मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: हरितालिका तीज

हराए गायिका, गुञ्जिन छाडे विरहका भाका

काठमाडौँ– तीज संस्कृति र सङ्गीत एक आपसमा पर्याय छन् । आधुनिक सञ्चार र यातायात नभएको त्यो समयमा आम महिलाहरु तीजकै छेकोमा आफ्नो मनको बह गीतको भाकामा पोख्थे ।

बिस्तारै समयले मारेको फड्कोसँगै लोक सङ्गीतले पनि आफ्नो बाटो तय गर्‍यो । यसैलाई व्यावसायिक रुपमा अगाडि लैजाने लोक गीतका सर्जकहरु जन्मिए । फलस्वरुप लोकगीतले बजारसम्मको यात्रा गर्‍यो ।

लोक गीतका सर्जकहरुले तिनै महिलाका दुःख, पीडा, प्रताडनालाई समय र पुस्ता अनुकुल भाव गीतमा पोखे । यसरी तीज भाकामा महिलाका वेदनाहरु खोज्ने लोक सर्जकहरुमा हरिदेवी कोइराला, बीमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सकुन्तला थापालगायतको नाम अग्र स्थानमा आउँछन् ।

यिनै सर्जकहरुको सिको गरेरै अहिले विष्णु माझीदेखि कोमल वली, शान्ति श्री परियार, देवी घर्ती मगर, सम्झना भण्डारी, टीका सानुलगायतका लोक गायिकाहरु तीज गीतमा छाइरहेका छन् । नयाँ पुस्तालाई तीज भाकामा प्रोत्साहन गर्ने पुराना पुस्ता भने अहिले तीज गीत सिर्जनामा ओझेल परेका छन् ।

जसले हरेक हिन्दु महिलाहरुको लागि विशेष चाडलाई गीतमार्फत सुखदुखलाई साटासाट गर्न सघाए । तीजमा गाउँघरमा नजिकैको मन्दिरमा भेला भएर मादलको तालका नाचगान गर्ने महिलाहरुलाई यिनिहरुले आफ्नो तीज गीतमा छमछमी नचाए ।

अहिले पनि तीजलाई लक्षित गरी करिब दुई महिनादेखि विभिन्न गीतहरु सार्वजनिक भइ नै रहेका छन् । तथापि अधिकांश गायक, गायिका सार्वजनिक तीज गीतमा पुरानो स्वाद नरहेको गुनासाहरु सुनिन्छन् ।

यही गुनासाहरुको माहोलमा विष्णु माझी जस्ता लोक सर्जकहरुले पुरानो तीज भाको स्वाद दिइरहेका छन् । उनको हालै सार्वजनिक भएको ‘आइन आमा यो तीजमा’ बोलको गीतलाई आम मानिसले निकै रुचाएका छन् ।

उनको गीत आएसँगै सामाजिक सञ्जालमा अधिकांशले तीज आएको महसूस गर्दै सकारात्मक प्रतिक्रिया जनाएका छन् । तर दुरा, न्योपाने, गुरुङ, कोइराला, थापा लगायत गायिकाहरुले बजार नहेरी मौलिक संस्कृति झल्किने तीज गीतलाई प्राथमिकता दिए । पछिल्लो समयमा यी सर्जकहरुले तीज गीतमा किन सक्रियता देखाएनन् भन्ने आम लोकगीत सङ्गीत प्रेमीको चासो रहन्छ ।

लोक गीतसङ्गीतमा पछिल्लो समय नदेखिएका सर्जक

बीमा कुमारी दुरा

कुनै समय गायिका बीमाकुमारी दुराको तीज गीत निकै नै चर्चित हुने गर्थ्यो । तीज गीतमा मात्रै लोकदोहोरीमा समेत छाप पारेकी गायिका बीमा कुमारी दुराले दैनिक जीवनमा भोगेका विषयलाई गीत बनाउँथिन् ।

पीडादायी गीत भए पनि उनको तीजको गीत गाउँदेखि शहरसम्म गुञ्जेको हुन्थ्यो । अहिले पनि उनको गीत गाउँघरमा अझै बज्छन् । तर पछिल्लो समयमा उनले तीजमा कुनै गीत ल्याएकी छैनन् । उनले तीज मात्रै नभई अरु समयमा पनि गीत गाएकी छैनन् ।

लामो समय साङ्गीतिक क्षेत्रमा जीवन बिताएकी गायिका दुरा करिब पाँच वर्ष पहिले स्थायी बसोबासको लागि अमेरिका उडेकी थिइन् । लमजुङ जिल्लाको दुराडाँडामा जन्मिएकी दुराकी छोरी लामो समयदेखि अमेरिकामा बस्दै आएकी थिइन् ।

छोरीले नै बसोबाससहितको सबै व्यवस्था मिलाएपछि उनी अमेरिका उडिन् । उनले तीजमा लक्षित गरी ‘दिदीभाइ,’ ‘तीज भरारा रानी चरी,’ ‘तीज आयो दिदी जानी हैन र,’ ‘टाढाकी चेली’ लगायत विभिन्न गीतहरुमा स्वर दिएकी छिन् । उनका गीतहरु अहिले पनि सुनिन्छन् ।

सकुन्तला थापा

लोक दोहोरी क्षेत्रमा मात्रै नभई तीजको गीतमा पनि बेग्लै छाप बनाउन सफल भएकी छिन्, गायिका शकुन्तला थापा । उनले हरेक वर्षको तीजमा नेपाली समाज र मौलिक संस्कृति झल्कने गीतहरु पस्कने गरेकी थिइन् । तर केही वर्षयता उनको तीजको गीत आउन छाडेको छ ।

उनले करीब सात वर्ष अगाडि ‘बाबाले सारेको सुन्तलाको बिरुवा’ बोलको गीत गाएकी थिइन् । सो यता उनले अरु ल्याएकी छैनन् । उनी चार वर्ष अघि मात्रै राप्रपाका नेता सुदिप ढकालसँग वैवाहिक सम्बन्धमा बाँधिएकी थिइन् । लामो समयदेखि इटालीमा बस्दै आएकी थापाले गाएका लोकदोहोरी अहिले पनि उत्तिकै लोकप्रिय रहेको छ ।

हरिदेवी कोइराला

कुनै समय तीज र लोक गीतमा चर्चा कमाए पनि पछिल्लो समय त्यति नसुनिएकी गायिका हुन् हरिदेवी कोइराला । यद्यपि तीजकै छेकोमा भने उनले गीतहरु फाट्टफुट्ट रुपमा सार्वजनिक गरिरहेकी छिन् । यस वर्ष उनले ‘घर धानेर बस राजै’ बोलको गीत ल्याएकी छिन् । 

२०१५ सालमा जन्मिएकी गायिका कोइरालाले करिब पाँच दशकमा ८ सय भन्दा बढी गीतमा स्वर भरेकी छिन् भने ८० भन्दा बढी एल्बम रेकर्ड गरेकी छिन् ।

आठ वटाभन्दा बढी किताब लेखेकी कोइरालाले सयभन्दा बढी म्युजिक भिडिओमा देखा परेकी छिन् । लामो समय लोकदोहोरीमा जीवन समर्पण गरेकी कोइराला पछिल्लो समय भने केही ओझेलमा परेकी छिन् । उनका गीतहरुमा नेपाली समाज, नेपाली संस्कृति, मार्मिक तथा समय सान्दर्भिक समस्या झल्कन्छन् ।

कोइरालाका तीज गीतमध्ये ‘सुन्नुहोला दिदीबहिनी’, ‘सुनको टिकी लाएर’, ‘पठाएनन् घरकाले’, ‘रातो सारी लाएर’, ‘आमा तिम्रो दुधैको भारा’, ‘यो छोरीको जीवन बरिलै’ लगायतका गीतहरू अहिलेका तीजमा पनि उत्तिकै गुञ्जिरहन्छन् ।

शर्मिला गुरुङ

मौलिक तीज गीत गाउने गायिकाको सूचीमा पर्छिन्, शर्मिला गुरुङ । लामो समय साङ्गीतिक क्षेत्रमा कर्म गरेकी उनी तीज गीतमा मात्रै नभई लोकदोहोरीमा पनि उत्तिकै लोकप्रिय छिन् । त्यसैले अहिले पनि तीजको समयमा उनको कमी भएको महसूस दर्शकले गर्दै आएका छन् । उनको तीज गीतमा महिलाहरुले दैनिक रुपमा भोग्नु पर्ने व्यथा, माइती र चेलीको सम्बन्धलगायत विभिन्न पीडा झल्केको पाइन्छ ।

उनले गाएका तीज गीत ‘मनको धनी,’ ‘धयँरी रसैले सुनी दिनोस्’ लगायतका गीतहरु अहिले पनि तीजमा गुञ्जिन्छन् ।

यसका साथै केही गायिकाहरु तीजमा मात्रै झल्किने गरेका छन् । अरुबेला गुमनाम नै भएका केही गायिकाले तीजलाई लक्षित गरी मौलिक संस्कृति, नेपाली समाज र चेलीको व्यथा झल्किने गीत ल्याएका छन् ।

विष्णु माझी, सिन्धु मल्ल, लक्ष्मी न्यौपानेले लगायत केही गायिकाहरुले तीजलाई लक्षित गरेर मात्रै गीत गाउँदै आएका छन् । सिन्धु मल्लले दुई साता अघि मात्रै ‘सानु राजा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यसैगरी लक्ष्मी न्यौपानेले ‘फोन आयो दाजैको’, ‘मै माग्थे बालापन’, ‘जन्मिएको घर’ र ‘झल्को माइतीको’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?