मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुशे औँसी: विकृति र यथार्थ

काठमाडौँ– आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । हरेक भाद्र कृष्ण पक्षको कुशे औँसीमा बुबाको मुख हेर्ने दिनका रुपमा मनाउने गरिन्छ । आजको दिन हरेक सन्तानले बुबालाई मिठाई लगायत विभिन्न परिकारका खानेकुरा खुवाउनुका साथै सम्मान गर्ने गरिन्छ ।

यति मात्रै नभई आज अधिकांश व्यक्तिको सामाजिक सञ्जाल बुबाहरुको अनुहारले भरिभराउ छन् । अरु बेला मुस्किलैले देखिने बुबाका अनुहार आज सामाजिक सञ्जालमा भरिएका छन् । मानौँ आज बुबाको बिक्री हुँदै छ । अनि बुबाको विज्ञापन गर्न सामाजिक सञ्जालको प्रयोग भइरहेको छ ।

अरु दिन मुस्किलैले बुबालाई सम्मान गर्ने सन्तानले पनि आज ‘ह्यापी फादर्स् डे’ सहित फोटो पोस्ट्याउन भ्याइसकेका छन् । अरु बेला सन्तानका कारण रोएका बुबाहरु आज सामाजिक सञ्जालमा खुलेर हासिरहेका हुन्छन् । कुनै उत्सव वा अवसरमा मुस्कुराउन लगाएर कैद गरेका तस्बीरहरु आज सामाजिक सञ्जालको भित्तामा टाँगिएका छन् ।

बुबाको अनुहार फेसबुक लगायत सामाजिक सञ्जालमा पोस्टयाउनु पछिल्लो समय ट्रेन्ड नै बनिसकेको छ । अधिकांश व्यक्ति बुबाको अनुहारसँगै औँसीको अवसरमा दिएका उपहार, मिठाई तथा अन्य सामग्रीसहित सम्मानको तस्बीर कैद गरी सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । तर यही अर्को जमात भने आजको दिन बुबाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकोप्रति आपत्तिसमेत जनाउँदै आएका छन् ।

अहिलेको सूचना प्रविधिको समयमा सामाजिक सञ्जालमा बुबाको फोटो पोष्ट गर्नु कुनै ठूलो वा आपत्तीजनक कुरा होइन । तर तस्बीरमा जस्तै व्यवहारिक जीवनमा पनि बुबाहरु हासेको छ वा छैन भन्ने बुझ्नु अहिलेको सन्तानको दायित्व र जिम्मेवारी हो ।

बुबाले आफ्नो सन्तान र परिवारको भविष्यको लागि पुरै जीवन नै समपर्ण गर्ने भएको एक दिन मात्रै नभई हरेक दिन हरेक पिताको सम्मान गर्नुपर्ने रमिला श्रेष्ठ बताउँछिन् । एक दिन मात्रै नभई हरेक दिन बुबाको  मुख हेर्नु पर्ने उनको धारणा छ । तर एक दिन सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्नु सम्मानभन्दा पनि देखावटी गरेको उनको तर्क छ ।

किन मनाइन्छ कुशे औँसी ?

कुश औंसी धार्मिक पर्व हो । आफूलाई जन्म दिने बुबाको सम्मान गर्नको लागि भाद्र कृष्ण पक्षको औंसीको तिथिको दिन पर्ने गर्दछ । यो दिन ब्राम्हणहरुले शुद्ध कुशलाई आफ्नो घरमा ल्याएर राख्नुका साथै बुबाको मुख पनि हेर्ने गरेको ज्योतिष डाक्टर उत्तम उपाध्याय बताउँछन् । उनका अनुसार कुश एक किसिमको पवित्र घाँस हो ।

यो पर्व नेपालमा मात्रै नभई भारतका केही भूभागमा पनि मनाइन्छ । कुशलाई भगवान विष्णुको प्रतीकको रुपमा लिनुका साथै धार्मिक कार्यको लागि पनि अनिवार्य रुपमा प्रयोग गर्ने गरेको उनी सुनाउँछन् । कुशे औँसी प्राचीनकालदेखि नै पितृ तर्पण, पितृ पूजा र बुबाको सम्मानको लागि पनि महत्वपूर्ण छ ।

नेपाली परम्पराअनुसार परिवारको मेरुदण्डको रुपमा बुबा हुने भएकोले कुशे औँसीको दिन पितालाई सम्मान गर्ने गरेको उनी सुनाउँछन् । परिवारलाई नैतिकता, आर्थिक जिम्मेवारी तथा विभिन्न जिम्मेवारी लिने भएकोले पनि पितालाई सम्मान गर्ने गरेको छ ।

आजको दिन जिउँदो बुबालाई सम्मान गर्ने र मरेको बुबाको लागि पितृ तर्पन दिने गरेको बताउँछन् । पिताको सम्मान गर्ने महत्वपूर्ण दिन भएकोले पनि कुशे औँसीको महत्व धेरै रहेको उनी सुनाउँछन् ।

आजको दिन विवाहित छोरीहरु मिठो परिकारसहित बुबालाई भेट्न जाने गर्छन् ।

पाका उमेरको सम्मान किन गरिनुपर्छ ?

सामाजिक सञ्जालभरी बुबाको अनुहार आए पनि पछिल्लो समय ज्येष्ठ नागरिक एक्लो हुँदै गएका छन् । हरेक परिवारको पाका उमेरका व्यक्तिहरु आआफ्नो सन्तानबाट टाढा हुँदै छन् । भौतिक रुपमा संगै भए पनि व्यवहारिक र भावनात्मक रुपमा टाढिँदै छन् ।

कुशे औँसी वा कुनै अवसरमा मात्रै नभई हरेक दिन, समय हरेक सन्तानले आफ्नो अभिभावकसँगै पाका उमेरको व्यक्तिको सम्मान गर्नुपर्ने बताउँछन् हास्य व्यङ्ग्यकार, सिस्नुपानी नेपाल र एजिङ नेपाल संस्थाको फाउण्डर कृष्णमुरारी गौतम (चट्याङ मास्टर) । हरेक बुबाले आफ्नो सन्तानलाई सक्षम र सबल बनाउनको लागि सधैँ लागि पर्ने भएकाले सम्मान गर्नुपर्ने उनी सुनाउँछन् ।

तर पछिल्लो समयका सन्तानहरुले कुनै अवसर वा पर्वको मौकामा पारेर मात्रै बुबा वा आमालाई सम्झने सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने गरेको छ ।

उनले एक कार्यक्रममा भनेका छन्, ‘७० नाघेपछि सोचेर मात्रै बोल्ने क्षमता, होस आउने, अनुभव धेरै हुने, अनपढ भए पनि जीवनकोबारेमा विशेषज्ञ र सन्तानको भलो चिताउने भएकाले सम्मान गर्नुपर्छ ।’

पाका उमेरका मानिसहरु समाजको ज्ञानी र अनुभवी हुने उनको भनाइ छ । तर पछिल्लो पुस्तामा ज्ञानको कमी भएर पैसाको महत्व बढी भएको छ । ज्येष्ठ अर्थात् पाका उमेरका व्यक्तिलाई परिवार, समाज र राज्य सबैले सम्मान गर्नुपर्ने उनी बताउँछन्  । उनी थप्छन्,  ‘स्थानीय तह वा जुनसुकै संस्थाले गर्ने कार्यक्रममा ज्येष्ठ नागरिकको सहभागिता हुनुपर्छ । जसले आफ्नो ज्ञान र अनुभव साट्न सक्नुुहुन्छ ।’

उनले पाका उमेरका व्यक्तिहरुमा कुनै प्रतिस्प्रर्धा नहुने बताए । तर पछिल्लो समयमा पुराना पुस्ताका व्यक्ति र नयाँ पुस्ताका व्यक्तिहरुबीच आ–आफ्नो मान्यता र धारणा हुने भएकाले पुस्ताहरुबीच दूरी बढ्दै गएको उनी सुनाउँछन् ।

पाका  व्यक्तिहरुमा उमेर बढी भएकाले प्रतिस्प्रर्धा नहुने उनी सुनाउँछन् । नयाँ र पुराना पुस्ताको आआफ्नै मान्यता हुन्छ । यसका साथै नयाँ पुस्ताका व्यक्तिहरुमा टाढाका व्यक्तिहरुसँग सम्पर्कमा रहन मन हुने मनोवृत्तिको कारण पुराना पुस्ताका व्यक्तिहरु एक्लो हुन बाध्य भएको उनको अनुभव छ ।

बुढापाका साहित्यको समेत अभियान सञ्चालन गर्दै आएका चट्याङ मास्टरका अनुसार पछिल्लो समय पाका उमेरका व्यक्तिहरु समाज र परिवारबाट एक्लो हुँदै गएका छन् । उनका अनुसार हरेक परिवारका छोराबुहारी जागिर खाने, नातिनातिनी स्कूल पढ्न जाने र ज्येष्ठ नागरिक घरमा एक्लै बस्ने गरेको छ ।

उनी अगाडि थप्छन्, ‘पछिल्लो समय परिवार र इष्टमित्र ठूलो भएपनि पाका उमेरका व्यक्तिहरु एक्लो हुने गरेको छ । सबै हुँदा पनि ज्येष्ठ नागरिक एक्लो हुन्छन् ।’ सो महसूस नगराउनको लागि सबै सन्तानले अभिभावकको भावना बुझ्न जरुरी रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?