमा १९ करोड ३५ लाख डलर कमाएको छ भने अन्तर्राष्ट्रिय बजारमा ३५ करोड ४३ लाख डलर कमाइ गरेको छ ।

गडजिला एक्स कङ: द न्यू इम्पायर

गडजिला एक्स कङ: द न्यू इम्पायर मोन्स्टरभर्स फ्रेन्चाइजको पाचौँ फिल्म हो । गत मार्चमा रिलिज भएको यो फिल्मको निर्देशन एडम विङगार्डले गरेका हुन् । गडजिला एक्स कङ: द न्यू इम्पायरमा रेबेका हल, ब्रायन टायरी हेनरी, डन स्टिभन्सजस्ता कलाकारले काम गरेका छन् ।

यो फिल्मले विश्वभर ५६ करोड ७६ लाख डलर कमाइ गरेको छ । यो फिल्मले घरेलु बजारमा १९ करोड ६३ लाख डलर कमाएको छ भने अन्तर्राष्ट्रिय बजारमा यो फिल्मले ३७ करोड १३ लाख कमाएको छ ।

ड्युन: पार्ट टू

ड्युन: पार्ट टू सन् २०२१ मा रिलिज भएको ड्युन फिल्मको सिक्वल हो । एडभेन्चर थ्रिलर जनराको यो फिल्म गत मार्चमा रिलिज भएको थियो । फिल्मको निर्देशन क्यानाडेली ड्यानी भिलन्यभले गरेका हुन् भने यसमा टिमोथी स्यालामे जेन्दाया, रेबेका फर्गुसनजस्ता कालाकारको अभियन रहेको छ ।

१९ करोड डलर लगानीमा निर्माण गरिएको यो फिल्मले ७१ करोड १८ लाख डलर कमाइ गरेको छ । यो फिल्मले घरेलु बजारमा २८ करोड २१ लाख डलर कमाएको छ भने अन्तर्राष्ट्रिय बजारमा ४२ करोड ९७ लाख डलर कमाइ गरेको छ ।

डिस्पिकेबल मी ४

वर्ष सन् २०२४ मा सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्मको तेस्रो स्थानमा डिस्पिकेबल मी ४ रहेको छ । गत जुलाईमा रिलिज भएको यो डिस्पिकेबल मी फ्रेन्चाइजको चौथो फिल्म हो । एनिमेटेड कमेडी जनराको यो फिल्मको निर्देशन क्रिस रेनोले गरेका हुन् भने फिल्ममा स्टिभ क्यारेल, क्रिस्टेन विग, पिएर कोफिनजस्ता कलाकारले काम गरेका छन् ।

१० करोड डलर लगानीमा बनेको यो फिल्मले ९१ करोड ५३ लाख कमाएको छ । घरेलु बजारमा ३५ करोड ५५ लाख कमाएको छ यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा भने ५५ करोड ९८ लाख डलर कमाएको छ ।

डेडपुल एण्ड उल्भरिन

यो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्मको दोस्रो स्थानमा डेडपुल एण्ड उल्भरिन परेको छ । मार्भल कमिक्समा आधारित सुपरहिरो जनराको यो फिल्म गत जुलाईमा रिलिज भएको हो । फिल्मको निर्देशन शन लेभीले गरेका हुन् भने यसमा रायन रेनोल्ड्स, ह्यु ज्याकमान, एम्मा कोरिनजस्ता कलाकारको अभिनय छ ।

२० करोड डलर लागतमा निर्मित यो फिल्मले विश्वभर १ अर्ब २६ करोड ४७ लाख कमाइ गरेको छ । घरेलु बजारमा यो फिल्मले ६० करोढ ३९ लाख कमाएको छ भने अन्तर्राष्ट्रिय बजारमा यो फिल्मको कमाइ ६६ करोड ८ लाख डलर छ ।

इनसाइड आउट २

यो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म इनसाइड आउट २ हो । यो फिल्म सन् २०१५ मा रिलिज भएको इनसाइड आउटको सिक्वेल हो । केल्सी मानले निर्देशन गरेको यो एनिमेटेड फिल्म गत जुनमा रिलिज भएको हो ।

फिल्ममा एमी पोह्लर, माया हक, केन्सिङटन टलमानजस्ता कलाकारले काम गरेका छन् । २० करोड डलरमा निर्माण गरिएको यो फिल्मले विश्वभर १ अर्ब ६६ करोड ८२ लाख डलर कमाएको छ । यो फिल्मले घरेलु बजारमा ६५ करोड ८ लाख डलर कमाएको छ भने अन्तर्राष्ट्रिय बजारमा १ अर्ब १ करोड ७ लाख डलर कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?