मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

‘दर्शकले मलाई सिटी गर्लको भूमिकामा रुचाउनुभएको छ’

‘सतीदेवी’ को शूटिङका बेला क्यारेक्टरभन्दा बाहिर जान्छु भनेर घरमा पनि कुरा गरिनँ

काठमाडौँ– फिल्म, नाटक र म्युजिक भिडियोमा अभिनय गरिसकेकी मलिका महतलाई नचिन्ने युवापुस्ता विरलै होलान् । ‘फुलबुट्टे सारी’, ‘टाढा भए पनि’ लगायतका म्युजिक भिडियोमा ‘सिटी गर्ल’ को भूमिकालाई दर्शकले उत्तिकै रुचाएका छन् ।

केही समयअघि सार्वजनिक भएको गीत ‘राधा पियारी’ ले पनि यतिबेला लोकप्रियता कमाएको छ ।

यता फिल्म हलमा उनको शीर्ष भूमिका रहेको फिल्म ‘सतीदेवी’ पनि प्रदर्शनरत छ । सो फिल्ममा लक्ष्मण सुवेदीको निर्देशन छ । फिल्मले सामाजिक कथा उठान गरेको छ ।

परिवारमा छोरी मात्र जन्मिँदा सामाजिक रूपमा पीडा सहेकी ‘सतीदेवी’ नामक युवतीको भूमिका निर्वाह गरेकी छिन् मलिकाले । वास्तविक जीवनमा भने आफूले यस्तो घटना भोग्नु नपरेको उनी बताउँछिन् ।

‘हो, छोरीलाई हेप्ने घटना काठमाडौँमा त घट्छन् भने बाहिर नघट्ने कुरै भएन, तर मैले वास्तविक जीवनमा त्यस्तो भोग्नु परेन ।,’ मलिका भन्छिन् ।

आफूले महसूस पनि नगरेको विषयमा बन्न लागेको फिल्मको स्क्रिप्टले नै मन छोएर अभिनय गर्न तयार भएको उनी बताउँछिन् । भन्छिन्, ‘यत्तिको दमदार कथा मैले पढ्न पाएकी थिइनँ ।’

‘मलाई यो फिल्मको कथाले नै तानेको थियो । फिल्म हेरेका दर्शकको प्रतिक्रिया पनि राम्रो आयो ।,’ मलिकाले जोय नेपालको कुराकानीमा भन्छिन्, ‘मुख्य चरित्रमा नै मेरो रोल भएकाले फिल्मलाई न्याय दिनुपर्छ भनेर मेहनत पनि उत्तिकै गरेकी थिएँ ।’

त्यसो त उनका लागि ‘सतीदेवी’ को स्किृप्ट अलिक च्यालेन्जिङ पनि लागेको थियो । तर, त्योभन्दा बढी च्यालेन्जिङ लागेको थियो नाटक ‘पगला घोडा’ मा अभिनय गर्दा ।

‘पगला घोडा नाटकमा अभिनय गर्दा मैले एकैपटक धेरै चीज अभ्यास गर्नुपर्ने थियो, त्यसमा पनि त्यति सहज भूमिका थिएन, तर मैले गर्न सक्छु भन्ने लागेर आँटे ।,’ उनी सुनाउँछिन् ।

उनका अनुसार फिल्मका तुलनामा नाटकमा अभिनय गर्न अलिक गाह्रै छ । नाटकमा सीधै प्रस्तुति दिनुपर्छ । तर, फिल्ममा टेक बिग्रियो भने पनि ‘रिटेक’ लिन पाइन्छ ।

‘नाटकमा काम गर्दा एकैपटक धेरै कुरा अभ्यास गर्नुपर्ने थियो, त्यतिबेला मलाई साँच्चिकै गाह्रो भएको थियो ।,’ उनी मुस्कुराउँदै सुनाउँछिन् ।

फिल्म ‘सतीदेवी’ को छायांकनमा भने त्यति गाह्रो नभएको उनको अनुभव छ । उनले फिल्मको स्क्रिप्ट पढ्दा नै आफ्नो चरित्रलाई निकै नजिकबाट बुझेकी थिइन् । त्यो बुझाइले गर्दा पनि फिल्ममा धेरै सजिलो भएको उनलाई लाग्छ ।

‘मलाई स्क्रिप्टले यति तानेको थियो कि, फिल्मको चरित्रमा म डुबिसकेकी थिएँ, शूटिङका बेलामा पनि म सतीदेवी नै भएर बाँचिरहेकी थिएँ ।,’ उनी अगाडि थप्छिन्, ‘म क्यारेक्टरमा नै बस्थेँ, उसकै कपडा लगाउँथे, मेरो मुख्य भूमिका भएर पनि होला यति धेरै शूटिङ हुन्थ्यो कि म बेलुका थाकेर सुतिहाल्थेँ ।’

उनका अनुसार फिल्मको छायांकनका क्रममा उनी घरमा पनि कम सम्पर्कमा थिइन् । घरमा फोन गर्‍यो भने फेरि ‘मलिका’ भइहाल्छु र क्यारेक्टरबाट हराउँछु कि भन्ने उनलाई लाग्थ्यो । भन्छिन्, ‘घरमा पनि आफ्नोबारे अपडेट त दिइरहेकी हुन्थेँ, तर धेरै कुरा गर्दिनथेँ । म शूटिङ अवधिभर सतीदेवी नै भएर बाँच्न चाहन्थेँ ।’

त्यसो त मलिकासँग काम गरेका धेरै मेकरले उनको काम गर्ने तागतको खुलेरै तारिफ गर्ने गर्छन् । शूटिङमा पनि धेरै डिमाण्ड नगर्ने बरु कामलाई नै बढी महत्त्व दिने उनको बानीले मेकरलाई मात्र हैन, स्वयम् मलिकालाई पनि फाइदै गरेको छ ।

मलिकाले एकदमै कम फिल्ममा अभिनय गरे पनि चर्चा भने राम्रो कमाएकी छिन् । फिल्म ‘यात्रा’ बाट अभिनय यात्रा थालेकी मलिका म्युजिक भिडियोमा पनि उत्तिकै जमेकी छिन् । कामको सन्दर्भमा उनी भन्छिन्, ‘म जुन प्रोजेक्टमा काम गर्दा पनि उत्तिकै सिरियस हुन्छु, चरित्रलाई नजिकबाट बुझेर त्यसको तयारीका लागि अभ्यास गर्छु ।’

अझ फिल्म ‘पानी फोटो’ मा त उनले एक दिनको मात्र रिहर्सल गरेकी थिइन् । एकै दिनको अभ्यास भए पनि शूटिङका क्रममा उनलाई त्यस्तो गाह्रो भएन ।

किन त?

‘मेरो एउटा बानी के छ भने मैले वरिपरिको वातावरण र हाउभाउ निकै छिटो क्याच गर्छु, शूटिङमा जाने बेलासम्म मलाई चरित्रबारे थाहा भइसकेको हुन्छ ।,’ उनी भन्छिन् ।

त्यसो त उनलाई फिल्ममा गाउँले युवतीको भूमिकामा देखिन्छ भने म्युजिक भिडियोमा शहरीया युवतीको भूमिकामा बढी देखिएजस्तो लाग्छ । के फिल्मका लागि ‘सिटी गर्ल’ को भूमिकामा अफर नआएकै हुन् त?

‘त्यस्तो होइन, प्रस्ताव नआएको त भन्न मिल्दैन तर चित्तबुझ्दो स्क्रिप्ट चाहिँ आएको छैन ।, दर्शकले पनि शहरीया भन्दा पनि प्राकृतिक लूक्समा मलाई हेर्न रुचाउनुहुन्छ जस्तो लाग्छ ।,’ उनी अगाडि थप्छिन्, ‘दर्शकले मलाई सिटी गर्लको भूमिकामा रुचाउनुभएको छ, राम्रो स्क्रिप्ट आयो भने फिल्ममा पनि खेल्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?