मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युवावर्ष मोती पुरस्कार केदार श्रेष्ठलाई अर्पण

काठमाडौँ– ‘युवावर्ष मोती पुरस्कार–२०८१’ युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई अर्पण गरिएको छ ।

१५९ औं मोती जयन्तीको अवसरमा सोमबार श्रेष्ठलाई प्रा.डा. माधवप्रसाद पोखरेलले श्रेष्ठलाई ४० हजार रुपैयाँ नगद राशीसहित सम्मानपत्र हस्तान्तरण गरे ।

प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पु¥याएवापत धादिङका श्रेष्ठलाई वि.सं.२०८१ सालको पुरस्कार प्रदान गर्ने निर्णय १० दिन अघि सार्वजनिक भएको थियो ।

पुरस्कार ग्रहणसँगै पुरस्कृत श्रेष्ठले नेपाली बालबालिका र बालसाहित्य पहिलो प्राथमिकतामा रहनुपर्ने औंल्याउँदै परम्परागत सोचलाई परिमार्जन गर्दै ‘सानालाई आदर, ठूलालाई माया’ हुनेपर्ने बताए । रङ्गमञ्चको बारेमा बोल्नु उनले प्रश्न गरे, ‘रंगमञ्चलाई नाटकको मात्र नभई समग्र साहित्यमा दृश्य साहित्यको रुपमा किन हाम्रा मागहरुमा स्थापित भएका छैनन् ?

वर्षेनी सयौं साहित्य प्रकाशन भइराख्दा र देशमा आधा दर्जनभन्दा बढी व्यावसायिक नाटकघरहरुले नियमित नाटक मञ्चन गरिरहँदा यी दुईबीचको धागोमा कहाँ गाँठो परिरहेको छ ?

साहित्यकर्मी र रंगकर्मीले यस विषयमा आफूलाई यसबारे प्रश्नहरुको क्षेप्यास्त्र प्रहार गर्न सकेको दिन हाम्रो विश्वविद्यालयले नाटकलाई गरिखाने पाठ्यपुस्तकको सिमितताभन्दा फराकिलो सोच्छन् कि भन्ने धारणा उनले राखे ।

पुरस्कृत श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक/चलचित्र लेखन, निर्देशनमा सक्रिय छन् । साथै उहाँ समकालिन कला–साहित्य क्षेत्रमा प्रतिवद्ध युवा रङ्गकर्मी र चलचित्रकर्ममा समेत व्यस्त छन् ।

प्रा.डा पोखरलले मोतीराम भट्टको योगदान र युवावर्ष मोती पुरस्कारको गरिमामाथि प्रकाश पारे । नेपाली शिक्षा परिषदका अध्यक्ष रमा शर्माले मोतीजयन्ती परम्परालाई ७० वर्षदेखि निरन्तरता दिइरहेको उल्लेख गरिन् ।

नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा वि.सं.२०४२ मा स्थापना भएको हो ।

४० वर्ष ननाघेका युवा सर्जकलाई नियमित प्रदान गरिदै आएको ‘युवावर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

मोती जयन्ती, कुशे औंसीको अवसरमा आयोजित लेखनाथ साहित्य सदनमा भएको समारोहमा यस वर्ष दिवगंत भएका लेखक, साहित्यकारहरुको समेत सम्झना गरिएको थियो ।

साथै मोतीराम भट्टले थालनी गरेको समस्यापूर्ति कविता लेखनलाई निरन्तरता दिँदै कवि गोष्ठि समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?