काठमाडौँ– मौलिक लोक पीडा र गाथा बोकेका तीजका लोक सङ्गीत र धुनहरु यतिबेला गाउँतिरै ओझेलमा परेका छन् । सूचना र प्रविधिको विकाससँगै फेरिएको सांस्कृतिक परिवर्तनले तीजका मौलिकता लोप हुँदै गएका छन् ।
गाउँबस्तीमा गुञ्जिने लोकभाका पाका उमेरका व्यक्तिहरुमै सीमित रहनु र युवापुस्ता नयाँ ट्रेण्डमा भुल्दा मौलिकता नै मासिने हो कि भन्ने डर पुराना पुस्तामा छ । लोक सङ्गीत तथा लोक बाजा अनुसन्धाता तथा संकलक रामप्रसाद कँडेल तीजका गीतमा देखिएको विकृतिबारे चिन्ता व्यक्त गर्छन् । उनले पुराना र मौलिक कतिपय लोक भाकाका लय भने लोकबाजा सङ्ग्रहालयमा सङ्ग्रह गरी राखेका छन् ।
‘सबै चरी गुँड लाउँछन् अलपत्र ढुकुर
सौतामाथि छोरी दिने बाबा होइन शतुर’
हजुरआमा जीवितै हुँदा छोरीहरुको पीडा बोकेको यी लोक गाथाका लयहरु कँडेललाई हजुरआमाले नै सुनाएकी थिइन् ।
धादिङ घर भएका उनका अनुसार त्रिशुली नदी वारीपारीको कथाहरु समेत गीतमै समेटिन्थे । उनकी हजुरआमाका अनुसार वारीकाहरु सकभर त्रिशुली पारी छोरीलाई विवाह गरी पठाउँदैनथे ।
एक त पुल नभएकै कारण वारपार गर्न गाह्रो हुने अर्कोतिर पारीतिर धान खेती नहुने भएकोले दुःख पाउली भनेर छोरी दिँदैनथे । एकजना बुवाले भने आफ्नी छोरीलाई पारी घर भएकालाई सौतामाथि दिएछन् । त्यसपछि दुःख पाएकी चेलीले गीतैमार्फत आफ्नो बह पोखेकी हुन् ।
यो विरह गाथाको गीत निकै लामो भएको सुनाउँदै कँडेलले यस्ता ठेट मौलिक लोक सङ्गीतहरु गाउँघरमै सीमित रहेको सुनाए ।
‘मौलिक लोक गीतहरु गाउँमै छन् । त्यसलाई खोजिनीति गर्ने सर्जकहरु नै भएनन्,’ उनले भने, ‘७० वर्ष कटेका थुप्रै बुढाबुढीहरुसँग यस्ता गीतका गाथाहरु छन् । जुन गीतहरु तीज जस्ता पर्वमा गाइनुपथ्र्यो तर अनुसन्धान नै भएन ।’
उनको अध्ययनले के देखाउँछ भने पूर्वदेखि पश्चिमसम्म महिलाका पीडा र वेदना पोख्ने गीतहरु फरक–फरक छन् ।
त्यही पीडा पोख्ने गीत पूर्वमा सङ्गिनी, गण्डकी क्षेत्रमा हम्मैलो र सुदूरपश्चिममा पुतला खेल, गौरा जस्ता लोक गीतहरु लयहरु छन् । ती गीतका भाव र लयहरु पछिल्ला समयमा तीज गीत मात्र नभएर अन्य लोक सङ्गीतमा समेत नसुनिएको उनले सुनाए ।
हुन त हिजोको जस्तो समय आज छैन । समयसँगै मान्छेका जीवन पद्धतिहरु परिवर्तन भए । हिजो पुल नभएको ठाउँमा आज पक्की सडक र पुलहरु बनेका छन् । एकै वर्षमा मात्र माइती जान पाइने चेलीहरुलाई अहिले प्रविधिले सहज बनाइदिएको छ ।
रोजगारी र आर्थिक रुपमा समेत महिलाहरु सक्षम छन् । हिजो गीतकै माध्यममा मात्र बह पोख्न पाउने अवस्था आज छैन । यही आजको प्रवृत्तिहरु गीतसङ्गीतमा देखिएका छन् । आजको लोक सङ्गीतमा देखिएको परिर्वतनको मुख्य कारण नै बसाइँसराइ र पेसा रहेको कँडेलको मत छ ।
मानिसहरु रोजगारी र जीवनयापनको सहजताका लागि हिमाल, पहाड, तराई र शहरतिर बसाइँ सरे । बसाइँसराइसँगै मानिसले जहाँ गयो, त्यतैको संस्कृतिलाई अंगाले । अर्कोतिर कृषि, पशुपालन जस्ता पेसाबाट मानिसले जागीर र व्यापार रोजे ।
खानाकैं लागि आज दुखेसो पोख्नुपर्ने परिस्थिति छैन । यही कारण पनि तीज गीतहरुमा परिवर्तन देखिएको उनले सुनाए । परिवर्तनलाई स्वीकार गरेपनि मौलिकतालाई भने बिर्सन नहुने उनको भनाइ छ ।
तीज गीतको मौलिकता के छ ?
तीज गीतको मौलिक पक्षलाई हेर्दा पौराणिक समयसँग यसको गाथा जोडिन्छ । तीज गीत कहिले बन्यो भन्ने ठ्याक्कै लिखित प्रमाण नभएपनि शिवपार्वतीको गाथालाई हेर्दा पौराणिक समय नै तीजसँग जोडिन्छ ।
तीजलाई शिवपार्वतीको महिमालाई जोडेर हेर्दा यो धर्मसँग जोडिएको संस्कृतिविद् प्रा.डा.विणा पौड्याल सुनाउँछिन् ।
उनले भनिन्, ‘तीज गाइने गीतहरुमा दुईवटा पक्षहरु जोडिएका छन् । धार्मिक आस्थाका रुपमा शिवपार्वतीको स्तुति गरिन्छ । दोस्रो भनेको मनको बह पोख्ने हो । घरपरिवार, सासुससुरा, खानपानको दुःख, श्रीमान्को खराब आचरणका कारण पाएको दुःख लोकलयमा गाइन्थ्यो ।’
उनका अनुसार तीजका सङ्गीत, व्रत र महिमा पुरानहरुमा लेखित दस्तावेजहरुबाट नै आएका हुन् । तीज व्रत कसरी बस्ने, व्रतमा के खाने, के नखाने, के लगाउने सबै कुरा वेद र पुराणका दस्तावेजमा सीमित छन् ।
यद्यपि अहिलेको पुस्ताले भने यी सबै कुराहरुलाई बिर्सेर तीजलाई नाचगान गर्ने मनोरञ्जनका रुपमा मात्र स्वीकार गरिरहेको उनले सुनाइन् ।
तीज गीतमा धार्मिकसँगै मुख्य रुपमा घटनाप्रधान सिर्जनाहरु रहने लोकसङ्गीत अध्यता कँडेलको भनाइ छ । यसमा महिलाका दुःखसुखहरु नै मुख्य रुपमा आउँछन् । पुराना तीज गीतहरुमा सासुको शोषणको चक्रिय प्रणाली आउने उनको अनुभव छ ।
उनले भने, ‘हिजो बुहारी भएर जुन पीडा भोगिन्, आज सासु भएपछि उनले आफ्नी बुहारीलाई पनि त्यसरी दुःख दिन्छिन् । त्यसैले पेटभरी खान नपाउने, दुःख पाएको कुरा तीज गीतमा सुनाउँथे ।’
हिजोको जस्तो आजको समय र परिस्थिति नभएकोले गीतहरुमा परिवर्तन देखिएको उनको बुझाइ छ ।
प्रा.डा. पौड्यालका अनुसार तीज गीतका मौलिक सिर्जना महिलाहरुको प्रतिभालाई समेत देखाउने अवसरका रुपमा लिइन्थ्यो । गाउँबस्तीमा महिलाहरुले आ–आफ्नो लय र शब्दमा गीत गाइन्थ्यो । गीत रचना देखि वाद्यवादमा समेत उनीहरु पोख्त हुन्थे ।
अहिले रेडिमेड गीतहरु बजाएर मनोरञ्जन गर्ने शैलीले महिलाका प्रतिभाहरु समेत गौण भएको उनको दुखेसो छ । उनले जोडिन्, ‘अहिले नाचगान र मनोरञ्जन गर्दा अर्काको गीतमा नाचिन्छ । यसमा त प्रतिभा मरेर गए । धार्मिक पाटोसँग जोडिएको गीतमा रत्यौली भाव समेत मिसिएका छन् ।
अरु बेला गाउने र आममान्छे नाच्ने जस्तो तीज गीत होइन । रत्यौलीमा हाँसिमजाक र ठट्यौली जोडिएको हुन्छ । तीजमा गीतमा त धर्म र मनको बह नै मिसिएका हुन्छन् ।’
तीज गीत सुन्नेभन्दा हेर्नतिर मोडियो
प्रविधिको होडमा अहिले गीत सुन्नेतिर मोडिएको छ । गीतको शब्द लयको सिर्जनाभन्दा भिडियो कस्तो बनेको छ भन्ने पक्षमा अहिले गीत निर्भर रहन्छ । गीत सिर्जनाभन्दा भिडियो कथाहरुमा सर्जकहरुले जोड दिइरहेका छन् । यसकारण पनि गीतको सिर्जना भन्दा भिडियो मेकिङ प्रणालीमै त्रुटि रहेको अग्रज लोक सर्जक एवं मादल वादक खड्ग बुढामगर सुनाउँछन् ।
उनका अनुसार गीत सिर्जनामा भिजुअलले नै प्रभाव पारिरहेको छ ।
उनी भन्छन्, ‘गीत जस्तोसुकै भएपनि भिडियोमा भ्युज आउने लोभ र पपुलर हुन सर्जकहरु जस्तोसुकै भिजुअल बनाउन तयार हुन्छन् । यसमा गीत सुन्ने होइन हेर्नेहरुले यो राम्रो र यो नराम्रो भनेर प्रतिक्रिया दिइरहेका छन् ।’
अहिले कुनै पनि गीत सिर्जना भएपछि भिडियो बनाउने बाध्यता सर्जकहरुमा रहेको तीतो यथार्थलाई उनी सुनाउँछन् । गीत सिर्जनाभन्दा पनि भिडियो मेकिङमा सर्जकहरुको ध्यान छ ।
त्यसकारण उनी पछिल्लो समय आएका तीज गीत मात्र नभएर सबैजसो गीतसङ्गीतहरुमा भिडियोकै कारण विकृति भित्रिएको स्वीकार्छन् । यद्यपि गीत चलाउनैका लागि भएपनि सर्जकहरुले भिडियोलाई अनिवार्य जस्तै बनाएका छन् । दुई देखि दश लाख रुपैयाँसम्म रकम सर्जकहरुले भिडियोकै लागि खर्च गरिरहेका छन् ।
विकृतिबारे के भन्छन् सर्जक ?
पछिल्लो समयमा सार्वजनिक भएका तीज गीत मात्र नभएर लोक गीत सिर्जनाहरुमा विकृति भित्रिएको भन्दै लोक सर्जकहरुले आम दर्शक/स्रोताबाट आलोचना खेप्दै आएका छन् । तीज गीतमा त मौलिकता हराउँदै गएको गुनासो आम मानिसले पछिल्लो केही वर्षदेखि गर्दै आएका छन् ।
आम मानिस मात्र नभएर लोक सर्जकहरु स्वयंले समेत तीज गीतमा विकृति आएको भन्दै आवाज समेत उठान गरिरहेका छन् । तथापि तीजको मौलिकता र परम्परागत गीतभन्दा भिन्न धारका गीतहरु बजारमा आइ नै रहेका छन् ।
तीजको छेकोमा यस वर्ष आएका केही गीतका सर्जकहरुले पनि निकै आलोचना खेपिरहेका छन् ।
राष्ट्रिय लोकसञ्चार नेपालले कविता खत्री र भागीरथ चलाउनेको स्वरमा रहेको ‘दिउँला बरिलै,’ प्रीति आलेको स्वरमा रहेको ‘मादलु घन्काउँदै,’ केशर ओली र सुमन थापा स्वरमा रहेको ‘टिकटिकै भाइरल हल्लाएरै हो,’ शान्ति श्री परियार हरि गिरी बिमर्शीको स्वरमा रहेको ‘बिस्तराले पोल्यो’ र प्रीति र प्रकाश शर्माको स्वरमा रहेको ‘चियर्स बियर’लाई विज्ञप्ति नै जारी गरेर प्रतिवन्ध लगाएको घोषणा गर्यो ।
‘बिस्तराले पोल्यो’ बोलको गीतका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी सदस्य समेत रहेकी गायिका परियारले माफी समेत मागिन् । यही गीतका गायक, रचनाकार र सङ्गीतकार बिमर्शी भने यसलाई तीज गीतका रुपमा सार्वजनिक नगरिएको धारणा राख्छन् ।
तीजको छेकोमा गीत बाहिर आउँदैमा यसलाई तीज गीतकै रुपमा परिभाषित र मूल्याङ्कन गर्न नहुने उनको मत छ ।
उनले भने, ‘हामीले गीतको डिस्क्रिप्सनमै आइटम डान्सिङ गीत भनेर लेखेका छौं । आलोचना गर्नेहरुले पूरै गीत सुनेर यसको भाव र बिम्वात्मक अर्थ बुझ्नुको सट्टा स–साना क्लिप र भिडियोलाई बढी फोकस गर्नुभएको छ ।’
उनका अनुसार युवायुवतीको रात्रिकालीन फोन संवादलाई, श्रृङ्गारित बोली र त्यसैले ल्याउने मानसपटलको हलचललाई गीतमा उतारिएको छ । बिस्ताराको अर्थ सिधै नभएर भावना र कल्पनालाई प्रतीकात्मक रुपमा बुझाउन खोजिएको उनको भनाइ छ ।
‘बिस्तराले पोलेको भाषामा त्यहाँ भावले पोलेको, उचालेको, पछारेको तथा सकस बनाएको भन्ने बुझ्नुपर्दछ । गीतलाई एउटा बिम्वात्मक भाषामा प्रयोग गरिएको हो’ उनी थप प्रस्ट्याउँछन् ।
तीज गीतहरुले व्यावसायिक रुप लिँदा विकृतितिर नै उन्मुख भएको लोक गायक नवराज ढुंगाना बताउँछन् । अहिलेका तीज गीतमा चेली र माइतीको विरह गाथाभन्दा पनि सर्जकहरु छोटो लोकप्रियताको पछि लागेको उनको आरोप छ ।
भन्छन्, ‘अहिलेका तीज गीतहरुमा दोहोरो अर्थ लगाउने खालका शब्ददेखि भिजुअलमा समेत त्यस्तै देखाइन्छ । किनकी हाम्रा सर्जकहरु नै छोटो समयमा लोकप्रियता खोजिरहेका छन् । जसरी पनि भाइरल हुने र चल्ने बाटोमा मात्र छन् ।’
तीजको मौलिकता र भावलाई समेट्ने गरी सन्देशमूलक र धार्मिक सहिष्णुता ल्याउने खालका गीतमा सर्जकहरुले जोड दिनुपर्ने उनको राय छ । उनकै विचार जस्तै मौलिक सिर्जनामै सहमत छन्, अर्का लोक गायक तथा वाद्यवादक हेमन्त कन्चन रसाइली ।
विशेषत उनी लोकगीतहरुमा सारङ्गीको धुन भर्छन् । तीजको छेकोमा उनले तीन सय हारहारीमा धुन बजाए । उनकै अनुभवमा भन्दा अहिलेका सर्जकहरु गीत सिर्जना मात्र नभएर भिडियो निर्देशन, गायन र प्रस्तुतिमा समेत सचेत रहनुपर्ने अवस्था सिर्जना भइरहेको छ ।
बजारमा कस्तो कन्टेन्ट बिक्री हुन्छ भन्ने कुराभन्दा पनि आफ्नो सिर्जनाले समाजलाई कस्तो मार्ग निर्देशन गर्छ भनेर सर्जकहरु सोच्नुपर्ने उनले सुनाउँछन् ।
संसार नै परिर्वतनशील छ । परिर्वतनको लहरमा गीतसङ्गीतमा समेत परिर्वतन हुनु स्वभाविक नै रहेको प्रा.डा. पौड्यालको बुझाइ छ । यद्यपि परिर्वतनको होडमा समाजको लय नै बिगार्न नहुने उनको ठम्याइँ छ ।
हिजो मादल मात्र बजाएको ठाउँमा गिटार बजाउन, सारीको ठाउँमा कुर्ता, लेहेङ्गा लगाउन पाइन्छ । तर परिवर्तनको नाममा भल्गारिटी आउनुहुन्न भन्ने उनको मत छ ।
उनी भन्छिन्, ‘व्यक्तिले घरभित्र गाउने गीत अलग हुन सक्ला । उसले मेरो गीत भन्न सक्छ । तर बाहिर आएपछि त्यो सबैको हुन्छ । सार्वजनिक रुपमा आएका गीतले समाज भड्काउँछ भने त्यो अपराध नै हो ।’
उनका अनुसार सिनेमामा सेन्सरसिपका प्रक्रिया भएजस्तै गीतसिर्जनामा समेत सरकारी निकाय भएमा यसले कुन कुरा दिने र कुन नदिने भन्ने पक्षहरु समेटिन्थ्यो । गीत सिर्जनाको नाममा तीजकै भाव र मौलिकतालाई मार्ने काम भने सर्जकहरुले गर्न नहुने उनको तर्क छ ।
तीज पर्वलाई यसकै मौलिक लय र भावलाई जोडेर सामाजिक सद्भाव बाँड्ने खालको सिर्जना गर्न लोक सर्जकहरुलाई उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया